मायानाथ अधिकारी, माघ १७, काठमाडौं । पिस्कर हत्याकाण्ड भएको ६ वर्षपछि म सिन्धुपाल्चोकको जिम्मेवारी लिएर पुगेको थिएँ । मैले त्यहाँका कमरेडहरूबाट त्यस क्षेत्रको घटना बुझेँ र समाजलाई पढेँ । समाज प्रतिकृयावादी शासकहरूको दमनबाट थिलथिलो भएको थियो । देशमा आन्दोलनको माहोल बनिरहेको थियो । पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको अगुवाइमा संयुक्त बाम मोर्चा बन्यो र नेपाली काङ्ग्रेससँग पनि सहकार्य गरी संयुक्त जनआन्दोलन गर्ने निर्णय भयो । यो निर्णयले नेपाली जनतामा उत्साह जाग्यो । आन्दोलनको सुरुआत हुँदै थियो । हामी सिन्धुपाल्चोकका गाउँगाउँमा आन्दोलनको तयारीको निम्ति पार्टीका कार्यकर्तालाई प्रशिक्षित गर्दै थियौँ ।
२०४६ फागुन ७ गते काठमाडौँको न्यूरोड पिपलबोटबाट पहिलो दिन संयुक्त जनआन्दोलनको सुरुआत गर्दै जुलुस निस्कने र त्यसपछि देशव्यापी कार्यक्रम गर्ने योजना थियो । हामी मध्यउत्तरका जिम्मेवार कमरेडहरू केशब बडाल, सुरेश कार्कीे, युवराज कार्की, माधव पौडेल र म लगायत बसन्तपुर नजिकको हाम्रो गोप्य कोठामा सरसल्लाह गर्दै थियौँ । हामी सबै एउटा एउटा जिल्लाको जिम्मेवार थियौँ र जिल्लाको कामको संयोजन गर्ने जिम्मा थियो । हामीलाई आन्दोलनको हुटहुटी थियो । फागुन ७ गते सुरु भएको जुलुसमा मैले र क. केशव बडालले सहभागिता जनायौँ । जुलुस आक्रमक, जोसिलो र विसाल थियो । जुलुस न्यूरोड, इन्द्रचोक, बाङ्गेमुढा, किलागल, असन, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक, सिंंहदरबार हुँदै त्रिपुरेश्वरमा गएर टुङ्गियो । तत्कालीन अञ्चलाधीश नरेन्द्रकुमार चौधरीको प्रत्यक्ष निर्देशनमा ठाउँठाउँमा प्रहरी हस्तक्षेप र मुठभेड भएको थियो । जनताको शक्तिको अगाडि उनीहरूको केही लागेन । आन्दोलनको राप देशभर फैलियो । हामी आफ्नो जिल्लामा आन्दोलन सञ्चालन गर्न फर्कियौँ । सिन्धुपाल्चोकका गाउँबस्तीहरूमा पञ्चायतको बिरुद्ध र सामन्तको अत्याचारको विरुद्ध जनता संगठित हुँदै गए । गाउँगाउँमा आन्दोलन सफल हुने संदेश फैलियो । कार्यक्रमहरूमा जनताको उत्साहजनक उपस्थिति हुँदै गयो । सिन्धुपाल्चोकमा विभिन्न गाउँबस्ती र बजारहरूमा आन्दोलनका कार्यक्रमहरू हुँदै थिए ।
आन्दोलनलाई अझ ससक्त बनाउनुपर्छ भनेर म पिस्कर क्षेत्रका गाउँहरूमा कमरेडहरूसँग छलफल गर्दै टेकानपुर जगतबहादुर बोहोरा कमरेडको घरमा पुगेको थिएँ । त्यही दिन जनताको विजयको घोषणा भयो । जनताले देशव्यापी विजय जुलुस निकाले । नेपाली काङ्ग्रेस संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थासम्म जान तयार थियो । तसर्थ हाम्रो उद्धेश्य फरक भए पनि आन्दोलनका शक्तिको सहकार्य र योजनाअनुसार जानुपर्ने भएकोले आन्दोलनको दवावले राजालाई झुकायो । राजा संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थाको लागि राजी भए ।
