नवराज भुर्तेल । बीसौँ शताब्दीको विश्व राजनीतिक इतिहास हेर्दा कम्युनिष्ट आन्दोलन एक समय अत्यन्त शक्तिशाली विचारधारा र राजनीतिक शक्ति थियो। औद्योगिक पूँजीवादबाट उत्पन्न असमानता, वर्गीय शोषण र सामाजिक विभेदका विरुद्ध उत्पन्न भएको कम्युनिष्ट विचारधाराले विश्वका धेरै देशहरूमा राज्यसत्ता सञ्चालन गर्ने अवसर प्राप्त गरेको थियो। सोभियत संघ, पूर्वी युरोपका देशहरू, चीन, क्युबा, भियतनाम लगायतका देशहरूमा कम्युनिस्ट विचारधाराले लामो समयसम्म शासन सञ्चालन गर्यो र गरिपनि रहेको छ। यस विचारधाराको मूल लक्ष्य सामाजिक समानता, वर्गीय शोषणको अन्स र उत्पादनका साधनहरूमा सामूहिक स्वामित्य स्थापना गर्नु थियो तर शीतयुद्धको अन्ससँगै विश्व राजनीतिक संरचनामा ठूलो परिवर्तन आयो। सव १९८९ देखि १९९१ को बीचमा विश्वका धेरै कम्युनिष्ट आन्दोलन क्रमशः पतन भए। पोल्याण्ड, हंगेरी, चेकोस्लोभाकिया, रोमानिया, बुल्लोरिया र पूर्वी जर्मनी जस्ता देशहरूमा जनआन्दोलनको दबाबका कारण कम्युनिष्ट शासन समाप्त भए। सोभियत संघ सन् १९९१ मा विघटन भयो। यी घटनाहरूले विश्व राजनीतिक इतिहासमा ठूलो परिवर्तन ल्याए। कम्युनिस्ट शासन पतन हुनुका कारणहरू बहुआयामिक थिए। धेरै देशहरूमा केन्द्रिय योजनामा आधारित अर्थतन्त्र प्रभावकारी हुन सकेन। उत्पादन घट्दै गयो र आर्थिक संकट गहिरिँदै गयो। नागरिक स्वतन्त्रताको अभाव, प्रेस स्वतन्त्रतामाथिको नियन्त्रण र राजनीतिक प्रतिस्पर्धाको अभावले जन असन्तुष्टि बढायो। प्रशासनिक भ्रष्टाचार र व्यवस्थागत अकर्मण्यताले पनि जनविश्वास कमजोर बनायो। बाह्य राजनीतिक दबाब र भू-राजनीतिक प्रतिस्पर्धाले पनि केही देशहरूमा कम्युनिष्ट शासनलाई कमजोर बनायो। विश्वका धेरै देशहरूमा कम्युनिष्ट शासन पतन भएको अनुभवबीच नेपालमा भने कम्युनिष्ट आन्दोलन फरक ढंगले विकसित भएको छ। नेपालमा कम्युनिष्ट आन्दोलनले हिंसात्मक क्रान्तिको मार्गभन्दा लोकतान्त्रिक प्रतिस्पर्धाको मार्ग रोज्दै क्रमशः राजनीतिक शक्ति हासिल गरेको छ। विशेषतः सन १९९० पछि नेपाली कम्युनिस्ट आन्दोलनले संसदीय लोकतन्त्रलाई स्वीकार गर्दै वैचारिक रूपान्सरणको प्रक्रिया अघि बढायो। यही प्रक्रियाले नेपाली कम्युनिष्ट आन्दोलनलाई विश्वका अन्स कम्युनिष्ट आन्दोलनहरूभन्दा भिन्न बनाएको छ।
नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक विकासमा मदन भण्डारीको योगदान अत्यन्त महत्वपूर्ण मानिन्छ। उनले प्रस्तुत गरेको "जनताको बहुदलीय जनवाद" नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि मानिन्छ। यस सिद्धान्सले बहुदलीय प्रतिस्पर्धा, नागरिक स्वतन्त्रता र समाजवादी लक्ष्मलाई एकसाथ जोड्ने प्रयास गरेको थियो। मदन भण्डारीले मार्क्सवादलाई यथार्थ परिस्थितिसँग जोडेर व्याख्या गर्ने प्रयास गरे। उनले नेपाली समाजको संरचना, अन्तर्राष्ट्रिय राजनीतिक परिवेश र लोकतान्त्रिक मूल्यहरूलाई ध्यानमा राख्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशातर्फ मोड्ने प्रयास गरेका थिए। यस अवधारणाले नेपाली कम्युनिष्ट आन्दोलनलाई हिंसात्मक क्रान्तिको मार्गबाट हटाएर लोकतान्त्रिक प्रतिस्पर्धाको मार्गतर्फ ल्यायो।
