सरस्वती गौतम, पोर्चुगल । पोर्चुगलको राजधानी लिस्बनमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति पोर्चुगलको आयोजनामा ‘प्रथम मोना कप’ खुला फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भयो। प्रतियोगिता भिक्टोरिया क्लब डे लिस्बनको मैदानमा सञ्चालन गरिएको थियो।
कार्यक्रम संघका अध्यक्ष तिलक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा दर्शन नेपाल फुड स्टोरका सञ्चालक सूर्य हमाल उपस्थित थिए। यसका साथै एनआरएनएका उपाध्यक्षहरू शुरेश बिष्ट र बिबेक श्रेष्ठ, मोनाका संरक्षक तथा एनआरएनएका युवा संयोजक रबिन पुन, नेप्लिज वुमन एसोसिएसन पोर्चुगलकी महासचिव तथा साहित्यकार सरस्वती गौतम, प्रवासी नेपाली मञ्चका अध्यक्ष दीपक खत्री लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
युवा संयोजक केशव पुर्जाको समन्वयमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव कृष्ण मल्ल ठकुरी र कुम पाइजाले गरेका थिए। प्रतियोगितामा कुल १२ टोलीको सहभागिता रहेको थियो, जसले खेललाई निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाएको थियो।
खेलकै क्रममा नेप फेम एफसीका खेलाडी काजी गुरुङ घाइते भई केही समय खेल स्थगित समेत गरिएको थियो।
फाइनलमा पोखरा एफसी र ट्रिपल टी एफसी आमनेसामने भएका थिए। रोमाञ्चक प्रतिस्पर्धापछि ट्रिपल टी एफसी विजयी बन्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो भने पोखरा एफसी उपविजेतामा सीमित रह्यो। विजेता टोलीले ५००० युरो नगदसहित ट्रफी प्राप्त गर्यो भने उपविजेताले २५०० युरो नगदसहित ट्रफी हात पार्यो।
त्यसैगरी, मोनाका क्षेत्रीय अध्यक्ष छबिलाल रोकाले घाइते खेलाडीको उपचारका लागि कार्यक्रम स्थलमै सहयोग रकम संकलन गरिएको जानकारी दिएका छन् र थप सहयोगका लागि सम्पूर्ण क्लब तथा संघ–संस्थालाई अपिल गरेका छन्।
कार्यक्रमको समापनमा आयोजकले कार्यक्रम सफल बनाउन योगदान दिने सम्पूर्ण अतिथि, खेलाडी, सहयोगी तथा दर्शकप्रति आभार व्यक्त गरेको थियो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.