कुलबहादुर आचार्य , ५ कात्तिक, काठमाडौं। छपियाको सङ्घर्षदेखि काठमाडौँको बजारसम्म छपियाको इतिहास, किसानको परिश्रम र नेपाली माछाको स्वादः-
छपिया केवल एउटा बस्ती होइन, यो सङ्घर्ष, श्रम, साहस र आत्मनिर्भरताको जीवन्त इतिहास हो।
रूपन्देही जिल्लाको सियारी गाउँपालिका वडा नं. ४ र ५ मा अवस्थित छपिया बर्माबाट छ दशक अघि नेपाल फर्किएर आएका नेपालीहरूको ऐतिहासिक बस्ती हो। तत्कालीन श्री ५ को सरकारले बर्माबाट आएका नेपालीहरूलाई जग्गा वितरण गरी बसोबासको व्यवस्था गरेपछि यो बस्ती विकास भएको हो। छपिया मेरो हुर्के बढेको प्रारम्भिक शिक्षा हासिल गरेकोभूमि, कर्मभूमि र बाल्यकालका अनगिन्ती स्मृतिहरू गाँसिएको ठाउँ हो। यहीँ म हुर्किएँ, बढ़ें र पढ़ें। त्यसैले छपियाको इतिहास सम्झंदा त्यहाँका मानिसहरूको दुःख, सङ्घर्ष र सफलताको
कथा मेरो आफ्नै जीवनसँग जोडिएर आउँछ।घनघोर जङ्गलबाट मानव बस्ती निर्माण :-आजको छपिया र त्यसबेलाको छपियाबीच आकाश जमिनको फरक छ। कुनै समय यहाँ घनघोर जङ्गल थियो। बर्मामा ब्रिटिस शासनकालमा विकसित सुविधासम्पन्न वातावरणमा घरबार बसाएर बसेका नेपालीहरू आफ्नो पुख्र्यौली देशको माया बोकेर नेपाल फर्किएका थिए। तर, उनीहरूले कल्पना गरेको सहज जीवन यहाँ थिएन। उनीहरूका अगाडि जङ्गल फँडानी गरेर बस्ती बसाउने, जमिन आवाद गर्ने र परिवारको भविष्य निर्माण गर्ने ठूलो चुनौती थियो।
त्यसबेला न पर्याप्त खानेपानीको सुविधा थियो, न बिजुलीको। रात परेपछि टुकी बालेर बस्नुपर्थ्यो। बाघ, भालु, चितुवा जस्ता हिन्सक जङ्गली जनावरको त्रास थियो। बाघसँग जम्काभेट हुँदा रुख चढेर ज्यान जोगाएका मानिसहरू पनि छपियामा थिए। विषालु सर्पको डसाइबाट ज्यान गुमाउने र समयमै उपचार नपाएर अकालमै मृत्यु हुने मानिसहरूको पीडा पनि त्यहाँको इतिहासमा जोडिएको छ।
कृषि पूर्णतः आकाशे पानीमा निर्भर थियो। बाँदर र जङ्गली गाईले बाली नष्ट गरिदिन्थे। अनेक दुःख गरेर उब्जाएको अन्नले
परिवारलाई छ महिना पनि खान नपुग्ने अवस्था थियो। बाँकी समय परिवारको खर्च जुटाउन ज्याला मजदुरी गर्नुपर्ने, दाउरा बेच्न दाउराको भारि पिठ्युमा बोकेर भैरहवा बजारसम्म पुऱ्याउनु पर्ने बाध्यता थियो।
तर, कठिनाइले छपियालीबासीको साहसलाई परास्त गर्न सकेन। वर्षोंको निरन्तर मेहनत, त्याग र पसिनाबाट उनीहरूले जङ्गललाई खेतीयोग्य जमिनमा रूपान्तरण गरे, घर बनाए र एउटा व्यवस्थित बस्तीको जग बसाले। बालबालिकाका लागि बिद्यालयको स्थापना गरे। चारै प्ल्ट कृष्णपुर शिवपुर दुर्गापुर सिद्धपुर चारै ठाउंमा देबी देउताका मन्दिर स्थापना गरे र गाउंको नाम पनि तिनै देबी देउताका नाम बाट नमाकरण गरे यिनै मन्दिर भएका ठाउंमा सबै छपिया बासी भेला हुन्छन पुजा आजा गर्छन र एकता सदभाव प्रकट गर्छन। यस बर्षको अर्थात २०८३ को बढा दशैंमा पनि दुर्गापुरको पाञ्चायन दुर्गा मन्दिरमा नौरथाभरी भब्य प्रबचन भजन किर्तनका साथ दुर्गापुजा गरिएको छ। यसको जग पनि हाम्रा अग्रजहरुले बसाउनु भएको हो।
