कुलबहादुर आचार्य,
अध्यक्ष, छपिया समाज काठमाडौं ।
कहिलेकाहीँ एउटा मानिसको जीवन केवल उसको आफ्नै कथा हुँदैन । उसको जीवनभित्र एउटा परिवारको इतिहास हुन्छ। एउटा पुस्ताको संघर्ष हुन्छ। एउटा समाजको स्मृति हुन्छ। अनि कहिलेकाहीँ एउटा देशबाट अर्को देशसम्म फैलिएको नेपाली अस्तित्व, पहिचान र संस्कृतिको लामो यात्रा पनि लुकेको हुन्छ।
श्रद्धेय पण्डित गुरु प्रसाद पोखरेलको १०२ वर्ष लामो जीवन त्यस्तै एउटा जीवित इतिहास हो। यो एउटा व्यक्तिको जीवनकथा मात्र होइन। यो बर्माको भूमिदेखि नेपालको माटोसम्म आइपुगेको एउटा नेपाली परिवारको यात्रा हो। यो परदेशमा आफ्नो पहिचान जोगाउने पुस्ताको कथा हो। यो जंगल फाँडेर बस्ती बसाउने पुस्ताको कथा हो। यो अभाव र कठिनाइसँग लड्दै आफ्ना सन्तानका लागि भविष्य निर्माण गर्ने पुस्ताको कथा हो।
र सबैभन्दा ठूलो कुरा यो आफ्नो माटोप्रतिको अटुट प्रेमको कथा हो। गङ्गारामदेखि सुरु भएको यात्रा । यो कथा सुरु हुन्छ गुल्मी धुर्कोटको एउटा पहाडी गाउँमा रहेको उपाध्याय ब्राह्मण परिवारबाट।
त्यही परिवारका सदस्य हुनुहुन्थ्यो— गङ्गाराम पोखरेल। गुल्मीमा जन्मिनुभएका गङ्गाराम किशोर अवस्थामै भारत हुँदै बर्मा पुग्नुभएको थियो। त्यो समय बर्मा ब्रिटिस साम्राज्यको अधीनमा थियो। भारतमा पनि ब्रिटिस शासन थियो र नेपालमा राणा शासन चलिरहेको थियो। विश्व राजनीति साम्राज्यवाद, युद्ध र उपनिवेश विस्तारको प्रभावमा थियो।
त्यस ऐतिहासिक कालखण्डमा नेपाली युवाहरू ब्रिटिस सेनामा भर्ती भएर विश्वका विभिन्न युद्धभूमिमा पुगिरहेका थिए। गोर्खाली सैनिकहरूले आफ्नो वीरता र साहसका कारण विश्वभर छुट्टै पहिचान बनाइरहेका थिए। पहिलो र दोस्रो विश्वयुद्धका क्रममा बर्मालगायत दक्षिण–पूर्वी एसियाका विभिन्न भूभागमा समेत गोर्खाली सैनिक पुगे।
तर बर्मामा नेपालीहरूको इतिहास केवल सैनिकहरूको इतिहास थिएन। त्यहाँ कृषक, श्रमिक, व्यापारी, कर्मचारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न नेपालीहरू पनि पुगेका थिए। उनीहरूले बर्माको माटोमा पसिना बगाए, घर बनाए, परिवार बसाए र परदेशी भूमिमा नेपाली समाजको आधार तयार गरे।
गङ्गाराम पोखरेल पनि त्यही यात्राका एक यात्री हुनुहुन्थ्यो। गुल्मी धुर्कोटकी अडमाया ब्राह्मणीसँग विवाह गर्नुभएका गङ्गाराम किशोर अवस्थामै भारत हुँदै बर्मा पुग्नुभएको थियो। उहाँ सैनिकका रूपमा होइन, गैरसैनिक श्रमिकका रूपमा बर्मा पुग्नुभएको थियो। बर्माको कलौ भन्ने स्थानमा उहाँको बसोबास थियो। खेती–किसानी र पशुपालन गर्दै उहाँले त्यहीँ आफ्नो गृहस्थ जीवन अघि बढाउनुभयो।
