सिन्धुपाल्चोक । यहाँको इन्द्रावती गाउँपालिकामा जलवायु तथा वातावरणीय जोखिम न्यूनीकरण गर्दै समुदायलाई उत्थानशील बनाउने उद्देश्यसहित “पूर्वानुमानमा आधारित कार्य प्रवर्द्धन परियोजना (PROAACT)” सञ्चालन हुने भएको छ।
यो परियोजना अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ICIMOD को आर्थिक तथा प्राविधिक सहयोगमा तथा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च CDECF Nepal द्वारा कार्यान्वयन गरिनेछ। स्थानीय तहमा भने इन्द्रावती गाउँपालिका सँगको सहकार्यमा कार्यक्रम अघि बढाइनेछ।
परियोजनाको प्रारम्भिक परिचयात्मक छलफलमा CDECF नेपालका कार्यकारी निर्देशक गोविन्द सापकोटाले परियोजनाको मुख्य लक्ष्यबारे प्रकाश पार्दै जलवायु जोखिमबारे जनचेतना बढाउने, समुदायको अनुकूलन क्षमता मजबुत बनाउने र जलवायु–उत्थानशील विकासका साझा दृष्टिकोण तयार गर्ने दिशामा परियोजना केन्द्रित रहने जानकारी दिनुभयो।
त्यसैगरी, कार्यक्रम व्यवस्थापक इन्जिनियर मिनेश गुरुङले परियोजनाको समग्र ढाँचा, लक्ष्य, कार्यान्वयन रणनीति, प्रमुख क्रियाकलाप, अपेक्षित उपलब्धि तथा बजेटसम्बन्धी विवरण प्रस्तुत गर्नुभयो। उहाँले स्थानीय तहमा रहेका जलवायुजन्य जोखिमहरूको समाधानका लागि समुदायको क्षमता विकास नै मुख्य आधार हुने उल्लेख गर्दै सबै सरोकारवाला निकायको सहकार्य अपरिहार्य हुने बताउनुभयो।
परामर्शदाता पुरुषोत्तम घिमिरेले स्थानीय अनुकूलन कार्ययोजना (LAPA) सम्बन्धी विषयमा विस्तृत जानकारी प्रस्तुत गर्नुभयो भने मोहनदास मानन्धरले परियोजनाको कार्यपद्धति, दृष्टिकोण तथा कार्यान्वयन प्रक्रिया स्पष्ट पार्नुभयो।
सन् २०२६ जुन १ देखि २०२७ अगस्ट ३० सम्म सञ्चालन हुने यस परियोजनाको कुल बजेट करिब २ करोड ४८ लाख रुपैयाँ रहेको छ। कार्यक्रम गाउँपालिकाका सबै १२ वटै वडामा लागू गरिने भए पनि खानेपानी अभाव तथा जलवायु जोखिम बढी देखिएका वडा नं. १, २, ३, ५ र १० लाई विशेष प्राथमिकतामा राखिने जानकारी दिइएको छ।
यस परियोजनामा स्थानीय वडा तथा गाउँपालिकाबाट समेत साझेदारी रहनेछ।
बैठकमा सहभागी वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूले परियोजनालाई सबै वडामा प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने धारणा राखेका थिए। उनीहरूले जोखिमयुक्त बस्ती पहिचान गरी आधुनिक प्रविधिमा आधारित जोखिम न्यूनीकरण तथा अनुकूलन कार्यक्रम अघि बढाउनुपर्ने सुझाव दिएका थिए। साथै महिला, विपन्न तथा जोखिममा रहेका समुदायको सशक्तीकरणलाई विशेष ध्यान दिनुपर्ने पनि उनीहरूको जोड थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीले परियोजना सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गर्दै जोखिमग्रस्त बस्तीहरूको पहिचान गरी दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले परियोजनाको सफल कार्यान्वयनमा गाउँपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले इन्द्रावती क्षेत्रमा देखिएका जलवायु तथा वातावरणीय चुनौती समाधानमा यो परियोजना महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले यी विषयलाई नीति तथा कार्यक्रममार्फत प्राथमिकतामा राखिने उल्लेख गर्दै परियोजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता CDECF नेपालका कार्यवाहक अध्यक्ष ईश्वरीप्रसाद अधिकारीले गर्नुभएको थियो। उहाँले परियोजनामार्फत क्षमता विकाससँगै आवश्यक पूर्वाधार निर्माणका कामहरू पनि अघि बढाइने जानकारी दिनुभयो। साथै सहभागीहरूले दिएका सुझावलाई कार्यान्वयन प्रक्रियामा समेटिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन CDECF नेपालका सामाजिक परिचालक शिवराम अधिकारीले गर्नुभएको थियो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.