मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची मा शारीरिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको घुम्ती स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। विकलाङ्ग मित्र समूह र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र (एचआडिसी) को संयुक्त आयोजनामा सम्पन्न उक्त शिविरमार्फत १८ वर्षसम्मका बालबालिकालाई स्वास्थ्य परीक्षण, सहायक सामग्रीको नापजाँच तथा पुनस्र्थापनसम्बन्धी सेवा प्रदान गरिएको थियो।
शिविरमा एचआडिसीबाट खटिएका दक्ष चिकित्सक टोलीले प्रत्यक्ष सेवा दिएका थिए। मेलम्ची नगरपालिका तथा पाँचपोखरी थाङपाल गाउँपालिका का विभिन्न वडाबाट आएका गरी कुल ७५ जना सेवाग्राहीले लाभ लिएका छन्।
नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी परियारका अनुसार सेवाग्राहीमध्ये १८ जना वयस्क, ४० जना नियमित अनुगमनमा रहेका र १७ जना नयाँ पहिचान भएका बालबालिका रहेका छन्।
शिविरमार्फत आवश्यकताअनुसार सहायक सामग्री पनि वितरण गरिएको थियो। जसअनुसार १ जनालाई बैसाखी, ४ जनालाई वाकर, १ जनालाई लम्बर बेल्ट, ३ जनालाई लौरो, १ जनालाई गुड्ने मेच (ह्वीलचेयर) र १ जनालाई एल्बो बैसाखी प्रदान गरिएको संस्थाका सुपरभाइजर टिका विकले जानकारी दिनुभयो।
त्यसैगरी, १७ जनाका लागि थप सहायक सामग्रीको नापजाँच गरिएको छ भने १३ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको छ। थप विशेषज्ञ परीक्षणका लागि ४ जनालाई अन्यत्र रिफर गरिएको संस्थाले जनाएको छ।
शिविरको उद्घाटन मेलम्ची नगरपालिका की उपप्रमुख उमा प्रधान, वडा नं. ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ तथा स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठलगायतको उपस्थितिमा सम्पन्न भएको थियो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.