२४ माघ २०८२, शुक्रवार

पाँचपोखरी सिकाइ मेला–२०८२ सम्पन्न

२३ माघ, मेलम्ची, सिन्धुपाल्चोक । व्यवहारिक ज्ञानलाई स्थानीय सम्भावनासँग जोड्ने उद्देश्यसहित सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा आयोजना गरिएको पाँचपोखरी सिकाइ मेला–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ । “शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन : समृद्ध पाँचपोखरीको आधार” भन्ने नारासहित सम्पन्न मेलाले शिक्षा र स्थानीय विकासबीचको सम्बन्धलाई बलियो बनाएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा तथा श्री क्षेत्रपालेश्वरी माध्यमिक विद्यालयको सहकार्यमा सम्पन्न उक्त मेलाको उद्घाटन गाउँपालिका अध्यक्ष टासी लामाले गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले शिक्षालाई कक्षाकोठाभित्र मात्र सीमित नराखी सीप, व्यवहार र स्थानीय आवश्यकतासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । विद्यार्थीले विद्यालयमा आर्जन गरेको ज्ञान व्यवहारमा प्रयोग गर्न सके मात्र शिक्षाको वास्तविक मूल्य स्थापित हुने उहाँको भनाइ थियो । यस्ता सिकाइ मेलाले विद्यार्थीको सृजनशीलता उजागर गर्नुका साथै कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रसँग शिक्षालाई जोड्ने महत्वपूर्ण माध्यम बनेको अध्यक्ष लामाले उल्लेख गर्नुभयो ।

श्री क्षेत्रपालेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको मेलामा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले तयार पारेका शैक्षिक परियोजना, विज्ञान तथा प्रविधिसम्बन्धी सामग्री, कृषि उत्पादन, स्थानीय सीप र सिर्जनात्मक प्रस्तुतीहरू प्रदर्शनीमा राखिएका थिए । मेलाभर विद्यार्थीहरूको उत्साहपूर्ण र सक्रिय सहभागिता देखिएको थियो ।

विद्यालयका प्रधानाध्यापक भानुभक्त धितालका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास, प्रस्तुतीकरण सीप र व्यवहारिक ज्ञानमा उल्लेखनीय सुधार ल्याउँछ । पाठ्यक्रमलाई दैनिक जीवनसँग जोड्ने प्रभावकारी माध्यमका रूपमा सिकाइ मेलालाई उल्लेख गर्दै उहाँले यसले विद्यार्थीमा अनुसन्धान गर्ने सोच, नवीन विचार र नेतृत्व क्षमताको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

मेलाको अवलोकनका क्रममा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले स्थानीय तहमा शिक्षा, कृषि र पर्यटनलाई एकआपसमा जोड्ने यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव व्यक्त गरेका छन् ।

गाउँपालिकाले आगामी दिनहरूमा पनि व्यवहारिक सिकाइ, सीप विकास र स्थानीय समृद्धिलाई केन्द्रमा राखी यस्ता शैक्षिक गतिविधिहरूलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । प्रमुख अतिथिबाट रोबोटमार्फत रिबन काटी मेलाको उद्घाटन गरिएको थियो । मेलामा १० वटा माध्यमिक र ९ वटा आधारभूत विद्यालय गरी कुल १९ विद्यालयको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.