सिन्धुपाल्चोक । यहाँको पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा शिक्षा, सामाजिक सेवा तथा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मान गर्दै वडास्तरीय विद्यालय वार्षिकोत्सव, पुरस्कार वितरण तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ।
वडा कार्यालय, पाँचपोखरी सामुदायिक सिकाइ केन्द्र र सेर्च्यु बरलो साना किसान कृषि सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा श्री भोताङ देवी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रम कार्यवाहक वडा अध्यक्ष सुनछिरिङ तामाङको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका अवसरमा शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने वडा अन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो। प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त विद्यार्थीहरूलाई सम्मानित गरिनुका साथै कक्षा १० का विद्यार्थीहरूलाई विशेष शुभकामना तथा सम्मान प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक सन्तोष अधिकारीका अनुसार कक्षा ८ र १० मा शतप्रतिशत नतिजा ल्याउन सफल शिक्षकहरू, उत्कृष्ट अध्यापन गर्ने शिक्षक तथा विद्यालय प्रमुखहरूलाई समेत सम्मान गरिएको थियो। शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्याएको मूल्याङ्कनका आधारमा प्रधानाध्यापक अधिकारी स्वयंलाई पनि सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो।
समारोहमा पूर्व वडा अध्यक्ष ङिमा छिरिङ तामाङ, निवर्तमान वडा सचिव अल्लारे वाइबा तथा लामो समय शिक्षा क्षेत्रमा योगदान दिएर अवकाश प्राप्त शिक्षकहरूलाई सम्मानसहित बिदाइ गरिएको थियो। स्थानीय स्वास्थ्य सेवाको सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मीहरूको टोलीलाई पनि कार्यक्रममा कदर गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको विशेष आकर्षण भोताङका सफल हिमाल आरोहीहरूको सम्मान रह्यो। विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी क्षेत्रको नाम उच्च बनाएका पेमा टासी तामाङ (३ पटक), लाक्पा तामाङ (३ पटक), ग्याल्वो तामाङ (५ पटक) तथा सिङ्गी तामाङ (२ पटक) लाई विशेष सम्मानसहित अभिनन्दन गरिएको थियो।
स्थानीय कला, संस्कृति र पहिचान झल्काउने विविध सांस्कृतिक प्रस्तुतिहरूले समारोहलाई थप उत्साहपूर्ण र आकर्षक बनाएका थिए। कार्यक्रममा शिक्षा, खेलकुद, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूको सम्मान गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिमार्फत समुदायमा सकारात्मक प्रेरणा फैलाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.