२० जेठ २०८३, बुधवार

दोस्रो मेयर कप करातेको उपाधि चौताराको हातमा


सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको आयोजनामा सम्पन्न दोस्रो संस्करणको मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिमले उत्कृष्ट प्रदर्शन गर्दै समग्र उपाधि जितेको छ। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा चौताराका खेलाडीहरूले सर्वाधिक स्वर्ण पदक जित्दै टिम च्याम्पियन बन्ने सफलता हासिल गरेका हुन्।

प्रतियोगितामा काठमाडौंको टोखा नगरपालिका वादोकाइ कराते टोली दोस्रो स्थानमा सीमित रहँदा काभ्रे तेस्रो स्थानमा रह्यो। विभिन्न जिल्लाबाट सहभागी खेलाडीहरूबीच भएको प्रतिस्पर्धाले कराते खेलप्रतिको आकर्षण र उत्साह बढ्दो क्रममा रहेको संकेत गरेको छ।

टिम फाइटतर्फ पुरुष विधामा टोखा नगरपालिका वादोकाइ करातेले पहिलो स्थान सुरक्षित गरेको थियो। यस्तै महिला टिम फाइटमा काभ्रेले उपाधि हात पार्दा चौतारा दोस्रो स्थानमा रह्यो। हेलम्बु र मेलम्चीले संयुक्त रूपमा तेस्रो स्थान प्राप्त गरेका थिए।

समग्र विजेता चौतारा टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो हुने टोखा नगरपालिका वादोकाइ करातेले ३० हजार रुपैयाँ नगद पुरस्कार हात पार्यो भने तेस्रो स्थानमा रहेको काभ्रेले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।

मेलम्चीमा आयोजित प्रतियोगितामा काभ्रे, मकवानपुर, काठमाडौं, बाह्रबिसे, मेलम्ची, चौतारा र हेलम्बु क्षेत्रका गरी २२९ जना खेलाडी सहभागी भएका थिए। विभिन्न तौल समूह तथा प्रतिस्पर्धात्मक विधाहरूमा भएको खेलले खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेको प्रतियोगिता संयोजक सानुबाबु गिरिले जानकारी दिनुभयो।

समापन समारोहमा बोल्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले खेलकुदले युवाहरूमा अनुशासन, आत्मबल र स्वस्थ जीवनशैली विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले मेयर कपजस्ता प्रतियोगिताले स्थानीय स्तरमा कराते खेलको विस्तार र नयाँ प्रतिभा खोजीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

नगरप्रमुख तामाङले आगामी वर्षहरूमा पनि यस्ता खेलकुद गतिविधिलाई निरन्तरता दिइने उल्लेख गर्दै प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न आवश्यक सहयोग र अवसर उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

प्रतियोगितामा सहभागी खेलाडी तथा प्रशिक्षकहरूले स्थानीय सरकारको सक्रियतामा सञ्चालन भएका यस्ता प्रतियोगिताले कराते खेलको विकाससँगै जिल्लाको खेल पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरेका छन्। प्रतियोगिताले खेलाडीहरूबीच आपसी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान दिएको संयोजक गिरिले बताउनुभयो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.