१६ माघ २०८२, बिहिवार

मेलम्चीमा  एमाले अगुवा कार्यकर्ता भेला

माघ १५, मेलम्ची, सिन्धुपाल्चोक । नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा (ख) द्वारा मेलम्चीमा अगुवा कार्यकर्ता भेला सफलतापूर्वक सम्पन्न भएको छ। उक्त भेलाको अध्यक्षता प्रदेश सभा (ख) का संयोजक निर्मल बन्जाराले गर्नुभएको थियो भने मेलम्ची नगर कमिटी सचिव सालिकराम अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

भेलामा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन परिचालन समिति संयोजक हस्त पण्डित प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने केन्द्रीय सदस्य डोल्मा तामाङ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै जिल्ला कमिटी उपाध्यक्ष अर्जुन भण्डारी, जिल्ला कमिटी सचिव कृष्णगोपाल तामाङसहित अन्य जिल्ला कमिटी सदस्यहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका अगुवा कार्यकर्ताहरूको व्यापक सहभागिता रहेको जानकारी निर्वाचन परिचालन समिति सचिव कृष्णगोपाल तामाङले दिनुभएको हो।

भेलालाई सम्बोधन गर्दै परिचालन समिति संयोजक हस्त पण्डितले पार्टीविरुद्ध फैलाइएका भ्रमहरूको डटेर सामना गर्दै देशलाई अस्थिरता तर्फ धकेल्ने तत्वहरूलाई पराजित गर्नु र राष्ट्र निर्माणमा लाग्ने शक्तिलाई विजयी गराउनु एमाले कार्यकर्ताको प्रमुख दायित्व भएको बताउनुभयो। साथै उहाँले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनमा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई विजयी गराउन सम्पूर्ण कार्यकर्तालाई सक्रिय रूपमा लाग्न निर्देशन दिनुभयो।

उक्त कार्यक्रमबारे जानकारी दिँदै एमाले पाँचपोखरी थाङपाल गाउँपालिका सचिव सुशान बोम्जनले भेलाले कार्यकर्तामा नयाँ उत्साह र ऊर्जा थपेको बताउनुभयो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.