सिन्धुपाल्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली को रिहाइको माग गर्दै नेकपा एमालेले सिन्धुपाल्चोक लगायत आइतबार देशभरका ७७ जिल्लामा रहेका प्रशासन कार्यालयहरूमा ज्ञापनपत्र बुझाएको छ ।
राजधानी काठमाडौंमा माइतीघरबाट सुरु भएको जुलुस बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो भने सिन्धुपाल्चोकमा पनि एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । सो जुलुसमा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। टोलीले काठमाडौंमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल समक्ष ज्ञापनपत्र बुझाएको छ भने सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाइ बुझाइएको हो । ज्ञापनपत्र बुझाउन एमाले सिन्धुपाल्चोकका नेता कार्यकर्ता र्याली सहित जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, नेता सरेश नेपाल , केन्द्रिय सदस्यहरु शेरबहादुर तामाङ , सुवास कर्माचार्य , हस्त पण्डित , बागमती प्रदेश सचीव बालकृष्ण देउजा लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच मोरङ जिल्लामा पनि र्यालीसहित प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र पेश गरिएको छ। पार्टी अध्यक्ष सागर थापाको हस्ताक्षर रहेको उक्त पत्रमा वर्तमान सरकारले सुरुवातदेखि नै लोकतान्त्रिक शक्तिमाथि दबाब सिर्जना गर्न थालेको आरोप लगाइएको छ। साथै, पक्राउ परेका अध्यक्ष ओलीसहित सबै नेताहरूको तत्काल रिहाइको माग गरिएको छ।
त्यसैगरी एमाले काभ्रेले पनि पार्टी अध्यक्ष केपी शर्मा ओली को रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ज्ञापनपत्र बुझाएको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र पेश गरिएको हो। ज्ञापनपत्रमा ओलीको पक्राउ गैरसंवैधानिक, प्रतिशोधपूर्ण तथा राजनीतिक प्रेरित भएको दाबी गरिएको छ। साथै जनमतको भावनालाई दुरुपयोग गर्दै सस्तो लोकप्रियता हासिल गर्न खोजिएको आरोप पनि लगाइएको छ।
एमाले काभ्रेले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै कानुनी प्रक्रिया र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ।
त्यसैगरी अध्यक्ष पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रतक्षिकरण रिट निवेदन दर्ता गरेकी छन् । सो सम्बन्धमा सोमबार सुनुवाइ हुने भनिएको छ ।
त्यस्तै पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक लाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी यशोदा लेखक ले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी छन्।
उक्त रिट हाल दर्ता प्रक्रियामा रहेको जनाइएको छ। शनिबार प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकलाई नियन्त्रणमा लिएको थियो। जेनजी आन्दोलनका क्रममा भएको दमनसँग सम्बन्धित आरोपमा उनीहरूलाई हिजो चैत १४ गते पक्राउ गरिएको हो ।
यहि मुद्दा को बिषयमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को पक्राउप्रति आपत्ति जनाएका छन्।
राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै त्रिपाठीले उनीहरूको गिरफ्तारी कानुनी प्रक्रिया विपरीत भएको टिप्पणी गरे। उनले अदालतको अनुमति बिना गरिएको पक्राउलाई गैरकानुनी ठहर गर्दै यसले विधिको शासनमाथि प्रश्न उठाएको बताए।
उनका अनुसार राज्यले कुनै पनि व्यक्तिमाथि कारबाही गर्दा कानुनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्नुपर्ने हुन्छ, अन्यथा यस्तो कदम स्वेच्छाचारी अभ्यासतर्फ उन्मुख हुने संकेत हो।
त्यसैगरी राष्ट्रिय जनमोर्चा ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को गिरफ्तारीको कडा विरोध जनाएको छ।
पार्टी अध्यक्ष चित्रबहादुर केसी ले जारी गरेको विज्ञप्तिमा उक्त कदमलाई स्वेच्छाचारी तथा अधिनायकवादी शैलीको संज्ञा दिँदै सरकारको कार्यप्रति असन्तुष्टि व्यक्त गरिएको छ। उनले यस्ता गतिविधिले देशलाई फासिवादतर्फ धकेल्ने जोखिम बढाउने चेतावनी दिएका छन्।
वक्तव्यमा भदौ २३ गतेको घटनाका दोषीलाई कारबाही गर्नुपर्नेमा पार्टी स्पष्ट रहेको उल्लेख गर्दै, कुनै पनि कारबाही कानुनी प्रक्रिया पूरा गरी निष्पक्ष ढंगले हुनुपर्नेमा जोड दिइएको छ। त्यसैगरी, भदौ २३ को गोलीकाण्ड, आन्दोलनलाई हिंसात्मक बनाउने प्रयास, तथा भदौ २४ मा भएका तोडफोड र आगजनीका घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग माग गरिएको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.