५ वैशाख २०८३, शनिवार

मदन भण्डारी मेमोरियल कलेजमा चिनियाँ प्रतिनिधि टोलीको भ्रमण

कृजल नेपाल, काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजमा नवीन ऊर्जा सवारी साधनको मर्मत तथा प्राविधिक सहकार्यलाई अघि बढाउने उद्देश्यसहित चिनियाँ प्रतिनिधि टोलीले दोस्रो पटक भ्रमण गरेको छ। चीनको अटोमोटिभ मेन्टेनेन्स एण्ड रिपेयर ट्रेड एसोसिएसन (कामरा) सँगको साझेदारीलाई कार्यान्वयनतर्फ लैजाने क्रममा भएको यो भ्रमणले परियोजनालाई थप गति दिएको बताइएको छ।

यसअघि गत वर्ष आयोजित एक औपचारिक कार्यक्रममा दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको थियो। सोही सम्झौताको आधारमा अघि बढाइएको सहकार्यलाई व्यवहारिक रूपमा अगाडि बढाउने क्रममा चिनियाँ टोली पुनः कलेज पुगेको हो। भ्रमणका क्रममा टोलीले कलेजका कक्षा कोठा, प्राविधिक प्रयोगशाला तथा उपलब्ध पूर्वाधारहरूको विस्तृत अवलोकन गरेको थियो।

भ्रमण अवधिभर दुवै पक्षबीच विभिन्न विषयमा गहन छलफल तथा अन्तरक्रिया पनि गरिएको थियो। कलेज प्रशासनका अनुसार यो सहकार्यले नेपाली विद्यार्थीहरूलाई आधुनिक प्रविधि र सवारी साधन मर्मतसम्बन्धी ज्ञान चिनियाँ विशेषज्ञसँग प्रत्यक्ष रूपमा सिक्ने अवसर प्रदान गर्नेछ। साथै, यसले भविष्यमा रोजगारीका अवसर र उद्यमशीलताका सम्भावनालाई समेत विस्तार गर्ने अपेक्षा गरिएको छ।

उक्त भ्रमणमा फोटोन इन्टरनेशनल अटोमोबाइल कम्पनी लिमिटेडका सर्भिस निर्देशक चेन हाओ, नेपाल सेल्स कम्पनीका महाप्रबन्धक लिउ झोङयाङ, चीन अटोमोबाइल मर्मतसम्भार उद्योग संघका प्रतिनिधिहरू वान वेन्जुआन र कङ वेन्जिङ, साथै उत्तर अन्तर्राष्ट्रिय परीक्षा केन्द्रका प्रतिनिधिहरू यु वेइगुओ र म्यागी कोङको उपस्थिति रहेको थियो।

त्यसैगरी कलेज व्यवस्थापन पक्षबाट डा. कैलाश भण्डारी, कलेज प्रमुख डा. बाबुराम अधिकारी, शैक्षिक सहायक प्रमुख प्रज्वलमान श्रेष्ठ, प्रशासनिक सहायक प्रमुख डा. तारा प्रसाद गौतम तथा मदन भण्डारी मेमोरियल माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल न्यौपाने सहभागी भएका थिए।

समग्रमा, यो दोस्रो चरणको भ्रमणले चलिरहेको परियोजनालाई अझ मजबुत बनाउने, विद्यार्थीहरूका लागि व्यवहारिक सिकाइका अवसर विस्तार गर्ने र भविष्यमा रोजगारी तथा नवप्रवर्तनका सम्भावनालाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.