सुनकोसी । सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाउँपालिकाको वडा नम्बर ७ पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । आज २०८२ चैत १६ गते एक कार्यक्रमको आयोजना गरेर उक्त घोषणा भएको हो । उक्त कार्यक्रमले सुरक्षित मातृत्व, नवजात शिशुको संरक्षण र समग्र पोषण अवस्थाको सुधारप्रति स्थानीय तहको दृढ प्रतिबद्धता झल्काएको छ।
कार्यक्रम वडा नं. ७ का वडा अध्यक्ष ईश्वर तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो। गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने गाउँपालिका उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमका वक्ताहरूले पोषणमैत्री स्वास्थ्य सेवाको विस्तार, सुरक्षित प्रसूति सेवाको पहुँच, मातृ तथा शिशु मृत्युदर घटाउने उपाय, पोषण सुधार तथा जनचेतना अभिवृद्धिका विषयमा आफ्नो धारणा राख्नुभयो। उनीहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।
उक्त अवसरमा जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंसहित गाउँपालिका र वडा तहका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमले स्वास्थ्य र पोषणप्रति समुदायमा जागरूकता बढाउनुका साथै दीर्घकालीन रूपमा स्वस्थ अभ्यासहरू अपनाउन प्रेरित गरेको छ।
पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा स्वस्थ आमा र शिशु सुनिश्चित गर्दै समृद्ध समाज निर्माणतर्फको एक महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.