बनेपा । पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको सम्पादनमा तयार भएको पहिलो कृति ‘डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल’ शनिबार बनेपामा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको छ। साहित्यिक संस्था शब्दयात्रा प्रकाशनले आफ्नै सभाहलमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार अरुणबहादुर खत्री ‘नदी’ सहित अन्य अतिथिहरूले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीका अनुसार यो संस्थाले प्रकाशन गरेको २८३औँ कृति हो। २०६८ सालदेखि सक्रिय रहेको शब्दयात्रा प्रकाशनले पुस्तक प्रकाशनसँगै साहित्य, पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ। यसले नयाँ लेखक, सम्पादक तथा स्रष्टालाई प्रोत्साहन गर्ने वातावरण निर्माण गरेको संस्थाको विश्वास छ।