बाह्रबिसे । सिन्धुपाल्चोकमा स्थानीय सहभागितालाई केन्द्रमा राख्दै भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीयलाइ १० प्रतिशत शेयर दिने भएको छ । “सिन्धुको पानी, सिन्धुबासीकै लगानी” भन्ने सोचका साथ सुरु गरिएको यस परियोजनाले जिल्लाको समग्र विकासमा टेवा पुर्याउने अपेक्षा सहित स्थानीयलाइ १० प्रतिशत शेयर दिने भएको हो ।
बाह्रबिसे क्षेत्र आसपास निर्माण भइरहेको यो आयोजना ४६ मेगावाट क्षमताको हो र यसको प्रवर्द्धक कालिका इनर्जी लिमिटेड हो। परियोजनाले विद्युत उत्पादन मात्र नभई स्थानीय रोजगारी सिर्जना, पूर्वाधार विकास, वातावरणीय संरक्षण तथा दीर्घकालीन आर्थिक समृद्धिलाई समेत प्राथमिकतामा राखेको छ। यस आयोजनाको नेतृत्व जलबिद्युत व्यवसायी मोहनबिक्रम कार्कीले सम्हालिरहेका छन्।
परियोजनाको संरचना निर्माण गर्दा भूगर्भीय अवस्था (रक क्लास) को गहिरो अध्ययन गरी बस्तीलाई कुनै जोखिम नपुग्ने गरी डिजाइन गरिएको जनाइएको छ। प्राविधिक रूपमा सुरक्षित र वैज्ञानिक मापदण्डअनुसार योजना तयार पारिएको बताइएको छ।
यस आयोजनाले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरिसकेको छ। प्रभावित क्षेत्रका स्थानीयसँग विभिन्न चरणमा सहमति समेत जुटाइएको छ। बाह्रबिसे बजार, कल्लेरी, खरिबोटे, जम्बू, नेपालगाउँ, सिरिसे र सिगार्चे क्षेत्रका बासिन्दासँग छलफल गरी समझदारी बनाइएको हो। अतिप्रभावित घरधुरीको सर्वेक्षण पनि सम्पन्न भइसकेको छ।
परियोजनाले खानेपानीमा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै आवश्यक योजना सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। साथै, नदीमा हिउँदमा समेत न्यूनतम पानीको बहाव कायम राख्ने व्यवस्था गरिएको छ, जसले पर्यावरणीय सन्तुलन कायम गर्न मद्दत गर्नेछ।
निर्माणको प्रारम्भिक चरणमै ८० भन्दा बढी स्थानीय युवाले रोजगारी पाइसकेका छन्। जनशक्ति छनोट गर्दा सीप र दक्षतालाई प्राथमिकता दिइएको छ। यससँगै, आवश्यक उपकरण तथा सामग्री स्थानीय स्तरबाटै व्यवस्थापन गर्ने प्रयास गरिएको छ, जसले स्थानीय व्यवसायलाई पनि प्रोत्साहन दिएको छ।
यो आयोजना निश्चित अवधिपछि नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण हुने छ। सञ्चालन अवधिभर सरकारले कर तथा रोयल्टी प्राप्त गर्नेछ, जसको केही अंश स्थानीय तहसम्म पुग्नेछ।
विशेषगरी, यस आयोजनामा स्थानीय बासिन्दालाई १० प्रतिशत शेयर सुनिश्चित गरिएको छ। साथै, संस्थापक शेयरमा समेत स्थानीयलाई प्राथमिकता दिने नीति लिइएको छ।
परियोजना सम्पन्न भएपछि जिल्लाको विद्युत उत्पादन क्षमता उल्लेखनीय रूपमा बढ्ने, आर्थिक गतिविधि विस्तार हुने तथा रोजगारीका अवसरहरू थपिने विश्वास गरिएको छ। यसले सिन्धुपाल्चोकको समृद्धिका लागि नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.