दीपा रेग्मी , काठमाडौं । सूचना प्रविधि शिक्षा तथा तालिम क्षेत्रमा सक्रिय लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता–सिजन ८’ को उपाधि क्लिन्टन स्कुलकी विद्यार्थी अङ्किता भट्टराईले हात पार्न सफल भएकी छन्।
काठमाडौंस्थित होटल हार्दिकमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा देशका विभिन्न विद्यालयबाट सहभागी भएका ३११ जना विद्यार्थीलाई पछि पार्दै भट्टराई प्रथम स्थान हासिल गर्न सफल भइन्। प्रतियोगितामा आइडियल मोडल स्कुलकी दिविशा शिल्पकार दोस्रो तथा अमृत सेकेन्डरी स्कुलका प्रतीक श्रेष्ठ तेस्रो स्थानमा रहे।
प्रतियोगिता चरणबद्ध रूपमा सञ्चालन गरिएको थियो। प्रारम्भिक छनोटबाट उत्कृष्ट २०, त्यसपछि उत्कृष्ट १० र अन्ततः उत्कृष्ट ३ प्रतिस्पर्धी छनोट गरी विजेताको घोषणा गरिएको थियो। उत्कृष्ट तीन विद्यार्थीलाई करिब एक लाख रुपैयाँ बराबरका ल्यापटप तथा अन्य आधुनिक प्रविधिसम्बन्धी सामग्रीसहित विशेष पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। साथै उत्कृष्ट २०, १० र ३ भित्र पर्न सफल सम्पूर्ण सहभागीलाई विशेष उपहार सामग्री प्रदान गरी सम्मान गरिएको थियो।
समारोहका प्रमुख अतिथि तथा का कार्यवाहक अध्यक्ष ले विजेता विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको सिर्जनशीलता र प्राविधिक दक्षताको प्रशंसा गरे। उनले यस्ता कार्यक्रमले डिजिटल नेपाल निर्माणको अभियानलाई बल पुर्याउने उल्लेख गर्दै युवा पुस्ताको सूचना प्रविधिप्रतिको आकर्षण र क्षमताले नेपालको आईटी क्षेत्रको भविष्य थप सम्भावनायुक्त रहेको बताए।
कार्यक्रमको अध्यक्षता गरेकी लाइफ कम्प्युटरकी प्रबन्ध निर्देशक ले प्रतियोगिता सफल बनाउन योगदान पुर्याउने विद्यार्थी, अभिभावक, शिक्षक तथा अतिथिप्रति आभार व्यक्त गरिन्। उनले प्रविधिमैत्री शिक्षा र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले विगत आठ वर्षदेखि प्रतियोगिता सञ्चालन हुँदै आएको बताउँदै आगामी दिनमा यसलाई अझ प्रभावकारी र व्यापक बनाइने जानकारी दिइन्।
त्यसै अवसरमा संस्थाका कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कनका आधारमा एक कर्मचारीलाई ‘बेस्ट स्टाफ अवार्ड’ प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति मार्फत कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
लामो समयदेखि सूचना प्रविधि शिक्षामा क्रियाशील लाइफ कम्प्युटरले काठमाडौंका बागबजार, कुमारीपाटी तथा सोह्रखुट्टे शाखामार्फत सफ्टवेयर डेभलपमेन्ट, वेब डिजाइन, UI/UX डिजाइन तथा ग्राफिक्स–मल्टिमिडियालगायतका विषयमा व्यावसायिक तालिम प्रदान गर्दै आएको छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.