२९ कार्तिक २०८२, शुक्रवार

मतदाता नामावली संकलन मंसिर ५ गते सम्म

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनको लागि मंसिर ५ गते सम्मको लागि समय थपेको छ । आयोगले  शुक्रबार एक सूचना जारी गरेर मंसिर ५ गतेसम्मको लागि समय थपेको हो । यस अघि कात्तिक ३० गतेसम्म मात्रै मतदाता नामावली संकलन गर्ने भनिएको थियो । मतदाता नामावली टिपाउनेको भिड बढेपछि निर्वाचन आयोगले घरबाटै आफ्नो नाम टिकाउन सक्ने व्यवस्था पनि गरेको छ । शुक्रबार जारी निर्वाचन आयोगको सूचनामा "मतदाता नामावली ऐन, २०७३ मा गरिएको संशोधन पश्चात् आयोगको मिति २०८२/६/९ को निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि २०८२/७/३० सम्मका लागि कायम गरिएकोमा कार्तिक २७ सम्म कुल २,५७,५०५ नयाँ मतदाताहरुले मतदाता नामावलीमा नाम दर्ता गराउनु भएको छ। यस अवधिमा मतदाता नामावलीमा नाम दर्ता गर्ने र सो कार्यमा सहयोग गर्ने सबैमा आयोग हार्दिक धन्यवाद व्यक्त गर्दछ।पछिल्लो समयमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकहरुको सहजता र सुविधाका लागि आयोगको मिति २०८२/७/२८ को निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि २०८२/८/५ सम्मका लागि थप गरिएको छ। थप गरिएको अवधिमा मतदाता नामावलीमा नामदर्ता गराउन राष्ट्रिय परिचय पत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेको Pre-registration System मार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औंठाछाप) दिएर सेवा लिन सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।

मिति २०८२/७/२९ शनिवार राष्ट्रिय परिचय पत्र नम्बर भएका सेवाग्राहीले http://applyvr.election.gov.np मार्फत आवेदन गर्न सकिने र राष्ट्रिय परिचय पत्र नम्बर नभएका सेवाग्राहीले सो दिन आवेदन गर्न नसकिने व्यहोरा जानकारी गराउँदै पहिले नै आवेदन पेश गरिसकेका नागरिकहरुलाई सम्बन्धित निर्वाचन कार्यालयमा गई जैविक विवरण दिने कार्य शनिवार समेत सुचारु रहने व्यहोरा जानकारी गराइन्छ। सम्बन्धित कार्यालयसँग सम्पर्क गरी (शनिवारको दिन समेत) जैविक विवरण दिने सेवा लिनुहुन सबै सेवाग्राहीलाई आयोग हार्दिक अनुरोध गर्दछ।

साथै शनिवारका दिन मतदाता नामावलीमा नाम दर्ताका लागि जैविक विवरण संकलन गर्ने सेवा पूर्ववत रुपमा संचालन हुन सबै प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुलाई जानकारी गराइन्छ" भनिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि २ लाख ८१ हजार एकसय २९ नयाँ मतदाता थपिएका छन् ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.