हेटौंडा । यहाँ आयोजित एक कार्यक्रममा बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मीला नेपालले प्रदेशलाई खेलकुदमैत्री बनाउने स्पष्ट लक्ष्य सार्वजनिक गरेकी छन्। उनले प्रदेशभर खेलकुदका लागि अनुकूल वातावरण तयार पार्दै आवश्यक पूर्वाधार विस्तारमा विशेष ध्यान दिइने बताइन्। मकवानपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत हेटौंडा–१० स्थित टिसीएन चौरमा सुरु भएको प्रथम आमन्त्रित तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री नेपालले यस्तो धारणा राखेकी हुन्।
उनका अनुसार प्रदेश सरकारले नयाँ तथा प्रतिभाशाली खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्षम बनाउने योजना अघि बढाएको छ। साथै “एक स्थानीय तह, एक खेल पूर्वाधार” अवधारणालाई प्राथमिकतामा राखेर काम भइरहेको पनि उनले जानकारी दिइन्। निर्माणाधीन खेलकुद नीतिले खेलाडीको पहिचान, प्रोत्साहन र भविष्य सुनिश्चिततामा विशेष जोड दिने उनको दाबी छ।
मन्त्री नेपालले खेलकुदले युवालाई लागूपदार्थजस्ता विकृतिबाट टाढा राख्दै उनीहरूको ऊर्जा सकारात्मक दिशातर्फ मोड्ने भएकाले यस क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताइन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले झण्डा फहराउँदा सम्पूर्ण देश एकजुट हुने भावनाको विकास हुने उल्लेख गर्दै उनले राष्ट्रिय एकताका लागि खेलकुद महत्वपूर्ण माध्यम भएको स्पष्ट पारिन्।
उनले प्रदेश सरकार खेलाडीहरूको हितमा सधैं संवेदनशील रहेको बताउँदै नेपाल वीर गोर्खाली र सगरमाथाको देश मात्र नभई सक्षम खेलाडीहरूको देशका रूपमा पनि चिनिन सक्ने सम्भावना रहेको धारणा राखिन्। विगतमा खेलाडी व्यवस्थापनमा कमजोरी रहेको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधार गर्न कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाइन्।
खेलाडीहरूको भावना बुझेर आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले छिट्टै प्रदेशस्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरिने जानकारी दिइन्। युवाहरूको बढ्दो वैदेशिक पलायनलाई ध्यानमा राख्दै यस्ता प्रतियोगिताले उनीहरूलाई देशमै अवसर दिने विश्वास उनले व्यक्त गरिन्।
मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यका अनुसार प्रतियोगितामा ११ जिल्लाका टोलीहरूको सहभागिता रहेको छ र कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुनेछ। यसअघि राष्ट्रिय महिला भलिबल, जिल्लास्तरीय पुरुष भलिबल, ब्याड्मिन्टन, दौड तथा कराँते प्रतियोगिताहरू सम्पन्न भइसकेका छन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँसहित शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ। साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कार दिइने आयोजकले जनाएको छ। कार्यक्रममा प्रदेश खेलकुदका पूर्व बोर्ड सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद अध्यक्ष राजकुमार मोक्तानलगायतको उपस्थिति रहेको थियो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.