९ असोज २०८२, बिहिवार

चुनौती भित्रको उपलब्धिका लागि संघर्ष गर्दै आएको हाम्रो गौरवशाली इतिहास

ईश्वरी रिजाल 

विन्स्टन चर्चिल वेलायतका एक चर्चित राजनीतिज्ञ हुन्। उनले भनेका छन्, एक निराशावादी मानिसले उपलब्धिको थुप्रोमा पनि चुनौतीको पहाड देख्छ र त्यसतर्फ पिठ्युँ फर्काउँछ। तर आशावादी मानिसले चुनौतीको थुप्रोमै उपलब्धिको पहाड देख्छ र साहसपूर्वक अगाडि बढेर इतिहास रच्छ।

संसारमा आज देखिएका सबै परिवर्तनहरू चुनौतीसँग सामना गर्दै सम्भव भएका हुन्। त्यसैले मानिससँग विकल्प दुईवटा मात्र हुन्छन्।

चुनौतीसँग सामना गर्ने वा भाग्ने, जोखिम देख्दा पनि साहसी कदम चाल्ने वा डरले शीर झुकाउने, निदाएको अवस्थाबाट व्युँझिने वा उठिरहेकै बेलामा सिरानीमा शीर थमाउने।

यस्तो मनोद्वन्द्वमा मानिसले लिएको दृढ अठोट र लगावकै कारण इतिहास अगाडि बढ्छ। संसारमा भएको प्रत्येक ठूलो परिवर्तन चुनौतीसँगको संघर्षको नतिजा हो। यही सन्दर्भमा हेर्दा नेकपा (एमाले) को इतिहास पनि पटक–पटकका अप्ठ्यारा चुनौतीसँग सामना गरेरै निर्मित भएको हो भन्ने कुरा विगत इतिहासले बताउँछ।

(क) तत्कालीन झापा विद्रोहमाथि पञ्चायतले आततायी दमन गर्‍यो। नेतृत्वलाई थुन्ने र हत्या गर्ने जस्ता धरपकड भयो। त्यसले विद्रोहलाई छिन्न-भिन्न बनायो। शुरुवाती बेला पार्टीमा ठूलो चुनौती खडा भयो। तर, त्यस चुनौतीको सामना गरेपछि २०३२ सालमा को-अर्डिनेशन केन्द्र बन्यो। त्यो क्रम अगाडि बढ्दै जाँदा २०३५ सालमा नेकपा (माले) गठन भयो। यसरी नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टीको मूल धार जन्म भयो।

(ख) नेकपा (माले) भित्र विचारधारात्मक, संगठनात्मक र संघर्षसम्बन्धी तीब्र बहस भयो। बहसकै दौरान २०३९ सालमा नेतृत्व पनि परिवर्तन भयो। त्यतिखेर विचारधारात्मक बहससँगै पार्टीको आन्तरिक जीवनमा विकराल चुनौतीहरू खडा भए। ती चुनौतीहरुको डटेर सामना गर्दा २०४६ सालको चौथो महाधिवेशनले वामपन्थी शक्ति र नेपाली काँग्रेससँग मिलेर संयुक्त जन आन्दोलन गरि पञ्चायती व्यवस्थाको अन्त्य गर्ने नीति पारित गर्‍यो। फलस्वरूप नेपालमा पञ्चायति व्यवस्थाको अन्त्य  र बहुदलीय व्यवस्था स्थापना भयो। उक्त महाधिवेशनले नयाँ जनवादी व्यवस्थामा बहुदलीय प्रणाली अपनाउने निर्णय गरि जबजको वीजारोपन गर्‍यो। जननेता मदन भण्डारी जस्तो व्यक्तित्वलाई नेतृत्वमा चयन गरी नयाँ युग निर्माण गर्ने दिशा अवलम्बन गर्‍यो।

(ग) सन् १९९०/९१ का बेला विश्वस्तरबाट कम्युनिष्ट विचार अन्त्य भएको घोषणा गरियो। रूस र पूर्वी युरोपका कम्युनिष्ट सत्ताहरू ढले। नेपालमा पनि त्यसको प्रभाव पर्‍यो र यहाँको विसर्जनवादी तथा जडस्रोतवादी प्रवृत्तिलाई प्रोत्साहण  मिल्यो। यी घटनाहरूले नेपालमा गम्भीर चुनौती खडा गर्‍यो। यस चुनौतीहरूको डटेर सामना गर्दा २०४९ को पाँचौ महाधिवेशनबाट जननेता मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको मौलिक सिद्धान्त प्रतिपादन गरियो।

(घ) २०४८ सालमा नेपाली कांग्रेसको सरकार बन्यो। त्यसपछि कर्मचारी र शिक्षकलाई अपायक ठाउँमा सरुवा गरियो। विपक्षीहरूलाई झूटो मुद्दा लगाइयो। देशमा “सबै काँग्रेस, नेपाली, सबै नेपाली काँग्रेस” बनाउने अभियान चलाइयो। यी कार्यहरूले खडा गरेको चुनौतीसंग सामना गर्दा नेकपा (एमाले) पार्टीको विचार, संगठन र प्रभाव  राष्ट्रब्यापी बन्यो। 