परदेशको भूमिमा घर बस्यो। परिवार बढ्यो। चार छोरा— टेकनाथ, गुरु प्रसाद, फेकुराम र कमल तथा तीन छोरी— मीना कुमारी, माया कुमारी र टिका कुमारी गरी सात सन्तान बर्माकै भूमिमा जन्मिए। तर गङ्गारामको जीवन केवल घरपरिवार र जीविकोपार्जनमा सीमित थिएन।
उहाँ धार्मिक प्रवृत्तिका, संस्कारी र दूरदर्शी व्यक्ति हुनुहुन्थ्यो। धर्मग्रन्थ पढ्नु, कथा–पुराण सुन्नु र अरूलाई सुनाउनु उहाँको रुचि र दैनिकी थियो।
गीता प्रेससँगको सम्बन्ध र परदेशमा संस्कारको बीउ
भारतमा बस्दा गङ्गारामले गीता प्रेससँग सम्बन्धित कामसमेत गर्नुभएको थियो। धार्मिक पुस्तक तथा साहित्यसँगको त्यो सम्बन्ध उहाँको जीवनमा गहिरो प्रभाव पार्ने माध्यम बन्यो।
बर्मा पुगेपछि पनि उहाँले आफ्नो त्यो रुचिलाई निरन्तरता दिनुभयो । हुलाकमार्फत धार्मिक पुस्तकहरू मगाउनुहुन्थ्यो। ती पुस्तकहरू आफू मात्र पढ्नुहुन्नथ्यो, बर्मामा रहेका अन्य नेपालीहरूलाई पनि बाँड्नुहुन्थ्यो।
परदेशमा बस्दा मानिसले सबैभन्दा पहिले के जोगाउँछ? घर? सम्पत्ति? व्यवसाय?
सायद यी सबैसँगै उसले सबैभन्दा पहिले आफ्नो पहिचान जोगाउन खोज्छ। गङ्गारामले पनि त्यही गर्नुभयो।
उहाँजस्ता संस्कारी नेपालीहरूले बर्माको भूमिमा नेपाली भाषा, धर्म, संस्कार र संस्कृतिको बीउ रोपे। परदेशमा बसेर पनि आफ्नो मौलिकता नहराओस् भनेर पुस्तान्तरणको आधार तयार गरे।
आज बर्माका विभिन्न नेपाली बस्तीमा संस्कृत पाठशाला सञ्चालन हुने, नेपाली भाषा तथा संस्कृतिको शिक्षा दिइने, चाडपर्व मनाउने र धार्मिक स्थललाई सामाजिक तथा सांस्कृतिक केन्द्रका रूपमा प्रयोग गर्ने परम्पराको जरा खोज्दा गङ्गारामजस्ता अग्रज नेपालीहरूको योगदानसम्म पुग्न सकिन्छ।
नेपाली बस्तीमा बनेका दुर्गा मन्दिरहरू केवल पूजाआजाका स्थल मात्र रहेनन्। ती भाषा, धर्म, संस्कार र संस्कृति पुस्तान्तरण गर्ने ज्ञानका केन्द्र र सांस्कृतिक पाठशाला पनि बने।
त्यो परम्पराको एउटा सानो तर महत्वपूर्ण अध्याय गङ्गाराम पोखरेलको जीवनमा पनि भेटिन्छ। परदेश छोड्ने कठोर निर्णय , समय सधैँ एउटै रहँदैन।
बर्मा स्वतन्त्र भयो। राजनीतिक परिवर्तनसँगै त्यहाँको परिस्थितिमा पनि क्रमशः ठूलो फेरबदल आयो। पछि सन् १९६२ मा जनरल ने विनको नेतृत्वमा सैनिक ‘कू’ भएपछि बर्मामा सैनिक शासन सुरु भयो।
राजनीतिक अस्थिरता बढ्दै गयो। बाहिरबाट गएर व्यापार–व्यवसाय तथा अन्य क्षेत्रमा जीवन बनाएका मानिसहरूका लागि पनि परिस्थिति जटिल हुँदै गयो। राज्यको राष्ट्रियकरण नीतिका कारण कतिपय मानिसले आफ्नो सम्पत्ति गुमाउनुपर्यो। नेपाली समुदाय पनि त्यसको प्रभावबाट पूर्ण रूपमा अछुतो रहन सकेन।
बर्माकै भूमिमा जन्मिएका, दुई पुस्तादेखि त्यहीँ बस्दै आएका नेपाली परिवारहरूका अगाडि एउटा कठिन प्रश्न खडा भयो— अब बर्मामै बसिरहने कि पुर्खाको देश नेपाल फर्कने?
