९ कार्तिक २०८२, शनिवार

चेतनाको पुनर्जागरण : नेपालको आवश्यकता

रामकृष्ण तिमल्सिना 

नेपाल यस्तो मोडमा उभिएको छ, जहाँ ब्रह्मा, विष्णु र महेश जुनसुकै रूप वा युगमा आए पनि विवादरहित शासन गर्न असम्भवजस्तै देखिन्छ। यसको मूल कारण नेतामा होइन, मानव चेतनाको स्तरमा भएको क्षयमा छ। नेपालमा समस्या प्रणालीको होइन, सोचको हो। गाली र तालीबीच झुलिरहने भावनात्मक समाज, आलोचनाभन्दा प्रतिक्रियामा रमाउने प्रवृत्ति, र जिम्मेवारीभन्दा स्वतन्त्रतालाई बढी महत्त्व दिने मिडिया संस्कृति - यी सबैले देशलाई दिशाहीन बनाइरहेका छन्। अब नेपाललाई देवता होइन, निडर, विवेकी र चेतनशील नागरिक चाहिन्छ, जसले राष्ट्रलाई भावना होइन, विवेकले चलाओस्।

यदि आज ब्रह्मा आएर सृष्टि सुधार्न खोजे भने कोही उनलाई राष्ट्रघाती ठान्नेछन्; विष्णु आएर व्यवस्था गर्न खोजे भने कोही उनलाई राजनीतिक पक्षधर भन्लान्; र यदि शिव आएर विसंस्कृति नष्ट गर्न खोजे भने कोही उनलाई अधिनायकवादी भन्नेछन्। यो परिस्थितिले देखाउँछ कि देवत्वभन्दा ठूलो चुनौती चेतनाको पतन हो। जबसम्म समाजले विवेक, सहिष्णुता र उत्तरदायित्वको संस्कार अंगिकार गर्दैन, तबसम्म परिवर्तनको कुनै पनि प्रयास विवादमा परिणत हुन्छ।

नेपालको वर्तमान समस्या केवल कमजोर शासन वा असक्षम नेतृत्व होइन, भावनात्मक नागरिकता र अनियन्त्रित मिडिया प्रवृत्ति पनि हो। नागरिकहरु गाली र तालीमा भुलिरहेको देखिन्छ । कुनै दिन नेताको पूजा गर्छन्, अर्को दिन उसको निन्दा गर्छन्। यस्तो मानसिकताको कारण स्थायित्व असम्भव हुन्छ। त्यसैले आज नेपाललाई चाहिएको नागरिक त्यो हो जसले गाली र ताली दुबैलाई समान रूपमा लिन सक्छ, जसको विचार सत्यमा आधारित हुन्छ, र जसले राष्ट्रलाई परिवारजस्तो मानेर सुझाव र आलोचना दुबै जिम्मेवारीपूर्वक  ग्रहण गर्छ।

त्यसैगरी मिडिया स्वतन्त्रताको कुरा अहिले अत्यन्त महत्वपूर्ण छ। तर स्वतन्त्रता जिम्मेवारीबिनाको भए, त्यो स्वतन्त्रता होइन, अराजकता हो। नेपालमा अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालहरूमा अनाम घृणात्मक अभिव्यक्ति, फेक न्युज र गलत सूचनाले जनमानसमा अविश्वास र विभाजन फैलाइरहेको छ। यस्तो अवस्थालाई रोक्न, मिडियालाई नियन्त्रण होइन, उत्तरदायित्वको ढाँचा (framework of accountability) आवश्यक छ। स्वतन्त्र मिडिया आयोग गठन गरी प्रेस काउन्सिल, प्रसारण नियामक र अनलाइन नियामक निकायहरूलाई एकीकृत गर्नुपर्छ। सबै अनलाइन प्लेटफर्महरूले आफ्नो स्रोत, सम्पादक, र जिम्मेवार व्यक्तिको नाम खुलाउनुपर्छ। साथै, सामाजिक सञ्जाल कम्पनीहरूसँग नेपाल सरकारले सहकार्य गरी verified गुनासाहरू २४ घण्टाभित्र हटाउने प्रणाली लागू गर्नुपर्छ।

यसैबीच, वेनामी अभिव्यक्तिबाट उत्पन्न घृणा र हुलदङ्गा नियन्त्रण गर्न Cybercrime Law लाई अद्यावधिक गर्न आवश्यक छ। वेनामी आईडीबाट जातीय, धार्मिक वा राजनीतिक विद्वेष फैलाउने गतिविधि केवल कानुनी अपराध होइन, चेतनाको पतन पनि हो। त्यसैले दण्ड मात्र होइन, डिजिटल नैतिक शिक्षा र सार्वजनिक सचेतना अभियान पनि समानान्तर रूपमा अघि बढाउनुपर्छ। विद्यालयदेखि विश्वविद्यालयसम्म “Digital Ethics and Civic Responsibility” विषय अनिवार्य बनाउन सकिन्छ।