(ङ) २०५० साल जेठ ३ गते जननेता मदन भण्डारी र जीवराज आश्रीतको रहस्यमय हत्या भयो। त्यसपछि बनेको मुल नेतृत्वको क्षमतामा अकुशलता प्रकट भयो। यो अवस्था जुलेबी खाएको जिब्रोमा चिया खाँदा हुने खल्लोपनझैँ थियो। यसबाट खडा भएको चुनौतीको सामना गर्दा २०५१ सालमा भएको मद्यावधि निर्वाचनमा एमालेले ठूलो पार्टीको हैसियत प्राप्त गर्‍यो। अल्पमतको सरकार बनाएर नेपालमा ग्रामीण विकासको र लोककल्याणकारी राज्यको नमूना देशमा प्रस्तुत गर्‍यो।

(च) २०५४ सालमा पार्टी विभाजन भयो। त्यसपछि एकातिर पार्टी छाड्नेहरूको ताँती लाग्यो। अर्कोतिर पार्टी निर्माण, परिचालन र संरक्षण जस्ता गतिविधि गर्दा भौतिक हमला समेत भोग्नु पर्‍यो। यस्ले खडा गरेको चुनौती सामना गर्दा फुटेर जानेहरूलाई जिरो सिटमा सीमित गराई फुटको औचित्य समाप्त पारेर पार्टी एकीकरण गर्नु पर्ने बाध्यता सिर्जना गराउन सफल भयो।

(छ) २०५२ सालमा सुरु भएको माओवादी युद्धले गम्भीर समस्या ल्यायो। हत्या, अपहरण, चन्दा असुली, गाउँ निकाला, अङ्ग-भङ्ग, कुटपिट जस्ता आतङ्ककारी गतिविधि भए। यसैबीच पार्टीभित्र डर-त्रास र आतङ्क फैलियो र व्यापक पलायनता देखा पर्‍यो। यी सबै घटनाले खडा गरेको चुनौतीको  सामना गर्दा नेकपा माओवादी पार्टीलाई नेकपा (एमाले) कै बाटो अपनाएर शान्तिपुर्ण गतिविधिमा अवतरण गराउन सफल भयो।

(ज) २०५९ सालदेखि सुरु भएको तत्कालीन राजा ज्ञानेन्द्रको प्रतिगमनले माघ १९ सम्म आइपुग्दा विकराल रूप लियो। त्यसपछि व्यापक मात्रामा राज्य आतङ्क शुरु गर्‍यो। निरंकुशताको दमनले सीमा नाघ्यो। यस घटनाले खडा गरेको चुनौती र त्यसको सामना गर्दा मुलुकबाट राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न पार्टी सफल भयो।

(झ) २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टीलाई अनपेक्षित मत परिणाम प्राप्त भयो। त्यससँगै पार्टीको मूल नेतृत्वमा पलायनवादी प्रवृत्ति देखा पर्‍यो। यी घटनाबाट खडा भएको चुनौतीको सामना गर्दा २०७० को निर्वाचनमा नेकपा माओवादी पार्टीलाई उसको असली हैसियत अनुसारको साइजमा सीमित गराउन सफल भई नेकपा (एमाले) लाई  पहिलो कम्युनिष्ट शक्तिको हैसियतमा स्थापित गर्न सफल भइयो।

(ञ) २०७२ साल असोज ३ गते जननिर्वाचित संविधानसभाले नेपालको संविधान जारी गर्‍यो। त्यसैका कारण नेपालले भारतीय नाकाबन्दीको पीडा भोग्नु पर्‍यो। यस घटनाले देशमा गम्भीर चुनौती खडा गर्‍यो र त्यसको सामना गर्दा नेपाल भुपरिवेष्ठितबाट भुजडित अबस्थामा स्थापित गर्न सफल भइयो।

(ट) २०७४ साल जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी) का वीच एकता भएर नेकपा बन्यो। त्यसपछि पार्टी भित्र चरम अवसरवाद पलायो । एकताको मूल घटक एमालेको नेतृत्वमाथि कारबाही गरियो। पार्टीका केन्द्रदेखि जिल्ला तहका सबै कार्यालयहरु र सम्पत्ति कब्जा गर्ने दुस्साहस गरियो। यी सबै गतिविधिले खडा गरेको चुनौतीको सामना गर्दा नेकपा (एमाले) लाई साविक अवस्थामा स्थापित गर्न सफल भइयो।

(ठ) हालसालै जेन्जी पुस्ताको नाममा घटाइएको घटनाले देश, पार्टी र हामी सबैमा ठूलो चुनौती खडा गरेको छ। मुलधारका दलमाथि भौतिक प्रहार भएको छ। संविधानलाई औचित्यहिन बनाउन सुरु गरिएको छ। नेताहरूको घर, पार्टी कार्यालय, संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत लगायतका भवन जलाइएका छन्। निजी क्षेत्रका अरबौंको सम्पत्ति नष्ट गरिएको छ। वैदेशिक हस्तक्षेपका लागि अनुकुल वातावरण बनाउने षड्यन्त्र भइरहेको छ। देशलाई पूर्ण प्रतिगमनतर्फ लैजाने प्रयास जारी रहेको अनुभूति गर्न सकिन्छ।

अब यी चुनौतीहरुको सामना गर्न विचारमा स्पष्टता, संगठनमा एकता, कार्यशैलीमा विनम्रता र काममा गतिशीलता आवश्यक छ। मुलुकका राजनीतिक दलहरू जस्ले, नेपालको संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्न पहल गर्छन्, उनीहरू सितको सहकार्य आजको चुनौतीसँग सामना गर्ने मुख्य साधन हो। यी साधनबाट हामीले विगतका उपलब्धिभन्दा अझ ठूलो उपलब्धिको साध्य प्राप्त गर्न सक्छौं ! रिजाल नेकपा एमालेको पोलिट्ब्यूरो सदस्य हुनुहुन्छ 


सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.