मदन भण्डारी बौद्धिक मञ्चको आयोजनामा भएको राजनीतिक छलफलमा एमालेको पार्टी स्कुल बिभाग देखि पार्टी रुपान्तरण , पुस्तान्तरण र वामपन्थी सहकार्यसम्मका विषयमा छलफल
काठमाडौं । नेकपा (एमाले) निकट मदन भण्डारी बौद्धिक मञ्चको आयोजनामा आयोजित राजनीतिक छलफलमा जनताको बहुदलीय जनवाद (जवज), एमालेको संगठनात्मक अवस्था, पार्टी स्कुल, नेतृत्व पुस्तान्तरण, राजनीतिक संस्कृति तथा आगामी राजनीतिक सहकार्यका विषयमा गम्भीर छलफल भएको छ।
छलफल कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै एमाले नेता गुरु बरालले राजनीतिमा दर्शन, सिद्धान्त, दीर्घकालीन कार्यक्रम, वर्तमान कार्यक्रम र ती आधारमा निर्माण भएको संगठनको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। उहाँले कुनै पनि राजनीतिक पार्टीको सफलता केवल तत्कालीन राजनीतिक गतिविधिले मात्र निर्धारण नहुने भन्दै त्यसका पछाडि स्पष्ट दर्शन, सिद्धान्त, दीर्घकालीन लक्ष्य र त्यसलाई कार्यान्वयन गर्ने सुदृढ संगठन आवश्यक पर्ने धारणा राख्नुभयो।
बरालले जनताको बहुदलीय जनवादले उठाएका विषय र यसका विशेषताहरूलाई एमालेले पर्याप्त रूपमा आत्मसात् गर्न नसकेको टिप्पणी गर्नुभयो। उहाँले जवजका थप १४ विशेषतामाथि गम्भीर अध्ययन र अनुसन्धान गरी शोधपत्रहरु तयार गर्न मदन भण्डारी बौद्धिक मञ्चले पहल गर्नुपर्ने बताउनुभयो।
उहाँका अनुसार जवज केवल राजनीतिक कार्यक्रम वा निर्वाचनमा प्रतिस्पर्धा गर्ने विषय मात्र नभई राजनीतिक, सामाजिक, सांस्कृतिक र संगठनात्मक जीवनसँग जोडिएको व्यापक अवधारणा हो। त्यसैले जवजका विभिन्न पक्षमाथि अध्ययन, अनुसन्धान र बहसलाई थप व्यापक बनाउनुपर्ने उहाँको भनाइ थियो।
‘जवजको सांस्कृतिक पक्ष घायल भएको छ’
बरालले एमालेभित्र जनताको बहुदलीय जनवादको सांस्कृतिक पक्ष कमजोर तथा विभिन्न ठाउँबाट ‘शिकार’ भएको टिप्पणी गर्नुभयो। उहाँले जवजको राजनीतिक पक्षबारे चर्चा भए पनि त्यसले निर्माण गर्न खोजेको राजनीतिक संस्कृतिलाई व्यवहारमा स्थापित गर्न नसकिएकोमा चिन्ता व्यक्त गर्नुभयो।
राजकीय जिम्मेवारीमा पुगेका नेताहरूको आचरण र व्यवहारलाई जवजको दृष्टिकोणबाट हेर्दा विभिन्न प्रश्न उठ्ने गरेको उहाँले बताउनुभयो। राजकीय जिम्मेवारीमा पुगेपछि बेदाग रूपमा पार्टीमा फर्किन नसक्नु र त्यस्ता विषयमा कार्यकर्ताले आफ्ना नेतासँग प्रश्न गर्न नसक्नु एमालेभित्रको गम्भीर समस्या भएको उहाँको भनाइ थियो।
‘जवजको संस्कृति कतै घायल भएको छ, कतै शिकार भएको छ,’ उहाँले भन्नुभयो, ‘अब जवजको संस्कृतिलाई पुनर्जे एवन्त दिन आवश्यक छ।’ उहाँले पार्टीभित्र आलोचना, आत्मालोचना र नेतृत्वलाई प्रश्न गर्न सक्ने संस्कृतिको विकास हुनुपर्नेमा जोड दिनुभयो। नेता तथा कार्यकर्ताले जवजका मूल्य, मान्यता र संस्कृतिलाई व्यवहारमै लागू गर्न सके मात्र त्यसको राजनीतिक औचित्य स्थापित हुने उहाँको धारणा थियो।
‘एमालेको पार्टी स्कुल निकै कमजोर भयो’
