दुर्गा ओझा न्यौपाने? माघ १०, रसुवा ।
बागमती प्रदेश अन्तर्गत रहेको १३ जिल्लामा रसुवा जिल्ला भौगोलिक तथा जनसंख्यागत दृष्टिले प्रदेशकै सबैभन्दा सानो जिल्ला हो । हिमाली भू–भागमा अवस्थित यस जिल्लामा विकासका पूर्वाधारहरू सीमित छन् भने जनजीवन अझै पनि चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । केन्द्रीय तथ्याङ्क अनुसार जिल्लाका करिब २९.१ प्रतिशत जनता गरिबीको रेखामुनि जीवनयापन गरिरहेका छन् ।
रसुवामा हालसम्म एउटा पनि नगरपालिका स्थापना हुन सकेको छैन । जिल्लाभर जम्मा पाँचवटा गाउँपालिका रहेका छन् । तीमध्ये कलिका गाउँपालिका अन्तर्गत ५ वडा, नौकुण्ड गाउँपालिका ६ वडा, उत्तरगया गाउँपालिका ५ वडा, गोसाइकुण्ड गाउँपालिका ६ वडा र आमाछोदिङ्मो गाउँपालिका अन्तर्गत ५ वडा रहेका छन् । जम्मा २७ वडामा फैलिएको यो जिल्लामा सेवा–सुविधाको पहुँच अझै पनि समान रूपमा पुग्न सकेको छैन ।
भौगोलिक रूपमा अत्यन्तै विकट रहेको रसुवामा सडक, स्वास्थ्य, शिक्षा र सञ्चार पूर्वाधार अझै पनि कमजोर अवस्थामा छन् । हिमाली भेग, कठोर मौसम र दुर्गम बस्तीका कारण विकास निर्माणका कामहरू चुनौतीपूर्ण बन्दै आएका छन् । यही कारण यहाँका नागरिकहरू आधारभूत आवश्यकताका लागि समेत संघर्ष गर्न बाध्य छन् ।
यस्तो सामाजिक–आर्थिक अवस्थाका बीच रसुवामा अहिले राजनीतिक गतिविधि भने निकै तातेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै प्रमुख राजनीतिक दलका प्रभावशाली नेताहरू उम्मेदवार बनेपछि जिल्लामा कडा प्रतिस्पर्धा देखिने संकेत देखिएको छ । नेपाली कांग्रेसबाट नेता मोहन आचार्य उम्मेदवार बनेका छन् । कांग्रेसले विकास र समावेशी नीतिलाई प्राथमिकता दिने दाबी गर्दै आएको छ । यस अघि पनि काङ्ग्रेसका यिनै आचार्यले चुनाव जितेका हुन । नेकपा एमालेबाट केन्द्रीय सदस्य प्रेम तामाङ उम्मेदवार बनेका छन् । उनी जिल्लामा प्रभावशाली नेताका रूपमा परिचित छन् ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट मधव लामिछाने ‘समिर’ उम्मेदवार बनेका छन् पछिल्लो समय उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट बसन्त भट्ट उम्मेदवार बनेपछि रसुवाको राजनीतिक समीकरण थप रोचक बनेको छ ।
यो पटक भने चार प्रमुख दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय मतदाताहरू विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारलाई मुख्य मुद्दा बनाउँदै उम्मेदवारहरूको मूल्याङ्कन गरिरहेका छन् ।
भौगोलिक विकटता, गरिबी र विकासको अभावबाट ग्रस्त रसुवाका जनताले यसपटक परिवर्तनको अपेक्षा गरेका छन् । आगामी नेतृत्वले जिल्लाको यथार्थ समस्या बुझेर दीर्घकालीन समाधानतर्फ कदम चाल्ने आशा स्थानीयवासीले व्यक्त गरेका छन् । रसुवाको राजनीतिक प्रतिस्पर्धाले अब जिल्लाको भविष्य कुन दिशातर्फ अघि बढ्छ भन्ने कुरामा निर्णायक भूमिका खेल्ने देखिन्छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.