माघ १, काठमाडौं । थाइल्याण्डको उत्तर–पूर्वी क्षेत्रमा गुडिरहेको यात्रुवाहक रेलमाथि ठूलो निर्माण क्रेन खस्दा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन्। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।
स्थानीय समयअनुसार बिहान करिब ९ बजे बैंककबाट उबोन रात्चाथानीतर्फ जाँदै गरेको रेल दुर्घटनामा परेको हो। दुर्घटनाका बेला रेलमा १७१ जना यात्रु सवार थिए, जसमा अधिकांश विद्यार्थी र कामदार रहेका थिए।
निर्माण कार्यका क्रममा कंक्रिटको ठूलो भाग उठाइरहेको क्रेन अचानक सन्तुलन गुमाएर रेलमाथि खसेको बताइएको छ। क्रेनले रेललाई लिकबाट उतार्नुका साथै केही डिब्बाहरू किचेको थियो। तीमध्ये एउटा डिब्बामा आगलागीसमेत भएको थियो। प्रत्यक्षदर्शीका अनुसार कंक्रिटका टुक्रा खस्न थालेको केही सेकेन्डमै पूरै क्रेन रेलमाथि ढलेको थियो।
दुर्घटनामा एक वर्षको बच्चादेखि ८५ वर्षसम्मका यात्रु घाइते भएका छन्। बाँच्न सफल रेल कर्मचारी थिरासाक वोङसुङ्नर्नले क्रेन खस्नेबित्तिकै ठूलो आवाजसहित रेल थिचिएको र यात्रुहरू छरपस्ट भएको बताए।
थाइ स्टेट रेलवेले घटनाको गम्भीरता स्वीकार गर्दै निर्माण कम्पनीविरुद्ध कानुनी कारबाही अघि बढाउने घोषणा गरेको छ। निर्माण कार्यमा संलग्न ‘इटालियन–थाई डेभलपमेन्ट कम्पनी’ले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएको छ।
हाल घटनास्थलमा उद्धार कार्य सम्पन्न भइसकेको छ भने क्षतिग्रस्त रेलका डिब्बा हटाउने काम जारी छ। क्रेन दुर्घटनाको कारण पत्ता लगाउन प्राविधिक छानबिन सुरु गरिएको छ। यो दुर्घटनालाई थाइल्याण्डको हालसम्मकै सबैभन्दा गम्भीर रेल दुर्घटनामध्ये एक मानिएको छ। न्युज एजेन्सीहरुको सहयोगमा
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.