त्यतिबेलासम्म गङ्गाराम पोखरेल र उहाँकी जीवनसंगिनी अडमायाको निधन भइसकेको थियो। उहाँका सन्तानका परिवारहरू भने अन्य नेपाली परिवारझैँ क्रमशः नेपाल फर्किन थाले।
गङ्गारामका माइँला छोरा गुरु प्रसाद पोखरेल पनि आफ्नो परिवार लिएर पुर्खाको देश फर्किने निर्णयमा पुग्नुभयो। यो निर्णय सजिलो थिएन। बर्मामा जीवनको जग बनिसकेको थियो । घर थियो, परिवार थियो। चिनेको समाज थियो, जीविकाको आधार थियो, बाल्यकाल र जीवनका कैयौँ सम्झना थिए तर एउटा कुरा थिएन— त्यो आफ्नो पुर्खाको देश थिएन । अन्ततः गुरु प्रसादले एउटा कठोर निर्णय लिनुभयो, अब नेपाल फर्किने।
मातृभूमिको पहिलो स्पर्श
गुरु प्रसाद पोखरेल र उहाँकी जीवनसंगिनी दिनकला पोखरेलको परिवारमा छोराहरू— रतन, प्रेम, डिलाराम, केशव र गोपाल तथा छोरीहरू— कृष्णमाया, सुमित्रा, तुलसी र मीना हुनुहुन्थ्यो। गोपाल र मीना भने नेपाल आएपछि जन्मिएका सन्तान हुन्।
गुरु प्रसाद र दिनकलासहित परिवार मातृभूमि फर्कने यात्रामा निस्कियो। बर्माको स्वेयौँ भन्ने बस्तीमा सँगै बस्दै आएका अन्य चार नेपाली परिवार पनि उनीहरूसँगै नेपाल फर्किँदै थिए। स्वेयौँबाट रेल चढेर उनीहरू रंगुन पुगे। त्यतिबेला रंगुन बर्माको राजधानी थियो। ब्रिटिस शासनकालमा निर्माण भएका पूर्वाधारका कारण रंगुन त्यस समयको महत्वपूर्ण र विकसित शहरमध्ये एक थियो।
पासपोर्ट तथा आवश्यक कागजातको प्रक्रिया पूरा गर्न उनीहरूलाई त्यहाँ करिब एक महिना बस्नुपर्यो। कागजी प्रक्रिया पूरा भयो।
हवाई टिकट सुनिश्चित भयो। अब जन्मे–हुर्केको देश सदाका लागि छोड्ने दिन नजिक आइसकेको थियो। अन्ततः त्यो दिन पनि आयो।
रंगुनबाट हवाई यात्रा गर्दै उनीहरू भारतको कलकत्तास्थित दमदम विमानस्थल पुगे। त्यसपछि कलकत्ताबाट रेलको यात्रा सुरु भयो। कलकत्ता, नौतुनवा, सुनौली, र अन्ततः नेपालको बेलहिया नाका ।
गुरु प्रसाद पोखरेल लगायत पाँच परिवार नेपाली भूमिमा प्रवेश गरे।
यो केवल एउटा भौगोलिक यात्रा थिएन। यो एउटा परिवारले आफ्नो जीवनको एउटा अध्याय बन्द गरेर अर्को अध्याय खोल्ने यात्रा थियो। २०२१ सालको चैत्र—पुर्खाको माटोमा पहिलो पाइला
गुरु प्रसाद पोखरेल बि.सं. १९८१ मा बर्माको भूमिमा जन्मिनुभएको थियो। उहाँको जन्म आश्विन शुक्ल पूर्णिमाका दिन भएको पारिवारिक स्मृतिमा उल्लेख छ। नेपाल फर्किँदा उहाँ करिब ४० वर्षको हुनुहुन्थ्यो। बुबा गङ्गाराम र आमाको मुखबाट बाल्यकालदेखि सुन्दै आएको देश— आफ्ना पुर्खा जन्मिएको देश।आफ्ना आमाबुबाको देश। आफ्नो मूल थलो नेपाल।
