४ फागुन २०८२, सोमवार

“कैलाश–राक्सिराङ समृद्धि विशेष कार्यक्रम” ल्याउने प्रतिबद्धता

फागुन ४, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने कैलाश गाउँपालिका–अम्बाटारमा सोमबार चुनावी कार्यक्रम आयोजना गरेको छ। फागुन २१ गते तय भएको उपनिर्वाचनलाई लक्षित गर्दै एमाले उम्मेदवार महेश बर्तौला मतदातासँग भेटघाट र संवादमा सक्रिय देखिनुभएको छ।

कार्यक्रममा बोल्दै बर्तौलाले आफू बाहिरबाट ल्याइएको उम्मेदवार नभई स्थानीय परिवेशमै हुर्किएको व्यक्ति भएको उल्लेख गर्नुभयो। उहाँले क्षेत्रको भूगोल, सामाजिक बनोट र जनभावना राम्ररी बुझेको दाबी गर्दै मतदातासमक्ष विश्वासको अपिल गर्नुभयो। केही प्रतिस्पर्धी उम्मेदवारमाथि कटाक्ष गर्दै उहाँले स्थानीय यथार्थभन्दा टाढा रहेर राजनीति गर्न खोजिएको टिप्पणी गर्नुभयो।

उहाँले निर्वाचित भएमा “कैलाश–राक्सिराङ समृद्धि विशेष कार्यक्रम” सञ्चालन गरी गरिबी न्यूनीकरण, सडक तथा आधारभूत पूर्वाधार विस्तार, कृषि प्रवर्द्धन र रोजगारी सिर्जनामा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

एमालेकी केन्द्रीय सदस्य भारती पाठक ले मकवानपुरको दीर्घकालीन विकासका लागि बर्तौलाको नेतृत्व आवश्यक रहेको बताउनुभयो। उहाँले बर्तौलालाई इमानदार र जनतासँग नजिक रहने नेताका रूपमा प्रस्तुत गर्नुभयो।

त्यसैगरी, एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामा ले स्पष्ट कार्ययोजना र संसदीय अनुभवका कारण बर्तौला प्रभावकारी उम्मेदवार भएको धारणा राख्नुभयो।

निर्वाचन फोकल पर्सन आशिष अस्लामी का अनुसार चुनाव नजिकिँदै जाँदा एमालेको पक्षमा समर्थन बढ्दो क्रममा रहेको छ। उहाँले कानुनी पृष्ठभूमि र संसदीय अनुभवले उम्मेदवारलाई थप विश्वसनीय बनाएको बताउनुभयो।

एमाले नेता नरेन्द्र रिजाल ले आगामी निर्वाचनलाई विचार र स्थायित्वको पक्षमा जनमत अभिव्यक्त गर्ने अवसरका रूपमा चित्रण गर्नुभयो।

सभामा स्थानीय तथा जिल्ला तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अम्बाटार क्षेत्रमा आयोजित उक्त कार्यक्रमले निर्वाचन माहोललाई थप सक्रिय र उत्साहित बनाएको आयोजकहरूको भनाइ छ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.