२१ असार २०८३, आइतवार

एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम प्रभावकारी, कफी खेतीको अनुगमन

सुकुटे । कृषि विकास कार्यालय धुलिखेलको आयोजनामा समुदाय आधारित ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको कफी खेती तथा पूर्वाधार विकास कार्यक्रमको आइतबार चौतारा साँगाचोकगढी नगरपालिका–१० मा अनुगमन गरिएको छ। कार्यक्रममार्फत कफी खेतीको विस्तार, सिँचाइ व्यवस्थापन, किसानको क्षमता अभिवृद्धि तथा उत्पादन वृद्धिमा केन्द्रित विभिन्न गतिविधि प्रभावकारी रूपमा सञ्चालन भइरहेको अनुगमन टोलीले जनाएको छ।

कार्यक्रम कृषि विकास कार्यालय धुलिखेलको ६० प्रतिशत, चौतारा साँगाचोकगढी नगरपालिकाको २० प्रतिशत तथा स्थानीय कफी सहकारीको २० प्रतिशत लागत साझेदारीमा सञ्चालन हुँदै आएको हो। साझेदारीको यस मोडलले स्थानीय सरकार, सरकारी निकाय र किसानबीचको सहकार्यलाई मजबुत बनाउँदै कफी उत्पादनलाई व्यावसायिक बनाउने लक्ष्य लिएको छ।

अनुगमनका क्रममा कृषि विकास कार्यालय धुलिखेलले कार्यक्रमअन्तर्गत उपलब्ध गराएका विभिन्न पूर्वाधार तथा सामग्रीहरूको निरीक्षण गरिएको थियो। कफी खेतीलाई आवश्यक पर्ने पानी व्यवस्थापनका लागि पानी ट्याङ्की निर्माण, सिँचाइका लागि सिमेन्ट तथा प्लास्टिकका पोखरी निर्माण, कफी उत्पादनसम्बन्धी तालिम, स्प्रेयर पम्प, कफी पल्पिङ मेसिन, कफीका बिरुवा तथा छहारीका बिरुवा वितरण गरिएको जानकारी दिइयो।

कार्यक्रमअन्तर्गत निर्माण गरिएका सिँचाइ पोखरीहरूमा न्यूनतम ३० हजार लिटर पानी अट्ने क्षमता रहेको छ। यसले सुख्खा मौसममा पनि कफी खेतीलाई आवश्यक पर्ने पानीको आपूर्ति सहज हुने विश्वास गरिएको छ।

कृषि विकास कार्यालय धुलिखेलले गत आर्थिक वर्षमा दुई वटा सिमेन्टका पानी ट्याङ्की निर्माण गरिएको र चालु आर्थिक वर्षमा थप एक वटा सिमेन्टको तथा एक वटा प्लास्टिकको पानी ट्याङ्की निर्माण गरिएको जानकारी दिएको छ। त्यस्तै गत वर्ष दुई वटा सिमेन्ट पोखरी निर्माण गर्ने लक्ष्य रहे पनि सम्झौता प्रक्रियाका कारण एउटा पोखरी मात्र निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ।

कफी किसानहरूको ज्ञान, सीप र अनुभव अभिवृद्धिका लागि गत वर्ष चौतारा साँगाचोकगढी–१० का कफी किसानलाई अध्ययन तथा अवलोकन भ्रमणसमेत गराइएको थियो। यसबाट किसानहरूले आधुनिक कफी खेती, प्रशोधन तथा बजारीकरणका विषयमा व्यवहारिक अनुभव प्राप्त गरेको जनाइएको छ।

अनुगमनका क्रममा कृषि विकास कार्यालय धुलिखेलका प्रमुख कुलप्रसाद दवाडीले कफी तथा छहारीका बिरुवा आवश्यकताभन्दा केही बाक्लो रूपमा रोपिएको देखिएको बताउँदै व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो । उहाँले कफी खेतीमा उचित दूरी कायम गरेर बिरुवा रोप्दा उत्पादन र गुणस्तर दुवैमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुभयो ।

दवाडीले कफी खेतीसँगै बहुउद्देश्यीय खेतीको अवधारणालाई अघि बढाउनुपर्नेमा जोड दिँदै छहारीका रूपमा एभोकाडो, केरा लगायतका बिरुवा प्रयोग गर्न सकिने बताउनु भयो । साथै कफीका बोटमुनि अदुवा जस्ता बाली खेती गर्न सकिने भएकाले किसानले एउटै जग्गाबाट बहुआयामिक उत्पादन र अतिरिक्त आम्दानी लिन सक्ने उहाँको भनाइ थियो।

कार्यक्रमअन्तर्गत गत वर्ष २७ हजार कफीका बिरुवा वितरण गरिएकोमा यस वर्ष १५ हजार बिरुवा वितरण गरिएको  जिल्ला कफी सहकारी संघकी अध्यक्ष मन्दु थापाले जानकारी दिनु भयो । यसले कफी खेती विस्तारतर्फ किसानको आकर्षण बढ्दै गएको संकेत गरेको छ। पर्याप्त बिरुवा वितरणसँगै सिँचाइ, तालिम, उपकरण र प्राविधिक सहयोगलाई निरन्तरता दिइएको कार्यालयको भनाइ छ।

अनुगमनमा सहभागीहरूले कार्यक्रमले स्थानीय किसानलाई कफी खेतीप्रति आकर्षित गर्न, उत्पादन वृद्धि गर्न तथा दीर्घकालीन आम्दानीको आधार तयार गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको  छ। किसानहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै बजार व्यवस्थापन, प्रशोधन तथा ब्रान्डिङमा समेत जोड दिनुपर्ने धारणा राखेका थिए।

अनुगमन कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ,  चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा, वडा नं. १० का अध्यक्ष निलबहादुर तामाङ, जिल्ला कफी सहकारी संघकी अध्यक्ष मन्दु थापा, कृषि प्राविधिक, स्थानीय कफी किसान तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले कफी खेतीलाई सिन्धुपाल्चोकको सम्भावनायुक्त नगदे बालीका रूपमा विकास गर्न सरकारी निकाय, स्थानीय तह, सहकारी र किसानबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।