१ भदौ २०८२, आइतवार

कौटिल्यको न्याय, राजनीति र कूटनीति : अहिलेको विश्वसन्दर्भ

रामकृष्ण तिमल्सिना

मानव सभ्यताको इतिहासमा शासन, न्याय र शक्ति सम्बन्धी सिद्धान्तहरूको निरन्तर विकास भएको छ। पश्चिमी परम्परामा प्लेटो र अरिस्टोटलदेखि मेकियाभेली र हब्ससम्मका विचारकहरूले शासन, राजनीति र कूटनीतिमा विविध दृष्टिकोण दिएका छन् भने, पूर्वीय परम्परामा कौटिल्य (चाणक्य) को अर्थशास्त्र असाधारण गहिराइ र यथार्थपरक दार्शनिक व्यावहारिक दृष्टान्त प्रस्तुत गर्ने ग्रन्थ हो (Kangle 1960)। कौटिल्यले शासनलाई केवल धर्म वा आदर्शमा सीमित नगरी विधि, न्याय र शक्ति-राजनीतिक समीकरणमा आधारित स्थिर समाज र सबल राज्यको परिकल्पना गरेका छन् (Boesche 2002)।

१. कौटिल्य र न्याय

कौटिल्यका लागि न्याय केवल अदालत वा दण्डद्वारा मात्र सुनिश्चित हुने कुरा होइन। उनका अनुसार न्याय भनेको पूर्वानुमानयोग्य, समान, धर्म र विधिमा आधारित शासन हो (Rangarajan 1992)।

 • अर्थशास्त्र मा न्यायलाई “राजधर्म” सँग जोडिएको छ, जसले जनतालाई समान अवसर, सुरक्षाको ग्यारेन्टी र अपराधको लागि निवारक दण्ड(Preventive) दिने व्यवस्था गर्छ।

 • उनले चार प्रमाण (प्रत्यक्ष, अनुमान, उपमान, शब्द) मार्फत सत्य पत्ता लगाउने कुरा न्याय प्रक्रियामा पनि जोडेको देखिन्छ।

 • आजको सन्दर्भमा, यो दृष्टि Rule of Law र Due Process of Law को प्रारम्भिक स्वरूप हो (Trautmann 2012)।

२. कौटिल्य र राजनीति:

कौटिल्यको राजनीति आदर्शवाद भन्दा बढी व्यावहारिक यथार्थवाद (Realism) मा आधारित छ।

 • राज्यलाई स्थिर राख्न राजा वा नेतृत्वकर्ताले शक्ति, नीति र संगठन प्रयोग गर्नुपर्छ भन्ने उनको मूल मान्यता हो (Boesche 2002)।

 • उनले शासनलाई सप्ताङ्ग राज्य (राजा, मन्त्री, क्षेत्र, दुर्ग, कोष, सेना, मित्र) को आधारमा परिभाषित गरेका छन्, जसमा शक्ति र संगठनात्मक स्थिरता अनिवार्य छ (Kangle 1960)।

 • राजनीति भनेको केवल नैतिकता होइन, हित र अस्तित्वको रक्षा हो । आजको संसारमा राजनीतिक स्थिरता र राष्ट्रनिर्माणमा यो दृष्टि अझै सान्दर्भिक छ, जहाँ नेताको सफलतामा नैतिकता मात्र होइन, रणनीति र कार्यक्षमता पनि आवश्यक मानिन्छ (Mabbett 1964)।

३. कौटिल्य र कूटनीति

कौटिल्यको मण्डल सिद्धान्त अन्तर्राष्ट्रिय सम्बन्धमा उनको असाधारण योगदान हो।उनले स्पष्ट पारेका छन् कि छिमेकी राज्य प्रायः शत्रु हुन्छ, शत्रुको शत्रु मित्र हुन्छ, र मित्रता वा विरोध शक्ति र स्वार्थ का आधारमा बदलिन्छ (Kangle 1960)।कूटनीतिक रणनीति-सन्धि (treaty), विग्रह (war), यान (march), आसन (wait), द्वैधीभाव (double policy), संश्रय (seeking protection) ले आजका foreign policy tools को खाका दिएको देखिन्छ (Boesche 2002)। आदर्शवाद भन्दा बढी Realpolitik मा आधारित यो दृष्टि आज पनि ठ्याक्कै विश्व राजनीतिमा प्रयोग भइरहेको छ ये चाहे अमेरिकाको Indo-Pacific Strategy होस्, चीनको Belt and Road Initiative होस्, वा भारतको Neighborhood First नीति (Subramanian 2020)।

आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध (IR) का Realist thinkers जस्तै Hans Morgenthau र Kenneth Waltz आदिले भनेको कुरा कौटिल्यले शताब्दीयौँ अघि नै प्रतिपादन गरेका थिए (Morgenthau 1948; Waltz 1979)।

४. अहिलेको विश्व सन्दर्भमा कौटिल्य

आजको विश्व बहुध्रुवीय (multipolar) बन्दै गएको छ, जहाँ शक्ति सन्तुलन (balance of power) र हितमा आधारित साझेदारी (interest-based alliances) नै कूटनीतिक सम्बन्धको मूल आधार बनेको छ (Kissinger 2014)। यसमा कौटिल्यको दृष्टि अझै यथार्थपरक देखिन्छ।न्यायमा - अन्तर्राष्ट्रिय न्यायालय, मानवअधिकार आयोग, र Rule of Law को विचार कौटिल्यको कानुनमा आधारित न्यायसँग मेल खान्छ।

 • राजनीतिमा - राष्ट्रवाद, शक्ति–केन्द्रित शासन र रणनीतिक हितमा आधारित नीतिहरू कौटिल्यकै व्यावहारिक सोचसँग मेल खान्छन् (Subramanian 2020)।

 • कूटनीतिमा - शक्ति र स्वार्थको समीकरणमा आधारित गठबन्धन (जस्तै NATO, BRICS, QUAD) कौटिल्यको मण्डल सिद्धान्तसँग प्रत्यक्ष तुलना गर्न सकिन्छ (Waltz 1979)।

 संक्षेपमा भन्दा कौटिल्यको अर्थशास्त्र केवल प्राचीन भारतीय राज्य-शास्त्र होइन, न्याय, राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धको स्थायी ग्रन्थ हो।न्यायमा  Rule of Law को आधार, राजनीतिमा यथार्थवाद र शक्ति सन्तुलन। र 

कूटनीतिमा - मण्डल सिद्धान्तद्वारा शक्तिमा आधारित सम्बन्ध।

आजको संसार, जहाँ आदर्शभन्दा बढी शक्ति, स्वार्थ र रणनीतिक हितले शासन र अन्तर्राष्ट्रिय सम्बन्ध निर्धारण गर्छ, कौटिल्य अझै समकालीन बिसंव कुटनीतिमा मार्गदर्शक बनेका छन् ।(Boesche 2002; Kissinger 2014)।

तिमल्सिना समावेशी आयोगाको पुर्व अध्यक्ष र सर्वोच्च अदालतको पुर्व रजिस्ट्रार हुनुहुन्छ 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.