आज उहाँ आफ्नै आँखाले देख्दै हुनुहुन्थ्यो। बि.सं. २०२१ सालको चैत्र। गर्मी सुरु भइसकेको समय।जब गुरु प्रसादले नेपालको माटोमा पहिलो पाइला टेक्नुभयो, त्यो क्षण कस्तो थियो होला?सायद आँखामा खुसी थियो । मनमा गर्व थियो। छातीमा मातृभूमिको माया थियो। तर त्यस खुसीसँगै अनिश्चितता पनि पक्कै थियो । अब कहाँ जाने?कहाँ बस्ने? कसरी जीवन चलाउने? यी लालाबालालाई कसरी हुर्काउने? परिवार ठूलो थियो । भैरहवा त्यतिबेला आजको जस्तो विकसित शहर थिएन। बसोबास र जीविकोपार्जनका सुविधा सीमित थिए । तर गुरु प्रसादका लागि नेपाल केवल गन्तव्य थिएन। नेपाल नयाँ जीवनको सुरुवात थियो। छपियाको जंगलमा नयाँ जीवन
भैरहवा र चिलियामा करिब डेढ वर्ष बितेपछि तत्कालीन नेपाल सरकारले रुपन्देहीको छपिया क्षेत्रमा बसोबास र जीविकोपार्जनका लागि जग्गा वितरण गर्ने निर्णय गर्यो।
बर्माबाट सुनौली नाका हुँदै नेपाल फर्किएका करिब पाँच सय घरधुरीले क्रमशः छपिया क्षेत्रमा जग्गा प्राप्त गरेको पारिवारिक तथा सामुदायिक स्मृतिमा उल्लेख छ। गुरु प्रसादको परिवारले पनि त्यहीँ जग्गा पायो। तर त्यो छपिया आजको छपिया थिएन। त्यहाँ घनघोर जंगल थियो। न सडक। न बिजुली। न सहज खानेपानी। न बजार। न सुरक्षित बसोबास। नयाँ जीवन सुरु गर्न सबैभन्दा पहिले जंगल फाँड्नुपर्यो। छाप्रो बनाउनुपर्यो । माटोसँग जुध्नुपर्यो । प्रकृतिसँग संघर्ष गर्नुपर्यो । पानी चाहियो भने नजिकका थारू बस्तीहरूतिर जानुपर्थ्यो । बारीमा घैया धान छरिन्थ्यो। अडहर लगाइन्थ्यो। सिँचाइको सुविधा थिएन। आकाशे पानीकै भर पर्नुपर्थ्यो।
खेती उब्जियो भने बाँदर र वनगाईबाट जोगाउन दिनरात पहरा दिनुपर्थ्यो। बाली उब्जिए पनि वर्षभरि खान पुग्दैनथ्यो। त्यसपछि पेट पाल्न अरूको खेतमा ज्याला मजदुरी गर्न जानुपर्थ्यो। कतिपय दिन जंगलबाट दाउरा काटेर भारी बोक्दै भैरहवा बजारसम्म बेच्न पुग्नुपर्थ्यो। त्यो दाउराको भारी केवल काठको भारी थिएन।
त्यो आफ्ना सन्तानको भविष्यको भारी थियो। छपियाका पहिलो पुस्ताले काँधमा त्यही भारी बोकेर भविष्य निर्माण गरे। उनीहरूले जंगल फाँडे।बस्ती बसाले, खेत बनाए, बाटो बनाए। आफ्ना सन्तानका लागि सम्भावनाको ढोका खोले। बर्मामा वर्षौँको संघर्षपछि बनाएको जीवन छोडेर आएका उनीहरू फेरि अर्को संघर्षको सुरुङभित्र प्रवेश गरेका थिए । तर यसपटक एउटा फरक आत्मसन्तुष्टि थियो । यो संघर्ष आफ्नै देशको माटोमा थियो।