अब पार्टीलाई कसरी अगि बढाउने ? पार्टीभित्र बहस थियो । एकाथरी बाम मोर्चा बनाएर पार्टीलाई गोप्य नै राख्नुपर्छ भन्ने पक्षमा थिए तर पार्टीका तत्कालीन महासचिव क. मदन भण्डारीले नेता र कार्यकर्तालाई कन्भिस गर्नुभयो । पार्टीलाई खोपाको भीमसेन बनाउने हैन जनताको बिचमा लगेर आवधिक निर्वाचन मार्फत श्रेष्ठता कायम गर्नुपर्छ । जनताको मतबाट बहुमत ल्याएर सरकारमा गई देशको नेतृत्व गर्दै जनताको समस्या समाधानमा लाग्नुपर्छ । व्यवस्था बदल्ने मात्र हैन जनताको अवस्था बदल्नु पर्छ भन्नुभयो । त्यसैले हामी सबै खुल्ला रूपमा लाग्यौँ । जनताको घरघरमा पुग्यौँ । देशमा नयाँ संविधान बन्यो । हाम्रो पार्टीले संविधानमा २७ वटा मतका बुँदा प्रस्तुत गर्दै आलोचनात्मक समर्थन ग¥र्यौँ । यसले हाम्रो पार्टीको दृष्टिकोण प्रस्ट भएको थियो । यसै बिच नेकपा (माले) र नेकपा (माक्र्सवादी) बिच एकीकरण भएर नेकपा (एमाले) बन्यो । जिल्लामा पनि हामीले पार्टी कामलाई अझ व्यवस्थित गर्न क. सरेश नेपाललाई जिल्ला सचिव बनायौँ । म जिल्ला इन्चार्ज र वागमतीको सदस्यमा रहेँ । २०४८ को आम निर्वाचनमा तीनवटै निर्वाचन क्षेत्र जित्ने योजनाका साथ हामी लाग्यौँ । क्षेत्र नं. १ मा पार्टी नेता क. अमृत बोहोरा, क्षेत्र नं. २ मा क. कृष्णराज श्रेष्ठ र क्षेत्र नं. ३ मा क. डम्बर अर्याल उम्मेद्धार हुनुहुन्थ्यो । अन्य क्षेत्रमा पनि ध्यान राख्दै म क्षेत्र नं. २ को उम्मेद्धार क. कृष्णराज श्रेष्ठको टिममा सहभागी भएँ । क्षेत्र नं. १ र २ मा विजय प्राप्त भयो क्षेत्र नं. ३ मा जनताको कमजोर चेतना, विरोधीहरूको भ्रमपूर्ण प्रचार र हामीले जनतालाई कतिपय विषयमा बुझाउन नसक्नुको कारण विजय प्राप्त गर्न सकिएन । तथापी सिन्धुपाल्चोकमा नेकपा एमाले एउटा सशक्त पार्टीको रूपमा स्थापित हुन सक्यो । पार्टी नेता क. अमृत बोहोराको अभिभाकत्व र थुप्रै कमरेडहरूको दुःख, त्याग, लगनशीलताको कारण सिन्धुपाल्चोकमा पार्टी निर्माणले महत्त्वपूर्ण फड्को मार्न सफल भएको हो । विगतमा पिस्करबासी न्यायप्रेमी जनताले देखाएको त्याग बलिदान र अदम्य साहसको जति प्रशंसा गरे पनि कमी हुन्छ । सहिद इले थामी र वीरबहादुर थामीले देखाएको बाटोमा हामी अविचलित रूपमा लागिरहने छौँ । उहाँहरूले लिएको उद्धेश्य पूरा गर्न देशमा राजनीतिक व्यवस्था परिवर्तन भयो । संविधान सभाको निर्वाचनमार्फत संविधान बनेको छ । अहिले जनताको अवस्थामा केही सुधार भए पनि धेरै काम गर्न बाँकी छ । सुखी नेपाली र समृद्ध नेपालको अभियान सम्पन्न गरेर मात्रै त्यो उद्धेश्य पूरा हुन सक्छ । जनताको राजनीतिक जीवनमा मात्रै हैन आर्थिक जीवनमा पनि परिवर्तन आउँछ । हामी सबै यो अभियानमा सकृयतापूर्वक सामेल बनौँ । र, सूर्य चिन्हमा मत दिएर सरेश नेपाल जिताऔँ । लेखक अधिकारी नेकपा एमाले सिन्धुपाल्चोकको पूर्व पार्टी प्रमुख हुनुहुन्छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.