कृष्णकुमारी खतिवडा
दाइजो होइन प्रेमको बन्धन,
यो त पीडाको गहिरो घाउ हो,
जहाँ छोरीलाई बोझ ठानिन्छ,
त्यो समाजकै ठूलो अभाव हो।
बिहेको नाममा किन व्यापार?
किन सम्बन्धमा मूल्य तोकिन्छ?
मायाको डोरी पैसाले नापिँदा,
मानवता नै किन हराउँछ?
परिवर्तन मनबाट सुरु होस्,
लोभलाई टाढा हटाऔँ,
छोरा–छोरी बराबर हुन् भन्ने,
सोचलाई बलियो बनाऔँ।
शिक्षाले चेतना जगाओस्,
अधिकारको आवाज उठाओस्,
दाइजो माग्ने हातहरूलाई,
समाजले खुला विरोध गराओस्।
कानूनले पनि कडाइ गरोस्,
अन्यायलाई थाम्न अघि बढोस्,
दोषीलाई सजाय दिँदा मात्र,
गलत प्रथा मेटिन थालोस्।
बुबाआमाले साहस गरून्,
छोरीलाई बोझ नठानून्,
दाइजो होइन, शिक्षा र सम्मान,
सबैभन्दा ठूलो धन मानून्।
युवा पुस्ता अघि बढोस्,
दाइजोबिना विवाह गरून्,
उदाहरण बनेर समाजमा,
नयाँ बाटो देखाउन सकून्।
आऊ, मिलेर आवाज उठाऔँ,
यो कुप्रथा अन्त्य गराऔँ,
जहाँ छोरी गर्वको कारण बनोस्,
त्यहीँ साँचो समाज बसाऔँ। खतिवडा राष्ट्रिय महिला आयोगकी सदस्य हुनुहुन्छ
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.