२३ असोज २०८२, बिहिवार

एमालेमा आजको परिस्थिति आउनुका कारणहरु

नवराज भुर्तेल 

 एक विश्लेषणात्मक दृष्टिकोणः-नेपालको वर्तमान राजनीतिक अस्थिरता, संगठनभित्रको विश्वास संकट, र जनतामा घट्दो भरोसाका पछाडि केवल बाह्य कारण मात्र छैनन् । यसमा नेकपा (एमाले) आफैंका आन्तरिक कमजोरी, नेतृत्वगत गल्ती, गुटबन्दी, र सार्वजनिक राजनीतिक कार्यशैलीमा देखिएका कमजोरीहरू पनि गहिरो रूपमा जोडिएका छन् ।

मुख्य नेतृत्व विचार र नीतिगत दृष्टिकोणमा स्पष्ट देखिन्छ तर त्यही विचारलाई व्यवहारमा रूपान्तरण गर्ने तहमा कमजोरीहरू क्रमशः देखा परेका छन् । ऐतिहासिक रूपमा जनताको विश्वास जित्न सफल पार्टी आज आन्तरिक अव्यवस्था, दोहोरिएको शैली, र जनसंपर्कमा कमजोरीका कारण कमजोर देखिनुका प्रमुख कारणहरू निम्न छन् :

 १. संगठनात्मक एकता र आन्तरिक लोकतन्त्रमा कमजोरी 

पार्टीभित्र स्वस्थ बहस र आन्तरिक लोकतन्त्रलाई संस्थागत रूप दिन नसक्दा असन्तुष्टि र वैचारिक भिन्नता व्यवस्थापन हुन सकेन । असहमतिको आवाजलाई समेट्नेभन्दा दबाउने प्रवृत्तिले संगठनभित्र विभाजन गहिरो बनायो। निर्णय प्रक्रियामा समावेशीपन र पारदर्शिता नहुँदा संगठनात्मक संरचना क्रमशः कमजोर हुँदै गयो ।

 २. नेतृत्व परिवर्तनमा लचकताको अभाव र नेतृत्व छोड्नुपर्दा पार्टी छोड्ने प्रवृत्ति 

पार्टीभित्र नेतृत्व हस्तान्तरण र वैकल्पिक नेतृत्व विकासमा लचकता नहुँदा संगठनमा स्वाभाविक परिवर्तनको संस्कार विकास हुन सकेन । नेतृत्व पंक्तिमा जिम्मेवारी हस्तान्तरण हुनुपर्ने अवस्थामा, नेतृत्व छोड्नुपर्दा वा जिम्मेवारी नपाउँदा पार्टी नै त्याग्ने प्रवृत्ति क्रमशः विकसित हुँदै गयो । यसले आन्तरिक संक्रमण सहज र संस्थागत रूपमा हुन नदिने अवस्था सिर्जना गर्‍यो, असन्तुष्ट नेताहरू पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्नुभन्दा बाहिरिने बाटो रोजे र नेतृत्व परिवर्तनलाई संस्थागत अभ्यासभन्दा व्यक्तिगत सत्ता–संघर्षका रूपमा व्याख्या गर्ने संस्कार बलियो बनायो । यसले संगठनभित्र वैचारिक निरन्तरतामा अवरोध पुर्‍यायो र दीर्घकालीन स्थायित्वमा नकारात्मक असर पारेको छ ।

३. सत्ता व्यवस्थापनमा अवसरवाद र स्वार्थकेन्द्रित

राजनीतिसत्तामा रहँदा सिद्धान्तभन्दा पद, लाभ र सत्तालाई प्राथमिकता दिने प्रवृत्तिले जनविश्वासमा गहिरो असर पार्‍यो। गठबन्धन बनाउने वा तोड्ने निर्णयहरू दीर्घकालीन रणनीतिक सोचभन्दा तत्कालिक फाइदामा आधारित रहे। नीतिगत निरन्तरता भन्दा सत्ता समीकरणलाई प्राथमिकता दिँदा जनता बीच भ्रम र अस्थिरता बढ्यो।

