२० चैत २०८२, शुक्रवार

मेलम्चीमा ‘स्वस्थ शहर’ अभियान, प्रदेश सरकारको स्वास्थ्य केन्द्रित विकास

मेलम्ची ।  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मा ‘एक जिल्ला, एक स्वस्थ शहर’ अभियान अन्तर्गत नगरपालिका स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख आइतमान तामाङ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता देखिएको थियो।

कार्यक्रम बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको संयुक्त पहलमा नगरपालिकासँग सहकार्य गर्दै सञ्चालन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा ले स्वस्थ शहर निर्माणलाई प्रदेश सरकारको मुख्य प्राथमिकताका रूपमा अघि बढाइएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार स्वास्थ्य केवल उपचारमा सीमित नभई जीवनशैली, वातावरण, शिक्षा र सुशासनसँग जोडिएको समग्र विकासको आधार हो। त्यसैले ‘स्वस्थ शहर’ अवधारणालाई व्यवहारमा रूपान्तरण गर्न स्थानीय तहको सक्रिय भूमिका अनिवार्य रहेको उहाँले जोड दिनुभयो।

मन्त्री थापाले आगामी दिनमा स्वास्थ्यमैत्री नीति निर्माण, भौतिक पूर्वाधार विस्तार, सरसफाइ प्रवर्द्धन, सुरक्षित खानेपानीको पहुँच र जनचेतनामूलक कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो। प्रदेश सरकारको दीर्घकालीन लक्ष्य ‘स्वस्थ बागमती प्रदेश’ निर्माण रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

उहाँले धुलिखेल नगरपालिका लाई स्वस्थ शहरका रूपमा घोषणा गरिसकिएको जानकारी दिँदै अब चन्द्रागिरी नगरपालिका, हेटौडा उपमहानगरपालिका तथा मेलम्ची नगरपालिकालाई पनि सोही सूचीमा समावेश गर्ने योजना रहेको बताउनुभयो। यी नगरपालिकालाई नमुना शहरका रूपमा विकास गरी प्रदेशभर विस्तार गर्ने लक्ष्य लिइएको उहाँको भनाइ थियो।

कार्यक्रमका अध्यक्ष नगर प्रमुख तामाङले मेलम्चीलाई व्यवस्थित, स्वच्छ र स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गर्ने शहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकारले नीति, योजना र बजेटमार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको र अब त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइने बताउनुभयो। सरसफाइ, खानेपानीको सुरक्षा, वातावरण संरक्षण र स्वास्थ्य सेवा विस्तारमा नगरपालिका सक्रिय रहेको उहाँले जानकारी दिनुभयो।

विशेष अतिथि निराजन जंगम ले धुलिखेल नगरपालिका लाई नेपालको पहिलो तथा एसियाको दोस्रो स्वस्थ शहर घोषणा गरिएको अनुभव साझा गर्दै दीर्घकालीन योजना, समुदायको सहभागिता र स्वच्छ वातावरणको महत्त्वमाथि प्रकाश पार्नुभयो।

उपप्रमुख उमा प्रधान ले स्वस्थ र समृद्ध नगर निर्माणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले सरसफाइ, पोषण, वातावरण संरक्षण, मानसिक स्वास्थ्य र सुरक्षित खानेपानीलाई केन्द्रमा राखेर एकीकृत प्रयास गर्नुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले मेलम्चीलाई स्वच्छ, स्वस्थ र व्यवस्थित शहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन का प्रतिनिधि हरि भूषाल, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईं, धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दीप के.सी. तथा मेलम्ची नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठले ‘स्वस्थ शहर’ अवधारणा, कार्यान्वयनका आधार, जिल्लाको स्वास्थ्य अवस्था तथा स्थानीय तहको तयारीबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए। साथै, नगर प्रमुखको संयोजकत्वमा समिति गठन गर्ने प्रक्रियासमेत जानकारी गराइएको थियो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.