दार्शनिक कोलिन विल्सनले भनेका छन्, “Man’s problem is not evil; it is lack of consciousness.” उनको दृष्टिमा अपराध वा हिंसा जन्मजात पाप होइन, चेतनाको कमी हो। नेपालको वर्तमान मिडिया, राजनीति र सामाजिक अस्थिरता पनि यही चेतनाको अभावको लक्षण हो। त्यसैले समाधान दण्डमा होइन, आत्मबोध र विवेकको पुनर्जागरणमा छ। नर्वे वा स्वीडेनजस्ता देशहरूमा अपराधीलाई जेलमा मात्र थुन्ने होइन, rehabilitative education दिइन्छ, जसले चेतनाको स्तर उच्च बनाउँछ। त्यस्तै, नेपालमा पनि मिडिया र नागरिक दुवैका लागि सुधारमुखी नीति आवश्यक छ जसले त्रुटि सच्याउन र विवेक जागृत गर्न प्रोत्साहित गरोस्।

पश्चिमी देशहरूमा मिडिया स्वतन्त्रता र नागरिक उत्तरदायित्वबीच सन्तुलन छ। स्वीडेन, क्यानडा वा जापानमा समाचार स्वतन्त्र भए पनि तथ्य, प्रमाण र नैतिक मर्यादाको कडा मापदण्ड लागू हुन्छ। नेपालमा भने अभिव्यक्ति स्वतन्त्रताको नाममा अनियन्त्रित टिप्पणी र अपमानको संस्कृति बढ्दै गएको छ। त्यहाँ समस्या कानुनको होइन, चेतना र मूल्यबोधको कमी हो। विकसित राष्ट्रहरूमा सुधारको दिशा चेतनाको स्तर उच्च बनाउने नीति हो, नेपालमा भने अझै पनि दोषारोप र दण्डमुखी सोच हावी छ।

अब नेपालले दार्शनिक र व्यवहारिक दुवै तहमा सुधारको मार्गचित्र बनाउनुपर्छ। पहिलो, Digital Accountability Law लागू गर्नुपर्छ; दोस्रो, Ethical Journalism Education सुरु गर्नुपर्छ; तेस्रो, नागरिक स्तरमा National Consciousness Movement सञ्चालन गर्नुपर्छ; चौथो, अपराध र मिडिया दुवै क्षेत्रमा Restorative Justice Model अपनाउनुपर्छ; र पाँचौं, सार्वजनिक पदमा आसीन हुने सबैका लागि Leadership Integrity Test लागू गर्नुपर्छ। यी उपायहरूले चेतना, नीति र आचरणबीचको सन्तुलन स्थापित गर्न मद्दत पुर्‍याउनेछन्।

अन्ततः, नेपाललाई ब्रह्मा, विष्णु वा महेशको आगमनले होइन, विवेकशील चेतना र निडर नागरिक मनोवृत्तिले मात्र उद्धार गर्न सक्छ। नेतृत्व, मिडिया र जनता सबैले आत्मनिरीक्षण गर्नुपर्छ कि के हामी राष्ट्र निर्माणका सहभागी हौं वा विघटनका कारण? जब नेपालीले आफ्नो शब्द र कर्म दुबैमा विवेक ल्याउँछ, जब मिडिया स्वतन्त्र मात्र होइन, उत्तरदायी पनि बन्छ, तब मात्र नेपाल पुनः शान्त, सम्मानित र एकताबद्ध राज्य बन्न सक्छ।

नेपालको उद्धार कुनै देवत्वको चमत्कार होइन,

बरु मानव चेतनाको पुनर्जागरण हो।त्यो चेतना जसले सत्य बोल्न डराउँदैन,जसले गाली र ताली दुबैलाई समान भावले ग्रहण गर्छ,र जसले राष्ट्रलाई परिवारजस्तो मानेर विवेक र उत्तरदायित्वको बाटो रोज्छ। नेपाल त्यतिबेला मात्र साँचो अर्थमा “स्वतन्त्र” हुनेछ,जब मिडिया नैतिक, नागरिक निडर, र नेतृत्व विवेकशील हुनेछ। तिमल्सिना सर्वोच्च अदालतको पुर्व रजिस्ट्रार र समावेशी आयोगको पुर्व अध्यक्ष हुनुहुन्छ 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.