२९ चैत २०८२, आइतवार

कवयित्री विमुन्स पौडेल का दुई कृति तथा उपन्यासकार एन आर भट्ट 'अनार' को उपन्यास ‘खाम’ सार्वजनिक

सन्तोष बोहोरा, काठमाडौं । राजधानी काठमाडौँमा एक विशेष साहित्यिक समारोहबीच कवयित्री विमुन्स पौडेल का दुई कृति तथा उपन्यासकार एन आर भट्ट 'अनार' को उपन्यास ‘खाम’ सार्वजनिक गरिएको छ । दुई दशकदेखि कविता र गजल लेखनमा सक्रिय रहँदै आएकी कवयित्री विमुन्स पौडेलका ‘सकस’ र ‘नसुनिने आवाज’ शीर्षकका कविता सङ्ग्रहहरू एक औपचारिक कार्यक्रमबीच लोकार्पण गरिएका हुन्। कार्यक्रम जे पी प्रतिष्ठान की अध्यक्ष सकुन्तला दाहाल को अध्यक्षतामा तथा भाषाविद् मुकुन्द शरण उपाध्याय को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

भाटभटेनीस्थित टङ्गालको राधाकृष्ण मन्दिर परिसरमा आयोजित कार्यक्रममा पानसमा दीप प्रज्वलन, स्वस्तिवाचन तथा राष्ट्रिय गानसँगै औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा विभिन्न बौद्धिक तथा साहित्यिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

कार्यक्रमका क्रममा ‘नसुनिने आवाज’ कृतिमाथि पुरुषोत्तम दाहाल ले समीक्षात्मक टिप्पणी गर्दै कवितामा सामाजिक यथार्थ, जीवनदर्शन र संवेदनशील भावहरू सशक्त रूपमा अभिव्यक्त भएको बताए। त्यस्तै रत्नमणि नेपाल ले ‘सकस’ तथा ‘नसुनिने आवाज’ दुबै कृतिमा कवयित्रीको धाराप्रवाह अभिव्यक्ति र समाजलाई ऐना देखाउने क्षमताको प्रशंसा गरे।

यसै अवसरमा उपन्यासकार एन आर भट्ट ‘अनार’को ‘खाम’ पनि सार्वजनिक गरिएको थियो, जसमा भुवन बोहरा ले पाठकीय धारणा प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न कविहरू—कल्पना भट्टराई, सरस्वती अर्याल, निश्चल पराजुली र कविराज भट्ट—ले कविता वाचन गरेका थिए।

कार्यक्रमको सञ्चालन कवि तथा शिक्षाविद् रत्न बिरही घिमिरे ले गरेका थिए। शुभकामना मन्तव्यका क्रममा लक्ष्मी प्रसाद पराजुली र बैकुण्ठ भण्डारी ले साहित्यिक यात्रालाई निरन्तरता दिन सुझाव दिएका थिए।

नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा सम्पन्न उक्त कार्यक्रममा गुरु बराल, शैलेन्दु प्रकाश नेपाल र केशव पाठक लगायतका व्यक्तित्वहरूले पनि शुभकामना व्यक्त गरेका थिए।

कवयित्री विमुन्स पौडेलका कृतिहरूले व्यक्तिगत तथा सामाजिक जटिलता, मौन आवाज र मानवीय अनुभूति उजागर गर्ने प्रयास गरेका छन् भने ‘खाम’ उपन्यासले रहस्य, पीडा र प्रतिवादको कथा प्रस्तुत गरेको बताइएको छ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विमुन्स पौडेलले लेखन यात्राका उतारचढाव र सहयोगी व्यक्तित्वप्रति आभार व्यक्त गरिन्। त्यस्तै एन आर भट्ट ‘अनार’ले ‘खाम’ को सिर्जनात्मक पृष्ठभूमिबारे चर्चा गरेका थिए।

समापनका क्रममा प्रमुख अतिथि मुकुन्द शरण उपाध्यायले साहित्यमा साधना, भाषाको मर्यादा र नेपाली भाषाको विकासमा योगदान दिन आग्रह गरे भने सभापति सकुन्तला दाहालले धन्यवाद ज्ञापनसहित कार्यक्रम सम्पन्न भएको घोषणा गरिन्।

वसन्त ऋतुको सन्दर्भमा आयोजित यस कार्यक्रममा साहित्यकारहरूले कवयित्री विमुन्सको साहित्यिक उचाइ उच्च रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले नेपाली छन्द कविता परम्परालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.