२० असोज २०८२, सोमवार

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो  निर्वाचन तालिका


काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गतेको निर्वाचनको तालिका सार्वजनिक गरेको छ । जेन जी आन्दोलनबाट यस अघि २०७९ को निर्वाचन बाट निर्वाचित सरकार बिस्थापन भएपछि बनेको अन्तरिम सरकारले तोकेको प्रतिनिधि सभा  निर्वाचनको लागि निर्वाचन तालिका सार्वजनिक गरेको हो । निर्वाचन आयोगद्वारा आज सोमबार जारी प्रेस बिज्ञप्तिमा "सम्वत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले गर्नुपर्ने कार्यहरूलाई समयवद्ध रूपमा सञ्चालन गर्न आयोगबाट आज निर्वाचन कार्यतालिका स्वीकृत भएको छ।

स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ। फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ। फागुन २१ गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको छ। समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पौष १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको छ।

निर्वाचनमा राजनीतिक दल एवम् सरोकारवालासँगको समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आयोगले समय समयमा परामर्श तथा छलफल गर्नेछ।कार्यतालिकामा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म रहेको र आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले मिति २०८२/७/३० अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ" भनिएको छ ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.