नवराज भूर्तेल, काभ्रेपलाञ्चोक । एमालेको यात्रामा समय-समयमा फरक राजनीतिक हावा चलेको देखिन्छ। तर हरेक चरणलाई अलग अलग घटना मात्र मानेर पुग्दैन। एउटा चरणमा जन्मिएको प्रवृत्तिले अर्को चरणको असन्तोष, विभाजन र वैकल्पिक राजनीतिक आकर्षणलाई कसरी मलजल गर्यो भन्ने कोणबाट हेर्दा एउटा निरन्तर राजनीतिक शृंखला देखिन्छ।
१. २०४८ को कांग्रेसी हावाले जन्माएको आन्तरिक असन्तुष्टिको बीउ
बहुदलीय व्यवस्थाको सुरुवाती चरणमा एमाले भित्रका केही समूहलाई कांग्रेसी राजनीतिक प्रभावले आकर्षित गर्यो। कांग्रेस र कांग्रेसका नेताहरूको प्रशंसा, मदन भण्डारीको आलोचना तथा एमालेमा लोकतन्त्र, खुलापन र स्वतन्त्रता नभएको आरोप उनीहरूको राजनीतिक अभिव्यक्तिको प्रमुख विषय बने।
यस प्रवृत्तिले एमालेभित्र वैचारिक बहसलाई तीव्र बनायो, तर त्यससँगै आफ्नै पार्टीको नेतृत्व र संगठनलाई कमजोर देखाउने संस्कार पनि विकास गर्यो।
परिणामः आफ्नै पार्टीभित्रको असन्तुष्टिलाई बाह्य राजनीतिक शक्तिसँग जोडेर हेर्ने प्रवृत्तिको बीउ यही चरणमा रोपियो।
२. २०५४ को महाकाली राष्ट्रवादको विवादले त्यस बीउलाई पार्टी विभाजनमा पुर्यायो
२०४८ पछि विकसित भएको आन्तरिक असन्तुष्टि २०५४ सालसम्म आइपुग्दा महाकाली सन्धि र राष्ट्रवादको प्रश्नमा तीव्र विवादमा परिणत भयो। विवाद केवल नीतिगत मतभेदमा सीमित रहेन, अन्ततः एमाले विभाजन भयो।
कारण:महाकाली सन्धि, राष्ट्रवाद र नेतृत्वसम्बन्धी तीव्र आन्तरिक मतभेद।
परिणाम: पार्टी विभाजन र संगठनात्मक शक्ति कमजोर हुनु।
यसले एउटा महत्वपूर्ण राजनीतिक पाठ छोड्यो विचारको बहस संस्थागत ढंगले व्यवस्थापन हुन नसक्दा वैचारिक मतभेद संगठनात्मक विभाजनमा परिणत हुन सक्छ।
३. विभाजनपछिको कमजोर राजनीतिक धरातलमा २०६४ को माओवादी हावा बलियो भयो
पार्टी विभाजनपछि एमालेले राजनीतिक रूपमा नयाँ चुनौती सामना गरिरहेको अवस्थामा २०६४ सालको निर्वाचन र त्यसअघिको राजनीतिक संक्रमणले माओवादीलाई ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्यो।यही परिवेशमा एमाले भित्रका केही ‘गलगाँड’हरूमा फेरि नयाँ राजनीतिक आकर्षण देखियो। यसपटक कांग्रेस होइन, माओवादी केन्द्रमा आयो। प्रचण्ड र बाबुरामको प्रशंसा, माओवादी राजनीतिको महिमामण्डन र एमाले नेतृत्वको निरन्तर आलोचना उनीहरूको अभिव्यक्तिको हिस्सा बने।
कारण: पार्टी विभाजनपछिको कमजोर मनोबल र बदलिँदो राजनीतिक शक्ति सन्तुलन।
परिणाम: माओवादी राजनीतिको प्रभावबाट प्रभावित हुने तथा आफ्नै पार्टी नेतृत्वलाई कमजोर पार्ने प्रवृत्ति अझ प्रकट भयो।
यसरी २०५४ को विभाजनले सिर्जना गरेको कमजोर धरातलमा २०६४ को माओवादी हावाले ठाउँ पायो।
४. २०६४ पछिको निरन्तर आन्तरिक संघर्षले २०७७ को कुर्सी केन्द्रित संकट जन्मायो
माओवादी सँगको प्रतिस्पर्धा, सत्ता साझेदारी, पार्टी एकता र त्यस पछिका आन्तरिक शक्ति संघर्षले एमाले तथा त्यससँग जोडिएको कम्युनिस्ट राजनीतिको अन्तर विरोधलाई नयाँ चरणमा पुर्यायो।
२०७७ सालतिर आइपुग्दा विवाद विचार र नीतिभन्दा पनि नेतृत्व, पद र सत्ता सन्तुलनको संघर्षमा बढी केन्द्रित भएको देखियो। यही क्रममा संसद् विघटनको विवाद उत्पन्न भयो र त्यसले पार्टीभित्र तथा बाहिर गम्भीर राजनीतिक संकट सिर्जना गर्यो।
कारण: लामो समयदेखि सञ्चित नेतृत्व संघर्ष, सत्ता सन्तुलनको विवाद र पार्टीभित्रको अविश्वास।
