डा. राजन भट्टराई, काठमाडौं, ७ कात्तिक ।
सन् १९५० मा नेपाल आधुनिक युगमा प्रवेश गरेदेखि नै नेपालको हितसँग सम्बन्धित कुनै विषय उठाउनेबित्तिकै त्यसलाई सहजै ‘उग्र राष्ट्रवाद’ वा ‘भारतविरोध’ को संज्ञा दिने गरिएको छ। नयाँदिल्लीमा बसेर नेपालबारे लेख्ने वा बोल्ने कतिपयले देशभक्त नेपालीहरूमाथि लगाउने आरोप हो यो । अब नयाँदिल्लीकाहरूले मात्र होइन, यताबाट उता गएर नयाँदिल्लीकै भाष्य बोल्नेहरूले पनि त्यही आरोप लगाउन थालेका छन्।
अर्थमन्त्रीज्यू, केही प्रश्न छन् :
के नेपालको दक्षिणी सीमामा भारतले संरचना निर्माण गरेका कारण वर्षायामको बाढीको पानी दक्षिणतर्फ सहज रूपमा बग्न नपाउँदा हाम्रो भूभाग डुबानमा पर्यो भन्नु भारतको विरोध हो?
के हाम्रा कृषिजन्य उत्पादनहरू—अलैँची, चिया, जुटलगायतका वस्तुहरू—द्विपक्षीय सहमतिअनुसार विना अवरोध भारतीय बजारमा निकासी हुन पाउनुपर्छ भन्नु हाम्रो राष्ट्रिय हितको पक्षमा बोल्नु हो कि भारतको विरोध गर्नु हो?
नेपाल र भारतबीच भएको विद्युत् व्यापारसम्बन्धी सहमतिअनुसार भारतले नेपालमा उत्पादित बिजुली निर्वाध रूपमा खरिद गर्ने वातावरण बनाउनुपर्छ भन्नु र भारतले आफूले रोजेको लगानीकर्ताबाट उत्पादित बिजुली मात्र खरिद गर्छु भन्ने अडान सम्झौताअनुरूप छैन भन्न नपाइने हो र?
नेपालसँग विगतमा गरिएका कतिपय सन्धि–सम्झौताहरू असमान छन् र कतिपय सान्दर्भिक पनि रहेनन्। तिनको पुनरावलोकन गरी पारस्परिक समानताका आधारमा आजको समयअनुकूल अद्यावधिक गरौँ भन्नु नेपालको राष्ट्रिय हितमा बोल्नु हो कि अरू नै केही हो?
सन् १८१६ को सुगौली सन्धिअनुसार नेपालको भूभाग नेपालकै हो भन्नुको अर्थ के लाग्छ? के आफ्नो ऐतिहासिक भूभागमाथिको दाबी प्रस्तुत गर्नु पनि भारतविरोध हो?
दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय व्यवस्था, अन्तर्राष्ट्रिय कानुन, मूल्य, मान्यता र अभ्यासका आधारमा दुई स्वतन्त्र तथा सार्वभौम मुलुकबीचको सम्बन्ध अगाडि बढाऔँ र आफ्ना राष्ट्रिय मामिलामा निर्णय गर्ने अधिकार नेपाललाई नै हुनुपर्छ भन्नु कसैको विरोध गरेको ठहर्छ?
यी र यस्ता थुप्रै प्रश्न उठाउनेहरूलाई अन्यत्र देशको हितमा बोल्ने र देशभक्तिपूर्ण अभिव्यक्ति दिने व्यक्तिका रूपमा लिइन्छ। तर नेपालमा भने विडम्बना के छ भने, नयाँदिल्लीकाहरूले मात्र होइन, यताकाहरूले समेत नेपालको राष्ट्रिय हितका पक्षमा उठाइएका आवाजलाई भारतविरोधी भन्दै विरोधीको जामा पहिर्याउने गरेका छन्। अर्थमन्त्रीको हालैको दिल्ली भनाइ यसै ऋंखलाको एक अंश हो भन्दा अत्युक्ति नहोला ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.