२३ वैशाख २०८३, बुधवार

सुकुटेमा पर्यटकको गोपनीयता उल्लङ्घनप्रति व्यवसायीको आपत्ति, भ्रामक सामग्री रोक्न चेतावनी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा पछिल्लो समय केही व्यक्तिहरूले पत्रकारको आवरणमा रिसोर्टभित्र प्रवेश गरी पर्यटकहरूको गोपनीयता उल्लङ्घन गर्ने र भ्रामक सामग्री सामाजिक सञ्जालमा फैलाउने गतिविधि बढेको भन्दै व्यवसायीहरूले गम्भीर आपत्ति जनाएका छन्।

सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै अनुमति बिना रिसोर्टको संवेदनशील क्षेत्रमा प्रवेश गर्ने, पाहुनाहरूको तस्बिर तथा भिडियो खिच्ने र त्यसलाई अतिरञ्जित ढङ्गले प्रचार गर्ने कार्य अमर्यादित तथा गैरकानुनी भएको उल्लेख गरेको छ। यस्ता गतिविधिले सुकुटे मात्र नभई समग्र देशकै पर्यटन क्षेत्रको छविमा नकारात्मक असर पार्ने सङ्घको भनाइ छ।

सुनकोशी नदी किनारमा अवस्थित सुकुटे क्षेत्र पछिल्ला वर्षहरूमा प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै आएको छ। यहाँका होटल तथा रिसोर्टहरूले आन्तरिक र बाह्य पर्यटकलाई सेवा प्रदान गर्दै स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएका छन्। यस क्षेत्रलाई चौतारा साँगाचोकगढी नगरपालिकाले ‘पर्यटन क्षेत्र’ का रूपमा समेत घोषणा गरिसकेको छ।

विज्ञप्तिमा सबै व्यवसायीहरूले प्रचलित कानुन तथा नियमको पूर्ण पालना गर्दै सेवा सञ्चालन गरिरहेको जनाइएको छ। आवश्यक जानकारीका लागि सम्बन्धित निकाय वा प्रहरीमार्फत आधिकारिक सूचना लिन आग्रह गरिएको छ।

त्यस्तै, तथ्यहीन समाचार तथा भिडियो सामग्री सम्प्रेषण गरी व्यवसायीहरूलाई हतोत्साहित गर्ने गतिविधि तुरुन्त बन्द गर्न चेतावनी दिइएको छ। कसैको व्यक्तिगत गोपनीयतामा हस्तक्षेप गर्ने वा झुटा सामग्री फैलाउने व्यक्तिहरूविरुद्ध साइबर अपराध सम्बन्धी कानुनी कारबाही अघि बढाइने सङ्घले जनाएको छ ।  सुकुटे क्षेत्रको शान्त, सुरक्षित र मर्यादित वातावरण जोगाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, सञ्चारकर्मी तथा नागरिक समाजको सहकार्य आवश्यक रहेको पनि बिज्ञप्तिमा भनिएको छ । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.