हेलम्बु । हेलम्बु गाउँपालिका–६ मा एचआइभी/एड्ससँग जोडिएका सामाजिक लाञ्छना र विभेद न्यूनीकरण गर्ने उद्देश्यले विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा, हेलम्बु गाउँपालिका र लाइफ भर्सेस एडिक्सनको सहकार्यमा सञ्चालन गरिएको हो।
कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला संस्था, सुरक्षा निकाय, सञ्चारकर्मी, एचआइभी प्रभावित व्यक्ति तथा उच्च जोखिममा रहेका समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एचआइभी/एड्सबारे समाजमा विद्यमान भ्रम, नकारात्मक दृष्टिकोण र विभेदकारी व्यवहार हटाई सचेतना विस्तार गर्ने मुख्य लक्ष्य राखिएको थियो।
हेलम्बु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईले एचआइभी संक्रमित नागरिकप्रति सम्मानजनक व्यवहार कायम गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले संक्रमित व्यक्तिको अधिकार संरक्षण र सामाजिक समावेशिताका लागि समुदाय, स्थानीय सरकार तथा सम्बन्धित निकाय एकजुट हुनुपर्ने धारणा राख्नुभयो।
इचोक आधारभूत स्वास्थ्य चौकीका प्रमुख बिदुर जोतिले एचआइभी संक्रमणको वर्तमान अवस्था, जोखिममा रहेका समूह, बचावटका उपाय तथा उपचार प्रक्रियाबारे जानकारी दिनुभयो। उहाँले समयमै परीक्षण तथा नियमित उपचार सेवामा पहुँच बढे संक्रमण नियन्त्रण प्रभावकारी बन्ने उल्लेख गर्नुभयो।
वडा नं. ६ का अध्यक्ष सन्चबहादुर तामाङले समाजमा अझै पनि एचआइभी/एड्सप्रति नकारात्मक सोच कायम रहेको भन्दै यस्ता कार्यक्रमले चेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले अब एचआइभी संक्रमितहरूले औषधि लिन चौतारा पुग्नुपर्ने बाध्यता हटाउने पहल गरिने जानकारी दिनुभयो। साथै, इचोक क्षेत्रमा संक्रमितको संख्या तुलनात्मक रूपमा बढी भएकाले उनीहरूलाई समूहमा संगठित गरी सशक्त बनाउने सुझाव पनि दिनुभयो।
उहाँले गाउँपालिकाको स्वास्थ्य शाखा, जनस्वास्थ्य कार्यालय तथा अन्य संघसंस्थासँग समन्वय गर्दै सीपमूलक तालिम र आयआर्जनका अवसरमार्फत प्रभावित व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन वडा कार्यालय प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। कार्यक्रममा प्रहरी, पत्रकार, शिक्षक तथा स्थानीय बासिन्दाहरूको सक्रिय उपस्थिति थियो। सहभागीहरूले एचआइभी/एड्ससम्बन्धी लाञ्छना र भेदभाव अन्त्य गर्न सामूहिक सचेतना र सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.