६ कार्तिक २०८३, बिहिवार

पुर्व राष्ट्रपति  विद्यादेवी भण्डारी चीन भ्रमणमा

कृजल नेपाल, ५ कात्तिक काठमाडौं । पुर्व राष्ट्रपति  विद्यादेवी भण्डारीको पहिलो चीन भ्रमण पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रियस्तरको ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन चीन प्रस्थान गर्नु भएको छ। नेकपा एमालेको वरिष्ठ नेताको जिम्मेवारीमा पुगेपछि उनको यो पहिलो चीन भ्रमण हो। यस भ्रमणलाई एमाले वृत्तमा समेत चासोका साथ हेरिएको छ।

चीनको हुबेई प्रदेशस्थित स्योङआनमा आयोजना हुने उक्त फोरम अक्टोबर २३ देखि २५ सम्म सञ्चालन हुनेछ। ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मुख्य विषयवस्तु रहेको सम्मेलनमा भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

विश्वव्यापी शासन प्रणाली, अन्तर्राष्ट्रिय सहकार्य र बदलिँदो भूराजनीतिक परिस्थितिका विषयमा केन्द्रित सम्मेलनमा विभिन्न मुलुकका प्रतिनिधिहरूबीच छलफल हुनेछ। अक्टोबर २४ र २५ मा समानान्तर सत्र, प्यानल बहस तथा गोलमेच बैठक आयोजना गरिने कार्यक्रम छ।

सम्मेलनमा संयुक्त राष्ट्रसङ्घमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई प्रभावकारी बनाउने उपाय, विश्व शान्ति कायम गर्ने प्रयास, शान्ति स्थापनाका संयन्त्रमा आवश्यक सुधार तथा बहुपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयले प्राथमिकता पाउनेछन् । साथै, अन्तर्राष्ट्रिय मामिलामा विकासशील राष्ट्रहरूको बढ्दो प्रभाव र विश्व व्यापारमा ‘ग्लोबल साउथ’का देशहरूको भूमिकाबारे पनि विचारविमर्श हुनेछ।

जलवायु परिवर्तनबाट उत्पन्न चुनौती, हरित अर्थतन्त्रको विकास, न्यून कार्बन उत्सर्जनमा आधारित विकास प्रणाली तथा दिगो विकासका एजेन्डासमेत सम्मेलनका प्रमुख विषय रहनेछन्। यसका अतिरिक्त कृत्रिम बौद्धिकता (एआई) र साइबर स्पेससँग सम्बन्धित अवसर तथा चुनौतीबारे पनि छलफल गरिने बताइएको छ।

पूर्वराष्ट्रपति भण्डारीको यो भ्रमण राजनीतिक र कूटनीतिक दृष्टिले चासोपूर्ण मानिएको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा प्रस्तुत गर्ने अवसरका रूपमा समेत यसलाई हेरिएको छ। उहाँ आगामी सोमबार नेपाल फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.