ईश्वर गुभाजु
महासचिव, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, बाह्रबिसे सिन्धुपाल्चोक
करिब दुई वर्षदेखि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको महासचिवका रूपमा काम गर्दै आउनुभएको छ। यो अवधिको अनुभव कस्तो रह्यो?
मेरो लागि यो अवधि निकै सिकाइपूर्ण र उपलब्धिमूलक रह्यो। महासचिव बन्नुअघि पनि म दुई कार्यकाल कार्यसमिति सदस्य तथा सचिवको जिम्मेवारीमा रहेर काम गरिसकेको थिएँ। त्यसैले महासचिवको जिम्मेवारी सम्हाल्दा संस्थाको उद्देश्य, व्यवसायीका आवश्यकता र जिल्लाको उद्योग व्यवसायको अवस्थाबारे राम्रो अनुभव प्राप्त भइसकेको थियो।
यो जिम्मेवारीले मलाई थप ऊर्जा, आत्मविश्वास र काम गर्ने प्रेरणा दिएको छ। सिन्धुपाल्चोकका साना, मझौला तथा ठूला उद्योग–व्यवसायसँग प्रत्यक्ष रूपमा नजिक भएर काम गर्ने अवसर मिल्यो। विभिन्न व्यवसायीका समस्या बुझ्ने, उनीहरूको हकहितका विषय सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि पहल गर्ने अवसर प्राप्त भयो।
उद्योग तथा कलकारखानाले विभिन्न कारणले समस्या भोग्दा उनीहरूको पक्षमा आवाज उठाउने, सम्बन्धित सरकारी निकायसँग समन्वय गर्ने र व्यवसायमैत्री वातावरण निर्माणका लागि पहल गर्ने काममा हामी निरन्तर लागिरहेका छौं। समग्रमा यो जिम्मेवारीले मलाई जिल्लाको आर्थिक विकास र निजी क्षेत्रको भूमिकालाई अझ गहिरोसँग बुझ्ने अवसर मिलेको अनुभव गरेको छु ।