परिणाम: संसद् विघटनको विवाद, संस्थागत संकट र अन्ततः एमालेभित्र थप गहिरो विभाजन।
यस चरणको मुख्य शिक्षा यही होः जब राजनीतिक मतभेद व्यक्तिगत शक्ति संघर्षमा बदलिन्छ, त्यसको असर पार्टीको सीमाभन्दा बाहिर राज्यका संस्थासम्म पुग्न सक्छ।
१. २०७७ को संकट र त्यसपछिको असन्तुष्टिले २०७९ पछिको वैकल्पिक राजनीतिक आकर्षणलाई मलजल गर्यो
२०७७ को राजनीतिक संकट, त्यसपछिको पार्टी विभाजन र पुराना दलप्रतिको बढ्दो सार्वजनिक असन्तुष्टिको पृष्ठभूमिमा २०७९ सालको निर्वाचनमा नयाँ राजनीतिक शक्तिहरूले उल्लेख्य स्थान बनाए।
यही परिवेशमा एमालेभित्रका आलोचक तथा असन्तुष्ट धारका केही व्यक्तिहरूलाई रास्वपा तथा नयाँ पुस्ताका राजनीतिक पात्रहरूप्रति आकर्षण देखिन थाल्यो। बालेन, रवि तथा अन्य नयाँ राजनीतिक पात्रहरूको प्रशंसा र ओली नेतृत्वको आलोचना त्यसको अभिव्यक्तिका रूपमा प्रस्तुत हुन थाल्यो।
कारण: पुराना दलप्रतिको सार्वजनिक असन्तुष्टि, २०७७ पछिको राजनीतिक संकट र नयाँ राजनीतिक विकल्पप्रतिको आकर्षण।
परिणाम: रास्वपा तथा नयाँ पुस्ताका पात्रहरूलाई केन्द्रमा राखेर एमाले नेतृत्वमाथि थप राजनीतिक दबाब र आलोचना।
१. यही असन्तुष्टिको माटोमा ‘जेन्जी’को बिरुवा उम्रियोः अब प्रश्न अझ गहिरो हुन्छ, नयाँ पुस्ताको असन्तुष्टि र ‘जेन्जी’जस्तो अबैचारीक राजनीतिक उभार कहाँबाट आयो?
यसलाई कुनै एउटा व्यक्ति वा दलले सिर्जना गरेको परिणामका रूपमा मात्र हेर्नुभन्दा लामो समयदेखि जम्मा हुँदै आएको राजनीतिक असन्तुष्टि, पुराना दलप्रतिको अविश्वास, नेतृत्वप्रतिको प्रश्न र नयाँ विकल्पको खोजीको परिणामका रूपमा हेर्न सकिन्छ।
यस अर्थमा जेन्जी आफैंमा अचानक उम्रिएको बिरुवा होइन, पुराना राजनीतिक संरचनाभित्र लामो समयदेखि जम्मा भएको असन्तुष्टिको माटोमा उम्रिएको नयाँ टुसा हो।
त्यसैले आजको नयाँ पुस्तालाई मात्र दोष दिएर विगतको हिसाबबाट उम्किन सकिँदैन। बरु प्रश्न गर्नुपर्ने हुन्छः
त्यो असन्तुष्टिको माटो कसले तयार गर्यो?
त्यो माटोमा अविश्वासको मल कसले हाल्यो ?
र पुराना राजनीतिक दलहरूले किन नयाँ पुस्तालाई आफ्नो विकल्प खोज्न बाध्य बनाए ?
निष्कर्ष : हावा फेरिँदै गयो, तर कारणको शृंखला जोडिँदै गयो
२०४८ को कांग्रेसी प्रभाव ले आन्तरिक असन्तुष्टिको बीउ रोप्यो।
त्यस असन्तुष्टिले २०५४ मा महाकाली राष्ट्रवादको विवादमार्फत पार्टी विभाजन को रूप लियो।
विभाजनले कमजोर बनाएको राजनीतिक धरातलमा २०६४ को माओवादी हावा बलियो भयो।
त्यसपछिको दीर्घकालीन शक्ति–संघर्ष २०७७ मा कुर्सी, नेतृत्व र संसद् विघटनको संकट मा पुग्यो।
२०७७ पछिको संकट र पुराना दलप्रतिको असन्तुष्टिले २०७९ पछि नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षण बढायो।
र अन्ततः यही लामो असन्तुष्टिको माटोमा ‘जेन्जी’को नयाँ बिरुवा उम्रियो।यसरी हेर्दा कथा केवल ‘कसले कसको प्रशंसा गर्यो’ भन्ने होइन।
यो एउटा कारण र परिणामको राजनीतिक शृंखला हो
असन्तुष्टिबाट विभाजन, विभाजनबाट कमजोरी, कमजोरीबाट बाह्य प्रभाव, बाह्य प्रभावबाट नयाँ संघर्ष, संघर्षबाट संस्थागत संकट, र संस्थागत संकटबाट नयाँ पुस्ताको वैकल्पिक खोजसम्म।
हावा हरेक पटक फरक थियो।
चिम्नी हरेक पटक फरक थियो।
तर आफ्नै चुलोको आगो कमजोर पार्ने प्रवृत्तिको प्रश्न भने बारम्बार उही रह्यो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.