२७ चैत २०८२, शुक्रवार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र पोर्चुगलमा नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान

 सरस्वती गौतम, लिस्बन, पोर्चुगल । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र पोर्चुगलले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा प्रसाद ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। अजुदा, लिस्बनमा आयोजित उक्त कार्यक्रममा पोर्चुगलस्थित नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, आध्यात्मिक साधक तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र पोर्चुगलकी मुख्य सञ्चालक बी.के. मारा सिस्टर, पोर्तोकी राजयोग प्रशिक्षक बी.के. एलिना सिस्टर, बी.के. सिल्भिया सिस्टर, ब्रदर क्लाउडिओ तथा ब्रदर मोनेलको विशेष उपस्थिति रहेको थियो। नेपाली राजयोग सिस्टर तारा न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रमकी प्रमुख अतिथि समाजसेवी, साहित्यकार तथा पत्रकार सरस्वती गौतम रहनुभएको थियो।

त्यसैगरी, नेप्लिज वुमन एसोसिएसन पोर्चुगलकी अध्यक्ष गीता रेउले, एनआरएनए आईसीसी सदस्य तथा संस्थाकी पूर्व अध्यक्ष शान्ति अर्याल, गैरआवासीय नेपाली संघ पोर्चुगलकी अध्यक्ष दीपा काफ्ले, लमजुङ समाज पोर्चुगलकी उपाध्यक्ष देवी घिमिरे, जनप्रगतिशील मञ्च पोर्चुगलका प्रतिनिधिहरू नृपेश गिरी र हरिशचन्द्र पोखरेल लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय रह्यो। कार्यक्रमको सञ्चालन नेपाली राजयोग प्रशिक्षक शान्ता घिमिरे थापाले कुशलतापूर्वक गर्नुभएको थियो।

कार्यक्रमको सुरुवात बालिका आयुश्री पराजुलीको स्वागत नृत्यबाट भएको थियो, जसले उपस्थित सबैलाई मन्त्रमुग्ध बनायो। त्यसपछि विपना कँडेलले आफ्नो कलात्मक प्रस्तुति मार्फत वातावरणलाई अझ रमाइलो बनाएकी थिइन्।

उक्त अवसरमा सहभागीहरूले एकअर्काबीच नयाँ वर्षको शुभकामना साटासाट गर्दै शान्ति, सद्भाव र आत्मिक उन्नतिको कामना गरेका थिए। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष बमबहादुर जिसीले पनि शुभकामना सन्देश पठाएर कार्यक्रमप्रति ऐक्यबद्धता जनाउनुभएको थियो।

कार्यक्रमका क्रममा ब्रह्माकुमारी राजयोग केन्द्रका प्रतिनिधिहरूले राजयोग साधना, आत्मचिन्तन, सकारात्मक सोच र मानसिक शान्तिको महत्वबारे प्रकाश पार्दै सहभागीहरूलाई ध्यान अभ्याससमेत गराएका थिए।

प्रमुख अतिथि सरस्वती गौतमले आफ्नो मन्तव्यमा ब्रह्माकुमारी राजयोगलाई “निःशुल्क आध्यात्मिक विश्वविद्यालय” को संज्ञा दिँदै यसले मानिसलाई आत्मपहिचान, आत्मशुद्धि र जीवनको वास्तविक उद्देश्य बुझ्न महत्वपूर्ण मार्गदर्शन प्रदान गर्ने बताउनुभयो। उहाँले वर्तमान समयको तनाव, लोभ, क्रोध र अहंकारले भरिएको जीवनशैलीमा राजयोगले मानसिक शान्ति, सकारात्मक ऊर्जा र सन्तुलित जीवन जिउन प्रेरणा दिने धारणा राख्नुभयो।

कार्यक्रमको समापन गर्दै सभापति तारा न्यौपानेले आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै ब्रह्माकुमारीसँगको यात्राले आफ्नो जीवनमा ल्याएको सकारात्मक परिवर्तनबारे भावुक अभिव्यक्ति दिनुभयो। कठिन परिस्थितिमा रहेका आफ्ना साथीहरूसँगै आफू अध्यात्मको मार्गमा प्रवेश गरेको र त्यसपछि जीवनले नयाँ दिशा पाएको उल्लेख गर्दै उहाँले सबैलाई राजयोग साधनाको मार्ग अपनाउन आग्रह गर्नुभयो।

अन्त्यमा सहभागी सबैलाई प्रसाद वितरण गरिएको थियो। आयोजक शान्ता घिमिरे थापाका अनुसार, यस्ता कार्यक्रमहरूले विदेशमा रहेका नेपालीहरूबीच आपसी एकता, भाइचारा र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै आध्यात्मिक चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँछन्।

कार्यक्रम सफल बनाउन आकर्षक ब्यानर डिजाइन सहयोग गर्ने shreeyanme का प्रोप्राइटरद्वय श्रीया र अजितप्रति पनि आयोजकले विशेष धन्यवाद व्यक्त गरेका छन्।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.