नेपालको राजनीतिक इतिहासमा सन १९९४ मा बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार पनि कम्युनिष्ट आन्दोलनको एउटा महत्वपूर्ण मोड थियो। त्यो सरकार संसदमा पूर्ण बहुमत नभएको अल्पमतको सरकार थियो। तर छोटो समय टिके पनि त्यस सरकारले केही ऐतिहासिक जनपक्षीय कार्यक्रमहरू ल्याएको थियो। नेपालमा पहिलोपटक राज्यले वृद्ध नागरिकहरूका लागि सामाजिक सुरक्षा स्वरूप वृद्धभत्ता कार्यक्रम सुरु गरेको थियो । आज पनि यो कार्यक्रम नेपालको सामाजिक सुरक्षा प्रणालीको आधार मानिन्छ। त्यस्तै स्थानीय विकास कार्यक्रमहरूलाई प्राथमिकता दिइयो, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउने प्रयास गरियो, कृषि सुधार र भूमिसम्बन्धी नीतिहरूलाई महत्व दिइयो। मनमोहन अधिकारी सरकारको कार्यकाल छोटो भए पनि यसले राज्यलाई जन मुखी बनाउन सकिने सम्भावनाको संकेत दिएको थियो। यही समयावधिमा नेपालको राजनीतिक परिस्थितिमा अर्को ठूलो घटना घट्यो। सन १९९५ पछि नेपालमा माओवादी आन्दोलनले सशस्त्र विद्रोहको मार्ग रोज्यो। १९९६ मा औपचारिक रूपमा सुरु भएको सशस्त्र द्वन्द्वले नेपालको राजनीतिक, सामाजिक र आर्थिक संरचनामा गहिरो प्रभाव पार्यो। यो आन्दोलनका केही सकारात्मक पक्ष पनि थिए। सामाजिक असमानता, जातीय विभेद, क्षेत्रीय असन्तुलन र राज्यको पहुँच नपुगेका ग्रामीण क्षेत्रका समस्याहरू राष्ट्रिय बहसको केन्द्रमा आए। दलित, जनजाति, महिला र सीमान्तकृत समुदा यहरूको अधिकारका विषयमा व्यापक बहस सुरु भयो। ग्रामीण क्षेत्रको विकास, समावेशी राज्य संरचना र सामाजिक न्यायका मुद्दाहरू राजनीतिक एजेन्डाको केन्द्रमा आए तर सशस्त्र द्वन्द्वका नकारात्मक पक्षहरू पनि अत्यन्त गम्भीर थिए। हिंसा र द्वन्द्वका कारण हजारौं मानिसले ज्यान गुमाए। हजारौं नागरिक विस्थापित भए। आर्थिक गतिविधि प्रभावित भए र विकास निर्माणका कामहरू अवरुद्ध भए। समाजमा डर, अविश्वासर अस्थिरता बढ्यो। अन्ततः यो द्वन्द्ध सन २००६ को शान्ति सम्झौतामा पुगेर समाप्त भयो र त्यसपछि नेपालको राजनीतिक संरचनामा ऐतिहासिक परिवर्तन आयो। राजतन्त्रको अन्स भयो र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो।
सन २००६ पछि नेपालको राजनीतिमा कम्युनिष्ट शक्तिहरू क्रमशः बलियो बन्दै गए। विशेषतः २०१७ को निर्वाचनमा कम्युनिष्ट गठबन्धनले अत्मन्त ठूलो जनादेश प्राप्त गर्यो । त्यो परिणाम नेपाली राजनीतिक इतिहासकै महत्वपूर्ण चुनावी परिणाममध्ये एक थियो। यसले कम्युनिष्ट शक्तिलाई स्थिर सरकार सञ्चालन गर्ने अवसर दिएको थियो। यस अवधिमा केपी शर्मा ओलीको नेतृत्व पनि निकै चर्चित बन्यो । उनले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वाभिमान र विकासलाई केन्द्रमा राखेर राजनीतिक एजेन्डा प्रस्तुत गरे । उनको नेतृत्वमा नेपालले केही दीर्घकालीन विकास परियोजनाहरू अघि बढाउने प्रयास गर्यो। मध्य पाहाडी राजमार्ग, हुलाकि राजमार्ग र पूर्व-पश्चिम रेल परियोजना, जलविद्युत् उत्पादन विस्तार, अन्तरदेशीय रेल योजना, रणनीतिक सडक सञ्जाल विकास जस्ता कार्यक्रमहरू सार्वजनिक गरिएका थिए। अन्तर्राष्ट्रिय सम्बन्धमा पनि उनले राष्ट्रिय हित र स्वाभिमानलाई प्राथमिकतामा राख्ने नीति अपनाएको देखिन्छ। विशेषतः छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयास र राष्ट्रिय स्वाभिमानको विषयमा देखाएको