२५ माघ, हेटौंडा, मकवानपुर । नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ बाट सांसद पदको उम्मेदवार महेश कुमार बर्तौलाले संसदमा केवल उपस्थित हुन सीमित नभई जनताको चाहना अनुसार प्रभावकारी कानून बनाउन र विकासको नेतृत्व गर्न सक्षम रहेको दाबी गर्नुभएको छ।
आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ को माथिल्लो क्षेत्रको मतदाता भेटघाट तथा संवाद कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, "संसदमा निदाउन मात्र जाने होइन, देशका लागि आवश्यक कानून बनाउन र जनताको पक्षमा काम गर्न सक्ने व्यक्ति चाहिन्छ। म त्यो जिम्मेवारी पूरा गर्न तयार छु।"
भेटघाटका क्रममा स्थानीय बासिन्दाहरूले विकट भूगोल र आधारभूत पूर्वाधारको अभावका कारण भोग्नुपरेका समस्या बर्णन गर्नुभयो। सिरानचोकका युवा रामचन्द्र ब्लोनले टावर नहुँदा नेपाल टेलिकमको सेवा नपुगेको गुनासो गर्नुभयो र वस्तीपुर–कुवापानी–सिरानचोक सडक निर्माणमा प्राथमिकता दिन आग्रह गर्नुभयो। भालुखोलाका काली बहादुर घलानले वडा कार्यालय पुग्न १२ सय रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता रहेको बताएर, सडक पूर्वाधार र २३५ घरधुरीको भूमिहीन सुकुम्बासी समस्या समाधान गर्न माग गर्नुभयो।
स्थानीय मिडियालाई जानकारी दिनुहुँदै नेकपा एमालेका निर्वाचन फोकल पर्सन आशिष अस्लामीले आजको मतदाता भेटघाट र प्रचार-प्रसार कार्यक्रमको विवरण प्रस्तुत गर्नुभयो।
स्थानीय समस्याबारे सुनेपछि बर्तौलाले भूगोल चुनौतीपूर्ण भए पनि विकासमा कुनै कमी नराख्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, "सांसदको मुख्य जिम्मेवारी नीति निर्माण भए पनि म यहाँको सडक, खानेपानी र टेलिकम टावर जस्ता विकास कार्यका लागि सम्बन्धित निकायसँग समन्वय गर्नेछु। तपाईंहरूको माग संसदमा सरकारसम्म पुर्याउनेछु।"
उहाँले आगामी फागुन २१ को निर्वाचनलाई 'देश निर्माण र देश विनाशका शक्तिहरूबीचको प्रतिस्पर्धा'को रूपमा व्याख्या गर्दै विगतको संसद भंग भएको अवस्थासँग तुलना गर्नुभयो।
भेटघाटमा वडा अध्यक्ष नवराज सुवेदीले भूमिहीनहरूको लगत संकलन भइसकेको भए पनि विगतको आन्दोलनका क्रममा फाइलहरू नष्ट भएको कारण समस्या आएको जानकारी दिनुभयो। उहाँले पुनः लगत संकलन गरी सुकुम्बासी समस्या समाधान गर्ने र खानेपानी परियोजना पूर्णता दिन पहल भइरहेको पनि उल्लेख गर्नुभयो।
कार्यक्रमको क्रममा बर्तौलाले स्थानीय ज्येष्ठ नागरिक पिङ्गलादेवी भण्डारीबाट टीका र आशीर्वाद प्राप्त गरी सिरानचोक, ज्यामिरे, बसिने र भालुखोला क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुभयो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.