३० जेठ २०८३, शनिवार

इप्पानको नयाँ नेतृत्व चयन, विधान संशोधनमार्फत संस्थागत संरचनामा परिवर्तन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले मोहन डाँगीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। शनिबार सम्पन्न अधिवेशनले कोषाध्यक्ष पदबाहेक अधिकांश पदमा सर्वसम्मतिबाट नयाँ कार्यसमिति गठन गरेको हो।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी उत्तम ब्लोन लामाले पाएका छन्। उपाध्यक्ष पदमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक चयन भएका छन्। महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिव पदमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्वाचित भएका छन्।

अधिवेशनले पारित गरेको संशोधित विधानअनुसार उपाध्यक्षको संख्या पाँचबाट सात पुर्‍याउने व्यवस्था गरिएको छ। यसअनुसार बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई थप उपाध्यक्षका रूपमा समावेश गरिनेछ। त्यसैगरी सचिव पदको संख्या पनि पाँचबाट सात पुर्‍याउने निर्णय भएको छ, जसअन्तर्गत कृष्ण घिमिरे र दीपक पौडेललाई थपिने व्यवस्था गरिएको छ।

कोषाध्यक्ष पदमा शंकर बस्याल निर्वाचित भएका छन्। सदस्यहरूमा अनुप आचार्य, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कँडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने चयन भएका छन्।

संशोधित विधानले स्थायी आमन्त्रित सदस्यको अवधारणा पनि समेटेको छ। जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति प्राप्त भएपछि इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेललाई स्थायी आमन्त्रित सदस्यका रूपमा मनोनयन गरिने प्रस्ताव गरिएको छ।

निवर्तमान अध्यक्ष गणेश कार्कीका अनुसार संस्थाभित्र व्यापक सहभागिता सुनिश्चित गर्न तथा सहमतिका आधारमा नेतृत्व निर्माण गर्ने उद्देश्यले विधानमा आवश्यक संशोधन गरिएको हो। सहमतिअनुसार थप दुई उपाध्यक्ष, दुई सचिव र पाँच स्थायी आमन्त्रित सदस्य नियुक्त गर्न सकिने व्यवस्था राखिएको उनले बताए।

नयाँ विधानले इप्पानमा नेतृत्व चयन प्रक्रियालाई अझ प्रतिस्पर्धात्मक र लोकतान्त्रिक बनाउने लक्ष्य लिएको छ। यसअघि रहेको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाएर सबै पदमा निर्वाचनमार्फत चयन हुने प्रबन्ध गरिएको छ। यद्यपि अध्यक्ष पदमा उम्मेदवारी दिनका लागि कम्तीमा एक कार्यकाल कार्यसमितिमा बसेको हुनुपर्ने प्रावधान कायम राखिएको छ।

संशोधित व्यवस्थाअनुसार उपाध्यक्ष र सचिवको संख्या वृद्धि गरिएको छ भने पाँच जना स्थायी आमन्त्रित सदस्य राख्न सकिने प्रावधान पनि थपिएको छ। यो व्यवस्था जिल्ला प्रशासन कार्यालयबाट औपचारिक स्वीकृति प्राप्त भएपछि पूर्ण रूपमा लागू हुनेछ।

कार्कीले संस्थालाई अझ समावेशी, उत्तरदायी र लोकतान्त्रिक अभ्यासको उदाहरण बनाउने उद्देश्यले विधान संशोधन गरिएको बताए। साथै, अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार बन्न चाहने व्यक्तिले कुनै राजनीतिक दलसँग आबद्ध नरहेको हुनुपर्ने तथा विगतमा आबद्ध रहेको भए त्याग गरेको प्रमाण पेश गर्नुपर्ने प्रावधान पनि संशोधित विधानमा समावेश गरिएको छ।

सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.