विमल पोखरेल
संसारमा जुनसुकै संघर्ष वा आन्दोलनपछि उपलब्धिहरू उल्लेख गरिएको एउटा लिखित सम्झौता हुन्छ । किनभने यो प्रमाण हो । २००७ मा दिल्ली सम्झौता, राजाको घोषणा र संविधान निर्माण । २०३६ मा राजाको घोषणा र जनमत संग्रह । २०४६ सालमा राजाको घोषणा, बहुदलीय संसदीय व्यवस्थाको स्थापना र संविधान निर्माण । २०६३ सालमा राजाको घोषणा, संविधानसभा निर्वाचन, गणतन्त्र र २०७२ मा संविधानको निर्माण । कुनै पनि संघर्षको यति लामो त्याग, बलिदान, विधि र प्रक्रिया हुन्छ । भदौ २४ गते देशमा आगो लगाएर खरानी बनाइयो, राष्ट्रपतिलाई सेनाको बन्दुक तेर्साएर संसद विघटन गर्न लगाइयो । सुशीला कार्कीलाइ प्रधानमन्त्री घोषणा गरियो । भएको जम्माजम्मी यत्ति हो ।
मिति २०८२ भदौ २४ गतेको महा-विध्वंसपछि न कुनै सम्झौता छ, न कुनै घोषणा छ । यो केवल विध्वंसको रुपमा मात्रै चित्रित हुनेछ । ७० जनाको लास, जलेर खरानी भएका भवन, व्यापारिक प्रतिष्ठान र विध्वंस बाहेक मैले कुनै उपलब्धि देखेको छैन । यो २०८१ चैत १५ गते दुर्गा प्रसाइँले गरेको विध्वंस र आगलागीको भयंकर विकसित रुप मात्रै हो । किनभने यहाँ उपलब्धिको कुनै सम्झौता भएको छैन र अब कसैले सम्झौता गर्नेवाला पनि छैन । जताततै मान्छेको लास, भग्नावशेष र खरानी मात्रै छ । कानून वा संविधान संशोधन गर्ने एक अक्षरको सम्झौता कोही कसैसँग भएको छैन । अब संविधान संशोधन धेरै जटिल भएको छ । त्यसो त फागुन २१ मा चुनाव हुने सम्भावना छैन । मानौं संसदको चुनाव भइहाल्यो भने संसदको अनुहार कस्तो हुनेछ ? मेरो अनुमान हुबहु नमिले पनि यस्तो अनुहारको हुनेछ: एमाले ६०, कांग्रेस ६०, माओवादी १५-२०, मधेसवादी २०-२५ सिट आउला । कुख्यात सहकारी ठगको गिरोह, राजावादी, महा-विध्वंस र आगो लगाउने समूह एकैठाउँ आएर चुनाव लडेछन् भने बाँकी सबै १ सय २० सिट आउने कल्पना गरौं । लगभग त्यही सेरोफेरोमा संसद बन्छ । जतिसुकै पत्तासाफ हुनेछन् भनेर कुर्लिए पनि पनि कांग्रेस एमालेको ६० सिट, माओवादी १५ सिट र मधेसवादी १५ सिट भन्दा कुनै हालतमा घट्दैनन् बरू बढ्छन् । अब कल्पना गर्नुस, त्यो संसद अहिलेको भन्दा पत्रु, निकम्मा र स्खलित हुनेछ । किनभने संसदको सन्दर्भमा यो संविधान नै यति पत्रु र निकम्मा छ कि कोही कसैको बहुमत कुनै हालतमा आउन दिंदैन । अब सरकार यति धेरै अस्थिर हुनेछन् कि ती एक वर्ष पनि टिक्न मुस्किल हुनेछ । संसदको गणित नै खत्तम भएपछि सरकारहरू झन् बेहाल बन्नेछन् । अहिले विजय मनाइरहेका मान्छेले आजको घटना पूरापूर भुल्नेछन् र फेरि त्यतिबेला यस्तै विध्वंसको सोचाइ आउनेछ । भेंडोपन भएपछि मान्छेले ५ वा १० वर्ष पछिको कुरा पनि कल्पना गर्नै सक्ने रहेनछ । भेंडोपन भएको जमातले ६ महिनापछिको यत्ति पनि विश्लेषण गर्न सक्दैनन् । भनेपछि नेपाली जाति कति धेरै पतन भएर गयो, आफै अनुमान गर्नुस् । मेरो त ठोकुवा हो, २०८२ भदौ २४ गतेको महाविध्वंसबाट कोही कसैले धागोको धर्सो पनि प्राप्त गरेको छैन । कसैलाई युद्ध जितेको लागेको छ भने मलाई इतिहासमा दर्ज भएका २ लाइनको उपलब्धि लेखेर देखाओस् । अहिले एक्लै भएकोमा मलाई कुनै पछुतो छैन । किनभने परिणाम मैले भनेको भन्दा बेग्लै हुँदैन । परिणाम बेग्लै हुने कल्पना कसैले गरेको छ भने लेखेर राख्दा हुन्छ । मुसाको हुलले अन्न खाइरहेको थियो, कपडा काटिरहेको थियो । देश लुटिरहेको थियो । त्यो सही हो । मुसा मार्ने दर्जनौं उपायहरू थिए । विदेशीहरू आएर भने कि यी मुसा मार्न सकिंदैन, घरमा आगो लगाउ । भेंडोपन भएका व्यक्तिहरूलाई अगाडि सारेर मुसा मार्नको लागि सिङ्गो घरमा आगो लगाइयो । एउटा पनि मुसा मरेका छैनन् । केही संख्यामा घाइते भएका होलान् । सिङ्गो घरमा आगो लगाएपछि मुसाहरू भागेर परपर पुगेका छन् । बरू ७० जना जनताका छोराछोरी मरे । आज तिनीहरूको घरमा सन्नाटा छ, रुवाबासी छ । मान्छेहरू घर जलाएकोमा खुशी मनाइरहेका छन् । बुद्धि, विवेक, विचार र सोच्न सक्ने शक्ति शून्य भएर भेंडोपन भएपछि यस्तो पनि हुने रहेछ । म चकित छु, महाचकित छु । म आश्चर्य छु, महाआश्चर्य छु । पोखरेल कानुन व्यवसायी हुनुहुन्छ
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.