२८ चैत २०८२, शनिवार

कक्षा ८ को रिजल्ट : मेलम्चीमा ४५३ उत्तीर्ण , ११८ अनुत्तीर्ण, इन्द्रावतीमा १८७ उत्तीर्ण, १४० अनुत्तीर्ण, पाँचपोखरी थाङपालमा ३०३ उत्तीर्ण , १ अनुत्तीर्ण

मेलम्ची । मेलम्ची नगरपालिकामा कक्षा ८ को नतिजा सार्वजनिक, मेलम्ची -१० को दुबै विद्यालयको १००% ,समग्र उत्तीर्णदर ७९ प्रतिशत

मेलम्ची नगरपालिका ले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नगर शिक्षा शाखाद्वारा सार्वजनिक विवरणअनुसार यस वर्ष नगरभित्रका विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीमध्ये समग्रमा ७९ प्रतिशत उत्तीर्ण भएका छन् ।

नगरपालिकाका अनुसार कुल ५ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ४ सय ५३ जना उत्तीर्ण भएका छन् भने १ सय १८ जना अनुत्तीर्ण भएका छन्। नतिजाले नगरभित्रको शैक्षिक अवस्थाको समग्र चित्र प्रस्तुत गरेको छ ।

नतिजा अनुसार केही विद्यालयहरूले शतप्रतिशत नतिजा निकाल्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । कुल ३० विद्यालय मध्य ११ वटा विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् । 

 मेलम्ची १० का दुवै विद्यालय श्री शितलादेवी माध्यमिक विद्यालय र श्री भुमेस्थान आधारभुत विद्यालयले राम्रो जिपिए सहित सत प्रतिशत उतिर्ण नतिजा ल्याउन सफल भएको छ। गत बर्ष see     सितलादेवीले नगरको सामुदायिक बिद्यालय मध्य सत प्रतिशत नतिजा ल्याएको थियो ।सरस्वती माध्यमिक विद्यालय,जाल्पदेवी माध्यमिक विद्यालय,हैबुङमहादेवस्थान माध्यमिक विद्यालय,थानाभन्ज्याङ आधारभूत विद्यालय,जलवाइदेवी माध्यमिक विद्यालय,सातकन्या माध्यमिक विद्यालय,क्यौलेठाना आधारभुत विद्यालय,प्रगति अंग्रेजी माध्यमिक विद्यालय उच्च जिपिए र मेलम्ची कम्युनिटि माध्यमिक विद्यालयको राम्रो जिपिए सहित शत प्रतिशत नतिजा रहेको मेलम्ची नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

 यता केही विद्यालयहरूको नतिजा तुलनात्मक रूपमा कमजोर देखिएको छ, जसले शिक्षण सिकाइ प्रक्रिया सुधार गर्न थप ध्यान दिनुपर्ने संकेत गरेको छ। विशेषगरी कम उत्तीर्णदर भएका विद्यालयहरूमा विद्यार्थी सिकाइ उपलब्धि वृद्धि गर्न लक्षित कार्यक्रम आवश्यक देखिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले नतिजाको आधारमा आगामी दिनमा विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक क्षमता विकास, तथा विद्यार्थी केन्द्रित सिकाइ प्रणालीलाई अझ प्रभावकारी बनाउने योजना बनाएको जनाएको छ ।

स्थानीय स्तरमै कक्षा ८ को परीक्षा सञ्चालन र मूल्याङ्कन गरिँदै आएकोमा यस वर्षको नतिजाले समग्र शैक्षिक सुधारतर्फ सकारात्मक संकेत दिएको सरोकारवालाहरूको भनाइ छ ।

त्यसैगरी इन्द्रावती गाउँपालिकाले पनि ८ कक्षा को रिजल्ट सार्वजनिक गरेको छ । 

इन्द्रावती गाउँपालिकाले आधारभूत तह (कक्षा ८) अन्तिम परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले सार्वजनिक गरेको विवरणअनुसार यस वर्ष समग्रमा ५७ दशमलव १९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

कुल ३ सय २७ जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये १ सय ८७ जना उत्तीर्ण भएका छन् भने बाँकी विद्यार्थी अनुत्तीर्ण भएका छन्। नतिजाले गाउँपालिकाभित्रको शैक्षिक अवस्थाको मिश्रित चित्र प्रस्तुत गरेको छ।

नतिजाअनुसार जनसुधार आधारभूत विद्यालय र कमलादेवी माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउँदै उत्कृष्ट प्रदर्शन गरेका छन्। ती विद्यालयले उच्च जिपिएसहित सबै विद्यार्थी उत्तीर्ण गराउन सफल भएका हुन्।

त्यसैगरी, औसेलुखर्का माध्यमिक विद्यालय, जलेश्वर आधारभूत विद्यालय, परोपकार आधारभूत विद्यालय, सेतीदेवी माध्यमिक विद्यालय लगायतका विद्यालयहरूले पनि उल्लेखनीय नतिजा हासिल गरेका छन्।

यता केही विद्यालयहरूको उत्तीर्णदर भने कमजोर देखिएको छ। विशेषगरी महेन्द्र माध्यमिक विद्यालय, सरस्वती आधारभूत विद्यालय लगायतका विद्यालयमा न्यून उत्तीर्णदर देखिएकाले शिक्षण सिकाइ प्रक्रियामा थप सुधार आवश्यक देखिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले आगामी दिनमा कमजोर नतिजा भएका विद्यालयहरूमा विशेष शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने, शिक्षक क्षमता विकासमा जोड दिने तथा विद्यार्थी केन्द्रित सिकाइ प्रणालीलाई अझ प्रभावकारी बनाउने योजना बनाएको छ।

स्थानीय स्तरमै परीक्षा सञ्चालन र मूल्याङ्कन गरिँदै आएकोमा यस वर्षको नतिजाले शैक्षिक सुधारतर्फ केही सकारात्मक संकेत देखिए पनि समग्र गुणस्तर वृद्धि गर्न अझै प्रयास आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

पाँचपोखरी थाङपालमा कक्षा ५ को नतिजा सार्वजनिक, उत्तीर्ण प्रतिशत ९९.६७

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले आधारभूत तह (कक्षा ८) को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गाउँपालिका अन्तर्गत सञ्चालित विद्यालयहरूमा २०८२ चैत ११ देखि १८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।

गाउँपालिकाका अनुसार परीक्षामा कुल ३०४ जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ३०३ जना उत्तीर्ण भएका छन्। यससँगै गाउँपालिकाको समग्र उत्तीर्ण प्रतिशत ९९.६७ रहेको छ ।

विद्यालयगत विवरण अनुसार श्री लागर्चे माध्यमिक विद्यालयले सबैभन्दा उच्च ३.७८ जीपीए प्राप्त गर्दै पालिकाभर उत्कृष्ट नतिजा हासिल गरेको छ । त्यसैगरी अन्य विद्यालयहरूले पनि सन्तोषजनक नतिजा ल्याएका छन् ।

गाउँपालिकाले नतिजालाई सकारात्मक रूपमा लिँदै शैक्षिक गुणस्तर सुधारतर्फ थप पहल गर्ने जनाएको छ । नतिजा सार्वजनिक गर्दै पालिकाले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बधाईसमेत दिएको छ ।









सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.