माघ २, सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–६ स्थित आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २८औँ वार्षिक साधारण सभा सफलताका साथ सम्पन्न गरेको छ।
वि.सं. २०५५ मा साविक थुम्पाखर क्षेत्रलाई केन्द्र बनाएर आसपासका पाँच गाविसलाई कार्यक्षेत्र निर्धारण गर्दै स्थापना गरिएको यस सहकारीले सुरुआती चरणमा २९ हजार रुपैयाँको शेयर पूँजीबाट सेवा सुरु गरेको थियो। स्थापनाको २८ वर्ष पूरा हुँदासम्म आइपुग्दा सहकारीले उल्लेखनीय संस्थागत विस्तार गर्दै हाल २ हजार ८ सय ४१ जना शेयर सदस्यलाई समेटेको छ। हाल यसको शेयर पूँजी २ करोड रुपैयाँभन्दा बढी पुगेको जानकारी सभामा प्रस्तुत गरियो।
साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा सहकारीले ४२ करोड रुपैयाँभन्दा बढीको वार्षिक कारोबार गरेको विवरण सार्वजनिक गरिएको थियो। साथै सहकारीले ४७ वटा विभिन्न समूह गठन गरी आर्थिक क्रियाकलापसँगै सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको जनाइएको छ।
सभा अवसरमा संस्थाको प्रगतिमा योगदान पुर्याएका सदस्यहरूलाई सम्मान गरिएको थियो। उत्कृष्ट बालबचतकर्ताका रूपमा युगेन भण्डारी, अनुतोष प्याकुरेल, युनिक कार्की र पाल्च्योर तामाङलाई सम्मान प्रदान गरियो। ज्येष्ठ नागरिक बचततर्फ कटकबहादुर खत्री, कर्णबहादुर नेपाली, मनमाया तामाङ र सानुकान्छी तामाङ सम्मानित भए।
त्यसैगरी असल कारोबारतर्फ रमिता आचार्य, निर्मला बस्नेत, मेहरमान विक, मनवती तामाङ, पेमडोल्मा तामाङ, गीता भण्डारी र गीता घतानीलाई कदर गरिएको थियो। संस्थागत व्यवस्थापनतर्फ ऋण उपसमितिका संयोजक मधुराम कार्की तथा सञ्चालक समितिको तर्फबाट सीता सुवेदीलाई सम्मान गरिएको जनाइएको छ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले निर्धारण गरेको नयाँ मापदण्डअनुसार यस वर्षदेखि सहकारीको साधारण सभा एकाइगत ढाँचामा आयोजना गरिएको हो। सोअनुसार एकाइ नम्बर–१ अन्तर्गत सुनखानी र एकाइ नम्बर–२ अन्तर्गत पाटीडाँडामा छुट्टाछुट्टै साधारण सभा सम्पन्न गरिएको संस्थाले जनाएको छ।
साधारण सभामा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, वडा अध्यक्ष चक्रबहादुर बस्नेत, संस्थाका पूर्व अध्यक्षहरू, संस्थापक सदस्यहरू तथा ठूलो संख्यामा शेयर सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.