सिन्धुपाल्चोक । यहाँको इन्द्रावती गाउँपालिकामा उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकको पहलमा आयोजित उक्त कार्यक्रम गाउँपालिकाको कार्यपालिका बैठक हलमा गरिएको हो। कार्यक्रममा स्थानीय तह र सम्बन्धित कार्यालयबीच सहकार्य गर्दै अघि बढ्न सकिने योजना तथा कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरूका बारेमा विस्तृत छलफल र जानकारी आदान–प्रदान गरिएको थियो।
कार्यक्रममा कार्यालय प्रमुख त्रिपुरारी बख्रेलले उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित विभिन्न सेवाबारे जानकारी गराउँदै व्यवसाय दर्ता, सीपमूलक तालिम, प्रविधि हस्तान्तरण तथा बजार अनुगमनजस्ता गतिविधिहरू निरन्तर सञ्चालन भइरहेको बताउनुभयो। उहाँले कम्पनी तथा उद्योग दर्ताका लागि आवश्यक प्रक्रिया र कागजातबारे पनि स्पष्ट पार्दै हालसम्म विभिन्न स्थानीय तहमा सम्पन्न भएका कामहरूको विवरण प्रस्तुत गर्नुभयो। साथै, इन्द्रावती–१० मा चिउरा र टपरी उत्पादन गर्ने उद्योग निर्माण कार्य अघि बढिरहेको जानकारी समेत उहाँले दिनुभयो।
खाद्य स्वच्छता तथा गुण नियन्त्रण डिभिजन कार्यालयकी प्रमुख मनिषा चापागाईंले कार्यक्रममा खाद्य सुरक्षा सम्बन्धी प्रस्तुति राख्दै मानव उपभोगका वस्तु मात्र नभई पशुपन्छीका दानासम्म निगरानी गर्ने जिम्मेवारी आफ्नो कार्यालयको रहेको उल्लेख गर्नुभयो। उहाँले खाद्य पदार्थमा जैविक, रासायनिक तथा भौतिक जोखिम रहने भन्दै त्यसले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने बताउनुभयो। विश्व स्वास्थ्य संगठन (WHO) का तथ्यांक उद्धृत गर्दै उहाँले दूषित खानाका कारण वार्षिक करिब ६० करोड मानिस बिरामी पर्ने र तीमध्ये ठूलो हिस्सा झाडापखालाका कारण मृत्यु हुने गरेको जानकारी पनि दिनुभयो।
उहाँले विशेषगरी ग्रामीण भेगमा खाद्य सुरक्षासम्बन्धी चुनौती बढी देखिने भएकाले नियमित अनुगमनसँगै जनचेतना विस्तार अपरिहार्य भएकोमा जोड दिनुभयो।
“औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नारासहित सञ्चालन भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शोभाना तामाङले उपभोक्ता अधिकार संरक्षणका लागि बनेको अनुगमन समितिलाई सम्बन्धित निकायबाट थप सहयोग आवश्यक रहेको बताउँदै हालसम्म गरिएका अनुगमन अनुभवहरू पनि साझा गर्नुभयो।
त्यस्तै कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झमकनाथ नेपालले खाद्य सुरक्षा, बजार व्यवस्थापन र उपभोक्ता अधिकारबारे प्राप्त जानकारी महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता विषयलाई व्यवहारमा लागू गर्न सबै पक्षको सक्रियता आवश्यक हुने धारणा राख्नुभयो। उहाँले उपभोक्ता सचेतना अभावमा कानुनी व्यवस्था मात्र प्रभावकारी नहुने भएकाले गाउँस्तरसम्म पुग्ने गरी सचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
अन्त्यमा, कार्यालय प्रमुख बख्रेलले कार्यक्रम सफल बनाउन सहयोग पुर्याएकोमा इन्द्रावती गाउँपालिकाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा गाउँपालिका क्षेत्रका बजारहरूमा संयुक्त बजार अनुगमन गर्ने योजना रहेको जानकारी दिनुभयो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.