सिँचाइ सुविधाले बदलिएको किसानको जीवन:-
छपियाको आर्थिक इतिहासमा सिँचाइ सुविधाको सुरुवात एउटा महत्त्वपूर्ण मोड थियो। वि.सं. २०२३/०२४ तिर भैरहवा लुम्बिनी
भुमिगत जलपरियोजना (भैलुभुज) ले छपियामा डिप बोरिङ गाड्ने र नहर निर्माण गर्ने काम सुरु गरेपछि कृषिमा नयाँ सम्भावनाको ढोका खुल्न थाल्यो।
सिँचाइ सुविधा उपलब्ध भएपछि खेतीपातीको उत्पादन बढ्यो।
किसानहरूले परम्परागत खेतीसँगै जमिनको उपयोग गर्ने नयाँ उपाय खोज्न थाले। यही क्रममा खेतबारीमा पोखरी खन्ने र व्यावसायिक रूपमा माछापालन गर्ने अभ्यास सुरु भयो।
माछापालनले छपियाका किसानको आर्थिक जीवनमा उल्लेखनीय परिवर्तन ल्यायो। पहिले परिवार पाल्नसमेत कठिन हुने किसानहरू क्रमशः व्यावसायिक कृषितर्फ अघि बढ्न थाले। पोखरीहरू आम्दानीका स्रोत बने। किसानको जीवनस्तर सुधारिँदै गयो र छपिया माछापालनको परिचित केन्द्रका रूपमा विकसित हुँदै गयो।
यस परिवर्तनको पछाडि किसानहरूको निरन्तर परिश्रम, नयाँ प्रविधि अपनाउने साहस र सामूहिक प्रयासको ठूलो योगदान छ।
किसानको माछालाई बजारसँग जोड्दै जलदेवी मत्स्य उत्पादक सहकारी संस्था लि.
आज छपियामा उल्लेख्य सङ्ख्यामा माछापालक किसान छन्। उनीहरूको उत्पादनलाई व्यवस्थित गर्ने, बजारसम्म पुऱ्याउने र
किसानलाई उचित व्यावसायिक अवसर उपलब्ध गराउने उद्देश्यले छपियाका माछा पालक किसान कृष्ण बहादुर बस्नेतको नेतृत्वमा स्थापना गरेको जलदेवी मत्स्य उत्पादक सहकारी संस्था लिमिटेड क्रियाशील छ।
नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सहयोग प्राप्त गरी सहकारीले अत्याधुनिक ब्लास्ट फ्रिजिङ प्लान्ट स्थापना गरेको छ। यसले माछालाई सुरक्षित रूपमा प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्ने अवसर सिर्जना गरेको छ।
सहकारीले किसानबाट माछा खरिद गर्छ, आवश्यक प्रशोधन गर्छ, प्याकेजिङ गर्छ र बजारसम्म पुऱ्याउने व्यवस्था मिलाउँछ। यसबाट किसानको उत्पादनलाई व्यवस्थित बजार उपलब्ध गराउन र उपभोक्तासम्म गुणस्तरीय उत्पादन पुऱ्याउन सहयोग पुगेको छ।
यो केवल माछाको व्यापार होइन; यो किसानको मेहनतलाई सम्मान गर्ने, कृषि उत्पादनको मूल्य अभिवृद्धि गर्ने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने अभियान पनि हो।
छपियाको माछा अब काठमाडौँको बजारमाः-
छपियाको उत्पादनलाई काठमाडौँका उपभोक्तासम्म पुऱ्याउने