४. दोस्रो तहका नेताहरूका स्वार्थ र गुट विभाजन

गुटगत विभाजन गहिरिनुमा शीर्ष नेतृत्व मात्र होइन, दोस्रो तहका नेताहरूको स्वार्थले निर्णायक भूमिका खेले । यिनले विचार वा नीतिभन्दा व्यक्तिगत पद, क्षेत्रीय प्रभाव, र भविष्यका अवसरलाई प्राथमिकता दिए।गुटगत वफादारी विचारगत नभई स्वार्थगत समीकरणमा आधारित रह्यो। आन्तरिक विवाद समाधान गर्नुभन्दा यिनै नेताहरूले गुटीय लाभका लागि विवादलाई झन् गहिरो पारे। नीतिगतभन्दा व्यक्तिपरक राजनीति हावी हुँदा संस्थागत निर्णय प्रक्रिया कमजोर बन्यो।परिणामस्वरूप, संगठनभित्र साझा दृष्टिकोणभन्दा व्यक्तिगत शक्ति खेल बढी हावी भयो।

५. सार्वजनिक मञ्चमा दोहोरिएको, अध्ययनविहीन र असरहीन भाषण शैली

पार्टीका सार्वजनिक कार्यक्रमहरूमा वर्षौंदेखि उही व्यक्ति, उही शैली र उही किसिमका भाषणहरू दोहोरिँदै आएका छन्। धेरैजसो वक्ताहरूले समसामयिक राजनीतिक, आर्थिक वा सामाजिक विषयमा गहिरो अध्ययन नगरी “सुगाहरूझैं शैलीमा मन्तव्य दिन्छन् । विचार वा विश्लेषणभन्दा नारावादी र सतही भाषणले जनसभामा नयाँ दृष्टिकोण वा ऊर्जा प्रदान गर्न सक्दैन । यसरी दोहोरिने भाषण शैलीले जनसभा वा संगठनात्मक कार्यक्रमहरूलाई नीरस बनाउँदै जनताको सक्रिय सहभागिता घटाएको छ।फलस्वरूप, पार्टीका कार्यक्रमहरू औपचारिकतामा सीमित हुने प्रवृत्ति विकसित भइरहेको छ।

६. जनताको भावना र मुद्दासँग विच्छेद

रोजगार, सुशासन, शिक्षा, स्वास्थ्य, विकासजस्ता जनजीविकासँग प्रत्यक्ष जोडिएका मुद्दाहरूलाई पार्टीले प्रभावकारी ढंगले सम्बोधन गर्न सकेन। आन्दोलनकालीन जनमुखी मुद्दाहरू सत्तामा पुगेपछि प्राथमिकतामा नआउँदा जनता र पार्टीबीच दूरी बढेको छ।

 ७. विचार र कार्यनीतिमा अस्पष्टता

तेज गतिले बदलिँदो सामाजिक–राजनीतिक परिवेशमा पार्टीले समयमै आफ्ना नीति, विचार र कार्यशैलीलाई परिमार्जन गर्न सकेन। पुरानो शैली र भाषा दोहोरिँदा नयाँ पुस्ता तथा शहरी मतदातासँग सम्बन्ध कमजोर रह्यो । पार्टी विचारमा स्पष्ट देखिए पनि त्यसलाई व्यवहारमा परिणत गर्न सक्ने कार्यनीतिक स्पष्टता र व्यावहारिक तयारी देखिएन ।आजको राजनीतिक परिस्थिति केवल विपक्षी वा बाह्य शक्तिको कारण आएको होइन, पार्टीभित्रै गहिरिएका  संगठनात्मक कमजोरी, स्वार्थपरक राजनीति, गुटबन्दी प्रवृत्ति, अध्ययनविहीन कार्यशैली, र जनतासँगको दूरी को परिणाम हो ।मुख्य नेतृत्व विचारमा स्पष्ट भए पनि त्यसलाई व्यवहारमा उतार्न नसक्नु, दोस्रो तहका नेताहरूका स्वार्थ, गुटबन्दी प्रवृत्ति, र नीरस जनसम्पर्क शैलीले पार्टीप्रति जनविश्वास क्रमशः घटाएको छ।

यस्तो अवस्थाबाट बाहिर निस्कन पार्टीले गर्न पर्ने कामहरु

# आन्तरिक लोकतन्त्र र संस्थागत संस्कृतिलाई सुदृढ गर्नु,

# नेतृत्व र दोस्रो तहबीच विचार तथा कार्यका तहमा सामञ्जस्यता ल्याउनु,

# अध्ययन र विश्लेषणमा आधारित राजनीतिक संस्कृति विकास गर्नु,

# जनताको वास्तविक मुद्दासँग पुनः जोडिनु अत्यावश्यक देखिन्छ । भुर्तेल नेकपा एमाले काभ्रेपलान्चोक जिल्ला कमिटीको सचिवालय सदस्य हुनुहुन्छ ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.