सिन्धुपाल्चोक । यहाँको मेलम्ची नगरपालिकामा १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरिएको छ। “स्वस्थ र सक्रिय वृद्ध जीवनका लागि योग” भन्ने सन्देशलाई केन्द्रमा राख्दै मेलम्ची नगर योग समितिले आफ्नो दोस्रो स्थापना दिवससँगै योग दिवस मनाएको हो।
कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष विजयकुमार दुलालले गर्नुभएको थियो भने इन्द्रावती क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै गङ्गा नेपालले योगले मानव जीवनमा पार्ने सकारात्मक प्रभावबारे प्रकाश पार्नुभयो। उहाँले नियमित योग अभ्यासले शारीरिक तन्दुरुस्तीका साथै मानसिक सन्तुलन कायम राख्न मद्दत गर्ने बताउनुभयो।
प्रमुख अतिथि श्रेष्ठले आफ्नो मन्तव्यका क्रममा आधुनिक जीवनशैलीका कारण बढ्दै गएका स्वास्थ्य समस्याहरू न्यूनीकरण गर्न योग प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले हरेक व्यक्तिले दैनिक जीवनमा योगलाई समावेश गर्न सके स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो।
सो अवसरमा अध्यक्ष दुलालले संस्थाले एक वर्षको अवधिमा सञ्चालन गरेका गतिविधि तथा उपलब्धिहरू समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा पूर्व वडाध्यक्ष रुद्रप्रसाद दुलालसहित विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
योगप्रति रुचि राख्ने साधक, स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको आयोजकले जनाएको छ। योगको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।