बरालले एमालेको पार्टी स्कुल विभाग पनि अपेक्षाअनुसार प्रभावकारी बन्न नसकेको बताउनुभयो। पार्टी स्कुलले वैचारिक रूपमा प्रशिक्षित, राजनीतिक रूपमा प्रतिबद्ध र व्यवहारमा अनुशासित नेता तथा कार्यकर्ता उत्पादन गर्नुपर्ने भए पनि त्यसतर्फ पर्याप्त काम हुन नसकेको उहाँको टिप्पणी थियो।
उहाँले इँटालाई उदाहरण दिँदै पार्टी स्कुलले नेता तथा कार्यकर्तालाई लामो समयसम्म वैचारिक र राजनीतिक प्रशिक्षण दिएर बैचारिक रूपमा बलियो बनाउनुपर्ने बताउनुभयो।
‘एउटा इँटालाई २२ दिनसम्म इँटाभट्टामा पोलेपछि सयौँ वर्षसम्म बलियो हुने बनाइन्छ,’ उहाँले भन्नुभयो, ‘पार्टी स्कुल विभागले पनि त्यस्तै गरी नेता तथा कार्यकर्ता निर्माण गर्न सक्नुपर्छ।’
बरालले पार्टी सदस्यता नवीकरणको समय पूरा नहुँदै यति प्रतिशत सदस्यले नवीकरण गरे भनेर प्रचार गर्नु पार्टीको आन्तरिक विषयलाई कमजोर ढंगले सार्वजनिक भएको टिप्पणी गर्नुभयो। पार्टीका आन्तरिक प्रक्रिया र अवस्थाबारे सञ्चार माध्यममा सूचना दिँदा त्यसले पार्टीलाई नै नकारात्मक असर पार्न सक्ने उहाँको भनाइ थियो।
‘कम्युनिस्ट आन्दोलन कमजोर पार्ने विदेशी डिजाइन बुझ्नुपर्छ’
बरालले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने विदेशी शक्तिहरूको डिजाइन रहेको दाबी गर्दै त्यसलाई सबै नेता तथा कार्यकर्ताले बुझ्नुपर्ने बताउनुभयो।
उहाँले विदेशी शक्तिकेन्द्रहरूले नेपालको विभिन्न निकाय र व्यक्तिहरूमा लगानी गरेर आफ्ना स्वार्थअनुकूलका ‘एजेन्ट’ उत्पादन गरेको आरोप लगाउनुभयो। त्यस्ता व्यक्तिहरूले देशका विभिन्न क्षेत्रमा प्रभाव विस्तार गर्दै देश सञ्चालनमा समेत भूमिका खेलिरहेको उहाँको दाबी थियो।
नेपालको राजनीतिक स्वाधीनता र राष्ट्रिय हितको संरक्षणका लागि यस्ता बाह्य प्रभावबारे पार्टीभित्र गम्भीर अध्ययन र बहस हुनुपर्ने उहाँले बताउनुभयो।
‘एमालेका नेता–कार्यकर्ता रूपान्तरणकारी बन्नुपर्छ’
बरालले एमालेका नेता तथा कार्यकर्ता सुधारवादी र उदारवादीभन्दा रूपान्तरणकारी र आमूल परिवर्तनकारी बन्नुपर्नेमा जोड दिनुभयो।
उहाँले पार्टीका नेता तथा कार्यकर्तामा वैचारिक दृढता, राजनीतिक प्रतिबद्धता र समाज रूपान्तरण गर्ने दृष्टिकोण आवश्यक रहेको बताउनुभयो। केवल पद, निर्वाचन र सरकारमा सहभागितालाई राजनीतिक उपलब्धिको आधार बनाउने प्रवृत्तिले पार्टीको मूल उद्देश्य कमजोर बनाउन सक्ने उहाँको भनाइ थियो।
मदन भण्डारी बौद्धिक मञ्चले एमाले र जवजसँग सम्बन्धित कमीकमजोरी पहिचान गरी त्यसलाई सच्याउने अभियान सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो।
बैंक तथा ऋणसम्बन्धी विषय संसदमा उठाउनुपर्नेमा जोड
बरालले पछिल्लो समय एमालेका सांसदहरूले संसदमा बैंक तथा ऋणसम्बन्धी विभिन्न मुद्दा उठाइरहेको पनि जानकारी गराउनुभयो।
उहाँले बैंकको ऋण तिर्न नसक्दैमा ऋणीलाई तत्काल कालोसूचीमा राख्ने व्यवस्था उचित नभएको बताउनुभयो। बैंकले ऋण प्रवाह गर्दा ऋणभन्दा बढी मूल्यको धितो लिने गरेको भन्दै आर्थिक कठिनाइका कारण ऋण तिर्न नसकेको व्यक्तिलाई कालोसूचीमा राखेर थप संकटमा पार्न नहुने उहाँको भनाइ थियो।