गुरु प्रसाद—संस्कारका उज्याला दीप
छपियामा आएपछि गुरु प्रसाद पोखरेलले आफ्ना पिता गङ्गारामबाट प्राप्त संस्कारलाई निरन्तरता दिनुभयो । योग। ध्यान। प्राणायाम, नित्य स्नान, पूजा–पाठ, शाकाहारी भोजन, अनुशासन, सादगी ।
यी उहाँको जीवनशैलीका अभिन्न अङ्ग बने। उहाँको जीवनमा देखावटीपन थिएन। सादा जीवन, उच्च विचार उहाँको जीवनको मूल दर्शनजस्तै बन्यो।
उहाँले आफूलाई मात्र संस्कारी बनाउनुभएन। आफ्नो परिवार, सन्तान र वरिपरिको समाजलाई पनि संस्कार, सदाचार, अनुशासन र मानवीयताको बाटो देखाउनुभयो।
छपियाको पहिलो पुस्ताका संघर्षशील व्यक्तित्वहरूमध्ये गुरु प्रसाद पोखरेल एउटा विशिष्ट नाम बन्नुभयो । उहाँले दुःख देख्नुभयो, अभाव देख्नुभयो, जंगल देख्नुभयो, मजदुरी गर्नुभयो, दाउराको भारी बोक्नुभयो, पानीको अभाव भोग्नुभयो, फसल जोगाउन रात बिताउनुभयो।
तर उहाँले ती कठिनाइलाई कहिल्यै आफ्नो जीवनको अन्तिम सत्य मान्नुभएन।
उहाँले त्यसलाई भविष्य निर्माणको बाटो बनाउनुभयो। १०२ वर्ष—एउटा परिवार, एउटा इतिहास । आज गुरु प्रसाद पोखरेल १०२ वर्षको उमेरमा उभिनुभएको छ।
उहाँ र उहाँकी जीवनसंगिनी दिनकलाबाट फैलिएको परिवार आज छोरा–बुहारी, छोरी–ज्वाइँ, नातिनातिनी, पनाति–पनातिनी हुँदै १ सय ११ जनाको ठूलो परिवार बनेको छ।
यस विशाल परिवारका १ सय ११ सदस्यमध्ये जीवनसंगिनी दिनकला पोखरेल र एक जना नातिनी–ज्वाइँको निधन भइसकेको पारिवारिक स्रोतबाट जानकारी प्राप्त हुन्छ।
एक शताब्दीभन्दा लामो गुरु प्रसादको जीवन आफैँमा एउटा खुला किताब हो। त्यस किताबका पानाहरूमा । बर्माको परदेश छ, ब्रिटिस शासनको समय छ, नेपालीहरूको संघर्ष छ, धर्म र संस्कृतिको संरक्षण छ, मातृभूमि फर्किने साहस छ, रेल यात्राको सम्झना छ। हवाई यात्राको स्मृति छ, रंगुन छ, कलकत्ता छ, नौतुनवा र सुनौली छन्। बेलहियाबाट नेपाल प्रवेशको क्षण छ । भैरहवाको अनिश्चितता छ । छपियाको घनघोर जंगल छ । जंगल फाँड्ने संघर्ष छ । दाउराको भारी छ । ज्याला मजदुरीका दिन छन्बाँ । दर र वनगाईबाट बाली जोगाएका रातहरू छन् ।नी खोज्दै हिँडेका दिनहरू छन्।
र ती सबैभन्दा माथि एउटा अटल विश्वास छ—
आफ्नो देशको माटोमा भविष्य निर्माण गर्न सकिन्छ। बर्मामा रोपिएको संस्कार, छपियामा हुर्किएको विरासत
