सिन्धुपाल्चोक । जिल्लाको चर्चित र प्रतिस्पर्धात्मक क्रिकेट प्रतियोगिता पाँचपोखरी टी–२० को आठौं संस्करण मंगलबारबाट तल्लो मुलपानी क्रिकेट मैदानमा औपचारिक रूपमा सुरु भएको छ। उद्घाटन दिनका दुवै खेलमा हेलम्बु गाउँपालिका र पाँचपोखरी क्रिकेट क्लबले उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरुवात गरेका छन्।
पहिलो खेलमा पाँचपोखरी क्रिकेट क्लबले थाङपाल भ्याली माध्यमिक विद्यालयलाई एकतर्फी रूपमा पराजित गर्दै आफ्नो उपाधि यात्राको बलियो संकेत दिएको छ। टस हारेर ब्याटिङको जिम्मेवारी पाएको थाङपाल भ्यालीको इनिङ्स सुरुदेखि नै धराशायी बन्यो। प्रारम्भिक पाँच विकेट केवल १० रनमै गुमाएपछि टोली दबाबबाट बाहिर निस्कन सकेन। फिन्जु लामाले १९ तथा आशिष तामाङले १३ रन बनाए पनि अन्य ब्याटरको कमजोर प्रदर्शनका कारण टोली १५.५ ओभरमा ६२ रनमै समेटियो।