९ कार्तिक २०८३, आइतवार

हेलम्बुस्तरीय फुटबलको च्याम्पियन बन्यो आयोजक ‘बी’ टोली

हेलम्बु , ८ कात्तिक  । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा आयोजित गाउँपालिकास्तरीय खुला फुटबल प्रतियोगिताको उपाधि आयोजक टोली ‘बी’ ले आफ्नो पक्षमा पारेको छ। देविस्थान युवा क्लबको आयोजनामा विजया दशमी, दीपावली तथा छठ पर्व २०८३ को अवसर पारेर सञ्चालन गरिएको प्रतियोगितामा १७ टोलीले प्रतिस्पर्धा गरेका थिए।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक ‘बी’ टोलीले हेलम्बु–५ लाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो। प्रतियोगितामा आयोजक भूमेस्थान युवा क्लबको ‘ए’ टोलीले तेस्रो स्थान हासिल गर्‍यो।

प्रतियोगितामा विजेता, उपविजेता र तृतीय स्थान प्राप्त गर्ने टोलीले क्रमशः ८० हजार, ४० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।

समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शेर्पाले खेलकुदलाई स्थानीय युवाको क्षमता विकास र गाउँपालिकाको पहिचान अभिवृद्धिसँग जोड्नुपर्ने बताउनुभयो। उहाँले खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले प्रत्येक वर्ष विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो।

हेलम्बुमा अहिलेसम्म व्यवस्थित तथा सुविधायुक्त खेलमैदानको अभाव रहेको औँल्याउँदै अध्यक्ष शेर्पाले आवश्यक खेल पूर्वाधार निर्माणका लागि गाउँपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो। खेलकुदले युवामा अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै स्थानीय क्षेत्रको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ थियो।

कार्यक्रममा गाउँपालिकाको सामाजिक विकास समिति संयोजक क्षिरिङ लामाले फुटबलसँगै भलिबल, कराते र उस्सुजस्ता खेलको प्रवर्द्धनमा गाउँपालिकाले ध्यान दिँदै आएको बताउनुभयो। खेलाडीको क्षमता उजागर गर्न र खेलकुद गतिविधिलाई थप व्यवस्थित बनाउन आवश्यक सहयोग तथा सहकार्य गर्न आफूहरू प्रतिबद्ध रहेको उहाँले धारणा राख्नुभयो।

समापन कार्यक्रममा हेलम्बु गाउँपालिका–७ का वडाध्यक्ष निलबहादुर तामाङ, वडा नं. ५ का वडाध्यक्ष दीपकुमार तामाङ र वडा नं. २ का वडाध्यक्ष पेम्बा ह्योल्मोलगायतले खेलाडी तथा आयोजकलाई शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रतियोगिताको समापनलाई सांगीतिक र मनोरञ्जनात्मक बनाउन लोकगायक प्रदीप रोक्का, स्मृति गौतम र जितु लोप्चनलगायत कलाकारले आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रमको सञ्चालन सुनिता लुम्बा र श्याम शर्मा लामिछानेले गर्नुभएको थियो।

स्थानीय युवालाई खेलकुदमा सहभागी गराउने, नयाँ प्रतिभाको पहिचान गर्ने तथा गाउँपालिकाभित्र खेलप्रतिको रुचि र आकर्षण बढाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ। प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै हेलम्बुमा खेलकुद संस्कृतिको विकास र विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.