अडानले उनको नेतृत्वलाई अलग पहिचान दिएको थियो। आधुनिक राजनीतिमा सूचना प्रविधि र सामाजिक सञ्जालको प्रभाव अत्यन्त बढेको छ। सामाजिक सञ्जाल राजनीतिक प्रचार, प्रतिप्रचार र जनमत निर्माणको प्रमुख माध्यम बनेको छ। नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग तीव्र रूपमा बढेको छ। तर यही माध्यमको प्रयोग कहिलेकाहीँ सूचना युद्ध वा साइबर युद्धका रूपमा पनि हुने गरेको देखिन्छ। विभिन्न राजनीतिक शक्ति र स्वार्थ समूहहरूले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, नकारात्मक प्रचार र संगठित डिजिटल अभियान सञ्चालन गर्ने गरेका छन्। यस्तो गतिविधिले जनमत निर्माणमा ठूलो प्रभाव पारेको छ।
पछिल्लो समय सम्पन्न निर्वाचन परिणामहरूले नेपाली कम्युनिष्ट आन्दोलनका लागि गम्भीर सन्देश दिएका छन् । एक समय अत्यन्त शक्तिशाली देखिएको कम्युनिष्ट शक्ति चुनावी परिणाममा अपेक्षाभन्दा कमजोर देखियो। यसका कारणहरू बहुआयामिक देखिन्छन् । संगठनात्मक विभाजनले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनायो । विभिन्न कम्युनिष्ट पार्टीहरूबीच भएको फुटले मत विभाजनको अवस्था सिर्जना गर्यो । गठबन्धन राजनीतिले बैचारीक अढान र निष्ठा प्रभावित गर्यो। पार्टीभित्रको नेतृत्व संघर्षले संगठनात्मक एकतालाई कमजोर बनायो। जनताले अपेक्षा गरेको विकास र सुशासनको परिणाम समयमै देखिन नसक्दा जनसमर्थनमा पनि प्रभाव परेको देखिन्छ।
आजको अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलनले केही गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ। संगठनात्मक एकता पुनःस्थापित गर्नु सबैभन्दा ठूलो चुनौती बनेको छ। वैचारिक स्पष्टता आवश्यक छ जस्मा मित्र र सत्रु शक्ति पहिचान गर्दै समाजवादको नेपाली मोडेलबारे स्पष्ट कार्यक्रम प्रस्तुत गर्नुपर्ने आवश्यकता देखिएको छ । जनताको विश्वास पुनः प्राप्त गर्नु अत्यन्त महत्वपूर्ण छ। डिजिटल युगमा सूचना व्यवस्थापन र जनसञ्चार रणनीतिलाई सुदृढ बनाउनुपर्ने आवश्यकता पनि स्पष्ट रूपमा देखिन्छ।
इतिहासले देखाउँछ कि कुनै पनि राजनीतिक आन्दोलन स्थायी हुँदैन । यसको स्थायित्व जनसमर्थन, आर्थिक परिणाम, राजनीतिक लचिलोपन र संस्थागत मजबुतीमा निर्भर हुन्छ । नेपालमा कम्युनिष्ट आन्दोलनले समय अनुसार आफूलाई रूपान्तरण गर्ने क्षमता देखाएको इतिहास छ। मदन भण्डारीको जनताको बहुदलीय जनवाद त्यसको उत्कृष्ट उदाहरण हो। यदि नेपाली कम्युनिष्ट आन्दोलनले आत्मसमीक्षा गर्दै संगठनात्मक एकता, वैचारिक स्पष्टता र जनअपेक्षा पूरा गर्न सक्ने क्षमता विकासगर्न सके भने यो आन्दोलन पुनः प्रभावशाली राजनीतिक शक्ति बन्न सक्छ। अन्मथा विश्व इतिहासले देखाएझैँ शक्तिशाली देखिने राजनीतिक आन्दोलनहरू पनि समयसँगै कमजोर हुन सक्छन्। नेपालको कम्युनिष्ट आन्दोलनको भविष्य त्यसको आत्मसमीक्षा, सुधार र रूपान्तरण क्षमतामा निर्भर हुनेछ। इतिहासले दिएको अनुभव, वर्तमानका चुनौतीहरू र भविष्यका सम्भावनाहरूलाई ध्यानमा राखेर अघि बढ्न सकेमा यो आन्दोलन अझ परिपक्व र प्रभावशाली बन्न सक्छ। लेखक भुर्तेल राजनीतिकशास्त्र , समाजशास्त्र र कानुनका विद्यार्थी तथा संगठन व्यवस्थापनमा दीर्घ अनुभवी हुनुहुन्छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.