गङ्गारामले बर्मामा नेपाली संस्कारको बीउ रोप्नुभयो।गुरु प्रसादले त्यो संस्कार बोकेर नेपाल आउनुभयो।छपियाको माटोमा त्यसलाई हुर्काउनुभयो। त्यसैले पण्डित गुरु प्रसाद पोखरेलको जीवन एउटा परिवारको मात्र इतिहास होइन।
यो बर्माबाट नेपाल फर्किएको एउटा पुस्ताको इतिहास हो। यो बर्माबाट मातृभूमि फर्किएका अनेकौँ नेपाली परिवारको साझा कथा हो। यो परदेशमा आफ्नो भाषा, धर्म, संस्कार र पहिचान जोगाएर राख्ने पुस्ताको कथा हो। यो मातृभूमिमा आएर जंगल फाँड्दै बस्ती बसाल्ने पुस्ताको कथा हो। यो अभावलाई भाग्यको अन्तिम सत्य नमान्ने पुस्ताको कथा हो। यो दुःखलाई भविष्य निर्माणको साधन बनाउने पुस्ताको कथा हो।
र सबैभन्दा ठूलो कुरा— यो माटोप्रतिको प्रेमको कथा हो। एउटा शताब्दी हाम्रो अगाडि उभिएको छ
आज १०२ वर्षको उमेरमा श्रद्धेय पण्डित गुरु प्रसाद पोखरेललाई हेर्दा हामीसामु एउटा व्यक्ति मात्र उभिएको देखिँदैन। हामीसामु एउटा शताब्दी उभिएको देखिन्छ।
उहाँको अनुहारमा समयका अनगिन्ती रेखा छन्। तर ती रेखाहरूभित्र संघर्षका कथा छन्।
उहाँका आँखामा बितेको शताब्दीको स्मृति छ।
उहाँका सम्झनामा एउटा परिवारको यात्रा छ।
उहाँको जीवनमा एउटा पुस्ताको इतिहास छ।
उहाँको संस्कारमा एउटा पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गरेको नेपालीपन छ।
बर्मादेखि छपियासम्मको त्यो यात्रा केवल भूगोल परिवर्तनको यात्रा थिएन।
त्यो पहिचान जोगाउने यात्रा थियो।
त्यो मातृभूमि खोज्ने यात्रा थियो।
त्यो संघर्षबाट भविष्य निर्माण गर्ने यात्रा थियो।
त्यो संस्कारलाई पुस्तौँसम्म जोगाउने यात्रा थियो।
र त्यही यात्राको जीवित साक्षी हुनुहुन्छ—
श्रद्धेय शताब्दी पुरुष
पण्डित गुरु प्रसाद पोखरेल।
उहाँप्रति सत्–सत् नमन।
उहाँको जीवन भावी पुस्ताका लागि प्रेरणाको दीप बनिरहोस्।
उहाँले बोकेर ल्याउनुभएको संस्कार पुस्तौँ–पुस्तासम्म हस्तान्तरण भइरहोस्।
उहाँजस्ता अग्रजहरूले दुःख, त्याग र परिश्रमले निर्माण गरेको इतिहास विस्मृतिको अँध्यारोमा कहिल्यै हराउन नपाओस्।
बर्माको परदेशदेखि नेपालको छपियासम्म आइपुगेको यो जीवनगाथा एउटा परिवारको स्मृति मात्र होइन—यो नेपालीपन, मातृभूमिप्रतिको प्रेम र संघर्षबाट भविष्य निर्माण गर्ने अदम्य इच्छाशक्तिको जीवित दस्तावेज हो। २०८३/०५/२६, कुशेऔँसी—(बुवाको मुख हेर्ने दिन)
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.