उद्देश्यले जलदेवी मत्स्य उत्पादक सहकारी संस्था लिमिटेड र नेपाल टेलिकमका कर्मचारीहरूद्वारा सञ्चालित धनसार बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा प्रवर्धित धनसार मार्टबीच सहकार्यको सम्झौता भएको छ।
यस सहकार्यले छपियाका किसानको उत्पादन र काठमाडौँको बजारबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने नयाँ बाटो खोलेको छ। यसै अभियानलाई अघि बढाउँदै काठमाडौँको भद्रकाली प्लाजास्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयअगाडि खाद्य संस्थानको गोदामघर भाडामा लिएर धनसार मार्ट प्रा.लि. सञ्चालनमा ल्याइएको छ। यहाँ छपियामा उत्पादित तथा प्रशोधित ब्लास्ट फ्रोजन माछा उपलब्ध छ।
यो पहलले छपियाका किसानलाई बजार विस्तार गर्न सहयोग पुऱ्याउनुका साथै काठमाडौँका उपभोक्तालाई नेपाली उत्पादनको माछा सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ।
कस्ता माछा पाइन्छन्?
धनसार मार्टमा उपभोक्ताको रुचि र आवश्यकतालाई ध्यानमा राखेर विभिन्न प्रकारका प्याकेटबन्द माछा उपलब्ध छन्।
पंगास माछाः काँडा नहुने भएकाले खान सजिलो ।
सिल्भर कार्पः स्वाद र परिकारको विविधताका लागि उपयुक्त।
मिक्स माछाः रोहु, नैनी र ग्रास कार्पको मिश्रण।
यी माछा आधा केजी र एक केजीका प्याकेटमा उपलब्ध छन्। ब्लास्ट फ्रोजन प्रविधिबाट प्रशोधन गरिएका माछालाई उपयुक्त तापक्रममा सुरक्षित राखी उपभोक्तासम्म पुऱ्याउने उद्देश्य राखिएको छ।
नेपाली उत्पादनको प्रयोग गरौं, किसानलाई प्रोत्साहन गरौं
छपियाको आजको अवस्था त्यहाँका अग्रजहरूले गरेको त्याग, किसानहरूले बगाएको पसिना र समयसँगै अपनाइएको प्रविधिको परिणाम हो। घनघोर जङ्गल फँडानी गरेर बस्ती बसाउने पुस्तादेखि आधुनिक प्रविधिबाट माछापालन गर्ने आजका किसानसम्मको यो यात्रा साँच्चै प्रेरणादायी छ। आज छपियाको माछा काठमाडौँसम्म आइपुग्नु एउटा उत्पादनको बजार विस्तार मात्र होइन, गाउँको मेहनतलाई सहरसँग जोड्ने अभियान हो। किसानको उत्पादनले बजार पाउनु, उपभोक्ताले स्वदेशी उत्पादन रोज्नु र कृषि व्यवसायले
दिगो विकासको बाटो समात्नु-यी सबै एकअर्कासँग जोडिएका विषय हुन्।
आउनुहोस्, नेपाली उत्पादनलाई माया गरौं। स्वदेशी माछा सेवन गरौं। नेपाली किसानको मेहनतलाई सम्मान गरौं।
छपियाको पोखरीमा किसानले गरेको परिश्रमको स्वाद तपाईंको भान्सासम्म पुऱ्याऔं।
छपियाको माछा – नेपाली किसानको पसिना, स्वदेशी उत्पादनको पहिचान !
उपलब्धताः धनसार मार्ट प्रा.लि., भद्रकाली प्लाजा, नेपाल टेलिकमको केन्द्रीय कार्यालयअगाडि, काठमाडौँ । आचार्य छपिया समाज काठमाडौंको अध्यक्ष हुनुहुन्छ
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.