त्यस्तै, बैंकले ऋणको ब्याज लिइसकेपछि विभिन्न नाममा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गर्नुपर्नेमा पनि पहल भइरहेको उहाँले बताउनुभयो।बैंकले धितो लिलाम गर्दा पहिले गरिएको मूल्यांकनभन्दा कम मूल्यमा लिलाम गर्न नहुने, लिलाम नभएर बैंक आफैँले धितो सकार गरेको अवस्थामा पहिलो पक्षले उक्त धितो सकार्न प्रयास गरिरहेसम्म तेस्रो पक्षलाई बिक्री गर्न नहुनेजस्ता व्यवस्था लागू गर्न पहल भइरहेको उहाँले जानकारी दिनुभयो।
वामपन्थीसँग कार्यगत एकता, कांग्रेससँग सहकार्य कायम राख्नुपर्ने
बरालले अन्य राजनीतिक दलसँगको सम्बन्धका विषयमा पनि आफ्नो धारणा राख्नुभयो। उहाँले वामपन्थी शक्तिहरूसँग आवश्यकताअनुसार कार्यगत एकता गर्दै अघि बढ्नुपर्ने बताउनुभयो।
त्यस्तै, नेपाली कांग्रेससँगको सहकार्य पनि कायम राख्नुपर्ने उहाँको धारणा थियो। राजनीतिक परिस्थितिअनुसार विभिन्न शक्तिसँग सहकार्य, प्रतिस्पर्धा र कार्यगत एकताको नीति लिनुपर्ने उहाँले बताउनुभयो।
बौद्धिक मञ्चले अनुसन्धान र वैचारिक बहसलाई प्राथमिकता दिनुपर्ने
कार्यक्रममा सहभागीहरूले मदन भण्डारी बौद्धिक मञ्चले केवल राजनीतिक गतिविधिमा सीमित नभई वैचारिक अध्ययन, अनुसन्धान, प्रकाशन र बहसलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए। विशेषगरी जनताको बहुदलीय जनवादको समकालीन सान्दर्भिकता, यसको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक पक्ष तथा व्यवहारमा कार्यान्वयनका क्रममा देखिएका समस्या र कमजोरीबारे अनुसन्धान गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
छलफलमा एमालेका निवर्तमान केन्द्रीय सदस्य बाबुराम थापा, मदन भण्डारी बौद्धिक मञ्चका निवर्तमान अध्यक्ष कुलबहादुर आचार्यलगायतका नेता तथा कार्यकर्ताले विभिन्न विषयमा सुझाव राखेका थिए।
कार्यक्रममा सहभागीहरूले पार्टीको वैचारिक आधारलाई थप स्पष्ट बनाउने, जवजको व्यवहारिक कार्यान्वयन गर्ने, संगठनलाई चुस्त र प्रभावकारी बनाउने तथा नयाँ पुस्तालाई वैचारिक रूपमा प्रशिक्षित गर्दै नेतृत्व विकासमा जोड दिनुपर्ने बताएका थिए।
मदन भण्डारी बौद्धिक मञ्चका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद ढकालको अध्यक्षता तथा सचिव लक्ष्मणबहादुर रायमाझीको सञ्चालनमा छलफल कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा वक्ताहरूले एमालेको आगामी राजनीतिक यात्रालाई वैचारिक रूपमा बलियो बनाउन जनताको बहुदलीय जनवादको गहिरो अध्ययन र व्यवहारिक प्रयोग आवश्यक रहेकोमा जोड दिएका थिए। साथै पार्टीभित्र देखिएका वैचारिक, सांस्कृतिक तथा संगठनात्मक कमजोरी पहिचान गर्दै सुधार र पुनर्निर्माणको अभियान अघि बढाउनुपर्नेमा पनि जोड दिइएको थियो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.