‘न्याय राजनीतिक प्रतिशोध होइन, प्रमाण र कानुनका आधारमा दोषीलाई जवाफदेही बनाउनुपर्छ’
काठमाडौं । २४ भदौ २०८३। पूर्वराष्ट्रपति एवं पूर्वराष्ट्राध्यक्ष विद्यादेवी भण्डारीले गत वर्ष भदौ २३ र २४ गते देशले व्यहोर्नुपरेका दुःखद घटनाको सत्यतथ्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय ढङ्गबाट स्थापित गर्न आग्रह गर्नुभएको छ। उहाँले ती घटनालाई राजनीतिक विभाजन र प्रतिशोधको विषय नबनाई राष्ट्रिय आत्मसमीक्षा तथा सुधारको अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ।
भदौ २३ र २४ गतेका घटनाको एक वर्ष पूरा भएको सन्दर्भमा बुधबार सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले घटनामा जीवन गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते तथा उपचाररत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
पूर्वराष्ट्रपति भण्डारीले एक वर्षको अवधिमा देशको राजनीतिक परिस्थितिमा उल्लेखनीय परिवर्तन आएको उल्लेख गर्दै ती घटनाबाट उत्पन्न राजनीतिक असन्तुष्टि र नयाँ पुस्ताका आकाङ्क्षाले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको बताउनुभएको छ।
उहाँका अनुसार पछिल्लो राजनीतिक परिवर्तनलाई लोकतन्त्रको स्वाभाविक प्रक्रियाबाट संस्थागत गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र समृद्धिको दिशामा अघि बढ्नु सबैको साझा जिम्मेवारी हो।
तर, भदौ २३ र २४ गते भएका घटनासँग सम्बन्धित कतिपय गम्भीर प्रश्न अझै अनुत्तरित रहेको उहाँले उल्लेख गर्नुभएको छ। उहाँले दुवै दिनका घटनालाई एउटै प्रकृतिका घटनाका रूपमा मात्र बुझ्न नहुने स्पष्ट पार्नुभएको छ।
पूर्वराष्ट्रपति भण्डारीले भदौ २३ गते भएको मानवीय क्षति र त्यसपछि भदौ २४ गते देखिएको व्यापक हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिको विनाशको प्रकृति र परिस्थिति फरक रहेको बताउनुभएको छ।
आन्दोलनका क्रममा उठाइएका जायज माग र मूल भावनाभन्दा भिन्न गतिविधि देखिएको तथा बाह्य घुसपैठ वा अवाञ्छित तत्वको संलग्नताको प्रश्नसमेत उठेकाले त्यसबारे सत्यतथ्य निष्पक्ष अनुसन्धानबाट स्पष्ट हुनुपर्ने उहाँको धारणा छ।
उहाँले राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गरी सरकारलाई विभिन्न सिफारिस गरिसकेको स्मरण गराउँदै सरकारद्वारा गठित छानबिन आयोगको प्रतिवेदन भने औपचारिक रूपमा सार्वजनिक नभएको बताउनुभएको छ।
सञ्चारमाध्यममार्फत प्रतिवेदनका केही विवरण सार्वजनिक भए पनि घटनाको समग्र प्रकृति, हिंसा, विध्वंस तथा त्यसमा संलग्न पक्षहरूको भूमिकासम्बन्धी प्रश्न पूर्ण रूपमा निरूपण हुन नसकेको उहाँको भनाइ छ।
पूर्वराष्ट्रपति भण्डारीले कुनै पनि पूर्वाग्रह वा राजनीतिक आग्रह नराखी भदौ २३ र २४ गतेका घटनाको सत्य, तथ्य र जिम्मेवारी निष्पक्ष, स्वतन्त्र तथा विश्वसनीय ढङ्गबाट स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
उहाँले न्यायको अर्थ राजनीतिक प्रतिशोधका आधारमा कसैलाई दोषी ठहर गर्नु नभई प्रमाण र कानुनका आधारमा दोषीलाई जवाफदेही बनाउनु तथा निर्दोषमाथि अन्याय हुन नदिनु रहेको स्पष्ट पार्नुभएको छ।
राज्यका निकाय हुन् वा आन्दोलनमा सहभागी नागरिक—कानुन सबैका लागि समान हुनुपर्ने उहाँको धारणा छ।
गत वर्ष आफूले नयाँ पुस्ताले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहिताका मागलाई सकारात्मक रूपमा लिँदै लोकतान्त्रिक विधिबाट समाधान खोज्न आग्रह गरेको स्मरण गर्दै उहाँले नागरिकका आवाज र असहमतिलाई सम्मान गर्दै लोकतन्त्रलाई अझ सुदृढ बनाउनुपर्ने बताउनुभएको छ।
लोकतन्त्रमा अधिकारसँगै जिम्मेवारी पनि जोडिएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले नागरिकको जीवनभन्दा ठूलो कुनै राजनीतिक माग हुन नसक्ने र राष्ट्रको सार्वजनिक सम्पत्तिभन्दा ठूलो कुनै आन्दोलन हुन नसक्ने धारणा व्यक्त गर्नुभएको छ।
उहाँले भदौ २३ र २४ का पीडालाई राजनीतिक विभाजन र प्रतिशोधको आधार नबनाई राष्ट्रिय आत्मसमीक्षा तथा सुधारको अवसरका रूपमा लिन सबैमा आह्वान गर्नुभएको छ।
सत्य र न्यायको पक्षमा उभिँदै नयाँ पुस्ताको ऊर्जा, ज्ञान र सिर्जनशीलतालाई समृद्ध नेपाल निर्माणको अभियानमा जोड्नुपर्नेमा जोड दिँदै उहाँले सशक्त प्रश्नलाई संवादमा बदल्न, असहमतिलाई लोकतान्त्रिक विधिबाट सम्बोधन गर्न तथा विभाजनलाई राष्ट्रिय एकताले जित्नुपर्ने सन्देश दिनुभएको छ।
“यही नै ती दुःखद घटनाका पीडितहरूप्रतिको सच्चा सम्मान र भावी पुस्ताप्रतिको हाम्रो जिम्मेवारी हुनेछ”, पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.