माघ ४, चौतारा । सिन्धुपाल्चोकको कुबिन्डेमा आयोजना गरिएको प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिकाले आफ्नो नाममा लेखाएको छ। आइतबार सम्पन्न फाइनल प्रतिस्पर्धामा मेलम्चीले जुगल गाउँपालिकालाई कडा टक्कर दिँदै २६–२४, २५–१२ र २५–२३ को सिधा सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।
उपाधि जितेसँगै मेलम्ची नगरपालिकाले नगद एक लाख रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। फाइनलमा पराजित भएर दोस्रो स्थानमा सीमित जुगल गाउँपालिकाले भने नगद ७५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ।
तेस्रो स्थानका लागि भएको खेलमा बलेफी गाउँपालिकाले हेलम्बु गाउँपालिकामाथि रोमाञ्चक जित दर्ता गर्दै तेस्रो स्थान सुरक्षित गर्यो। बलेफीले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना स्थानमा परेको हेलम्बु गाउँपालिकाले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
प्रतियोगिताका विजेता तथा सहभागी टोलीहरूलाई सिन्धुपाल्चोक क्षेत्र नं. १ का पूर्व सांसद माधव सापकोटा ‘सुबोध’ तथा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटालगायतले पुरस्कार वितरण गर्नुभएको थियो। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका मेलम्ची नगरपालिकाका जर्सी नम्बर ४ का खेलाडी आकाश तामाङ ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.